आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले ‘मानवता प्रवर्द्धन अभियान’ सुरु गर्ने भएको छ।
यो अभियानका लागि नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।
यो सहकार्यअन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमहरु मार्फत् मानव सेवा आश्रमको अभियानका साथै मानवता प्रवर्धन गर्ने आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ।
यस अभियानअन्तर्गत नेपथ्यले यो वर्ष आफ्ना कार्यक्रमको मूल शीर्षक नै ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताको लागि संगीत राख्ने निर्णयसमेत गरेको छ।
हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले हाल सातै प्रदेशको १९ वटा जिल्लाहरुमा २३ वटा केन्द्र संचालन गरिरहेको छ। यी केन्द्रले ७७ वटै जिल्लामा आफ्ना सेवा प्रवाह गरिरहेका छन्।
नेपथ्यले बेसाहाराको आवाज बनिदिने मात्र नभइ कन्सर्टहरु मार्फत् अर्थ संकलनमा समेत हातेमालो गर्नेछ।
‘नेपाली समाजले जसरी नेपथ्यलाई मन परायो, त्यसरी नै नेपथ्यले पनि गीत संगीत मात्र नभई सामाजिक दायित्वलाईसमेत अभिभाराका रुपमा उठाउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ मुलुक घुम्दाका नमिठो अनुभव थप्दै भन्छन्, ‘द्वन्द्वकालताका र त्यसपश्चात पनि देश यात्रा गर्दा सडकमा भौंतारिएर हिँड्ने मानसिक सन्तुलन गुमाएकाको संख्या बढेको देख्थ्यौं। यिनीहरुको राज्यले उचित व्यवस्थापन गरिदिए हुने जस्तो लाग्थ्यो।’
‘यसै क्रममा एउटा संस्थाले उनीहरुको उद्धार गरेको सुन्दा मलाई मनमा सन्तोष लागेको थियो’, अमृत भन्छन्।
‘अहिले त्यसै संस्थासँग हातेमालो गर्ने जोग मिलेकोमा म खुशी छु,’ अमृतले थपे, ‘अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ।’
नेपथ्यसँगको सहकार्यले यो अवस्थामा अब उल्लेखनीय फड्को मार्ने संस्थाका संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले बताए।
Shares
प्रतिक्रिया