ad ad

कला


अमनप्रताप अधिकारी : फुटबल मैदानदेखि ‘द पोइट आइडल’ सम्म

भन्छन् : दुःख अझै चलिरहेछ, सुख आइपुगेकै छैन
अमनप्रताप अधिकारी : फुटबल मैदानदेखि ‘द पोइट आइडल’ सम्म

राधिका अधिकारी
पुस १४, २०७९ बिहिबार १८:६, काठमाडौँ

‘डन डाइरेक्टर’को छवि बनाएका अमनप्रताप अधिकारीले आफ्नो जीवनमा थुप्रै प्रयोग गरे। केही प्रयोग सफल भए, केही प्रयोगमै सीमित रहे। र, छोडिए जीवनका विभिन्न बिसौनीमा। उनलाई छुटेका सपनाले भन्दा औसत सफल यात्राको मोहले तानिरह्यो। 

जीवनका केही वसन्त राष्ट्रिय फुटबलमा बिताए। आज पनि उनी फुटबललाई औधि माया गर्छन्। एकदिन माया गरेको फुटबलको मैदान छाडेर हिँड्नु पर्यो। घुँडामा लागेको पटक पटकको चोटले जीवनको बाटो परिवर्तन गरिदियो।  

उनले त्यसपछि टेलिभिजन यात्रा सुरु गरे। सन् १९९८ मा नेपाल टेलिभिजनका लागि फिफा विश्वकपसम्बन्धी कार्यक्रम सञ्चालक खोजी भइरहेको थियो।

उक्त कार्यक्रमका लागि स्नातकोत्तर सकेको, अंग्रेजी भाषामा राम्रो दख्खल र खेल पनि राम्रोसँग बुझेको मान्छे चाहिएको थियो। अमन यो सबै कुरामा अब्बल थिए। त्यहीँबाट लिभिजन यात्रा सुरु भएको हो। 

त्यसपछि उनले थुप्रै काम गरे। फरक–फरक टेलिभिजन कार्यक्रम निर्माण, निर्देशन र प्रस्तुतिमा जीवनको करिब २५ वर्ष बिताए। हरेक काममा पिता क्षेत्रप्रताप अधिकारीले भनेको ‘कम्तिमा ५ जना कविको काठमाडौंमा आफ्नै घर होस्’ भन्ने वाक्य सम्झिरहे।

क्षेत्रप्रतापले थुप्रै लोकप्रिय गीत लेखेका छन्, जनप्रिय कविता कोरेका छन्। तर उनले जीविकोपार्जनका लागि देशका विभिन्न निकायमा जागिर गरिरहनुपर्‍यो।

पिताको यो दौडधुप हेर्दै हुर्किए अमनप्रताप। तर त्यतिबेला उनलाई थाहा थिएन आफ्ना पिताको दौडधुपको अर्थ। निक्कैपछि सोचे ‘यति व्यस्तता, जीवन गुजाराको तनावबीच पनि बुवाले कयौँ लोकप्रिय सिर्जना गर्नु भयो। उहाँले सम्पूर्ण समय लेखनमै दिन पाउनु भएको भए त्यो संख्या कति ठूलो बन्थ्यो होला?’ 

हरेक दिन नयाँपन खोजिरहने अमनलाई एकदिन शैलेश कँडेल र विकास पाण्डेले कविता रियालिटी शोसम्बन्धी अवधारणा सुनाए। त्यतिबेलै अमनको दिमागमा बुवाको तस्बिर क्लिक भयो। सोचे ‘कम्तिमा कविहरु पनि कविता लेखेर, वाचन गरेर बाँच्न सक्ने अवस्थाको सिर्जना गर्न यो कार्यक्रम सहयोगी बन्न सक्छ।’

एउटा शो मा सहभागी भएर ठूलो संख्यामा कविको बाँच्न सक्ने आधार बन्न सक्छ भन्ने उनलाई पटक्कै लागेको होइन। उनलाई त एउटा कार्यक्रमले एउटा कविलाई विश्वमाझका नेपालीसामु चिनायो र उसको जीवन कविता लेखेरै बाँच्न सक्ने बन्यो भने पनि ठूलो हो भन्ने लाग्यो। 

त्यसबेला उनी हिमालय टेलिभिजनमा थिए। उनले अवधारणा सुनाए। टेलिभिजनले पहिलो पटकमै पत्याएन। छलफलकै क्रममा उनले हिमालय टेलिभिजन छोडे।

एपीवान टेलिभिजनमा प्रवेश गरेपछि त्यही पुरानो योजनालाई नयाँ रुपरेखासँगै प्रस्तुत गर्ने प्रस्ताव अघि सारे। उनको प्रस्ताव स्वीकृत भयो। त्यही अवधारणा ‘द पोइट आइडल’का नामले आज (बिहीबार) रातिदेखि प्रसारण हुँदैछ। अमन उत्साहित छन्। अमनभन्दा उत्साहित छन् कवितालाई माया गर्नेहरु। 

अवधारणादेखि प्रसारणको स्टेजसम्म आइपुग्दा ‘द पोइट आइडल’ले ५ वर्षको समय पार गरेको छ। यो ५ वर्षे यात्राका आफ्नै सुख–दुःख छन् अमनसँग। भन्छन्, ‘दुःख अझै चलिरहेकै छ, सुख अझै आइपुगेको छैन।’ 

उनले २५ वर्षको यात्रामा ‘को बन्छ करोडपति’, ‘ऐना’, ‘रोडिज’ लगायत चर्चित कार्यक्रम निर्देशन गरे। यसअघि उनले गरेका कार्यक्रममा लगानी गर्न थुप्रैको दौडधुप हुन्थ्यो।

संख्यामा घटबढ भयो होला तर विज्ञापन एजेन्सीसँग सजिलै डिल गर्न सक्थे। तर कवितामाथि लगानी गर्न ऐजेन्सीहरु तयार थिएनन्। उनीहरु भन्थे ‘खर्च गर्ने र यसमा?’

फुटबलदेखि टेलिभिजनसम्म आफ्नै पहिचान बनाएका अमन जहाँ जाँदा पनि क्षेत्रप्रतापको छोरा भन्दै बेग्लै आत्मीयता पाउँथे। त्यो माया र आत्मीयता कविताप्रतिको हो भन्ने उनलाई थाहा थियो। त्यो आत्मीयताको न्यायोले पगालिरहन्थ्यो।

अमनलाई त्यो आत्मीयताको ऋण पनि त तिर्नु थियो। बुवाको सपनाको पनि सारथि बन्नु थियो। त्यसैले उनले रिस्क मोलेरै ‘द पोइट आइडल’ गर्ने निर्णय गरेका हुन्। 

‘द पोइट आइडल’ घोषणा हुँदै गर्दा केही विवाद पनि भए। विशेष गरेर ‘शो’को निर्णायक टिमका सदस्यलाई लिएर मानिसहरुले विवाद गरे। तर यो उनको सपनाको प्रोजेक्ट हो। उनले छानेका सबै निर्णायकलाई सोचेर छानेका हुन्। भन्छन्, ‘विवादरहित केही हुँदैन।’ 

‘मेरो यो प्रोजेक्ट मेरो बुवाको पनि सपना हो। त्यसैले निर्णायकमा उहाँको मर्म बुझ्ने मान्छे चाहिन्थ्यो। विप्लव प्रतिक मेरो बुवाको साथी। उहाँको ठाउँमा अरुपनि हुनसक्थे। तर मेरो बुवा र मेरो सपनाको स्वाद बराबरी थाहा पाएको मान्छे चाहिन्थ्यो', उनी भन्छन्, 'त्यसैले उहाँलाई छानेँ। कविता केवल वाचन मात्रै हुँदैन। कविताको शब्दसँगै पछाडि थोरै नाटक होस् र त्यो नाटकले त्यसलाई अझै बृहत बनाओस् भन्ने थियो। त्यसैले अभिनय बुझ्ने मान्छे चाहिन्थ्यो। यस्ता धेरै कुरालाई हेरेर निर्णायक छानिएको हो। कार्यक्रम प्रसारण भएपछि विरोध गर्नेहरुले ब्यर्थ गरिएछ भन्नु हुनेछ।’

कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ आजबाट प्रसारण हुँदैछ। यहाँ भित्र कवितामाथि विभिन्न प्रयोग हुनेछन्। एपीवान टेलिभिजनबाट प्रसारण हुने यो ‘शो’को अडिसनका लागि नेपालबाट १६२ जना छानिएका थिए। विदेशबाट अनलाइन अडिसन दिनेको संख्या ५० भन्दा बढी थियो।

डिजिटल अडिसनबाट छानिएका सहभागीमध्येबाट विभिन्न चरण पार गर्दै १४ जना कवि छानिने भएका छन्। शोमा सहभागी कविले कविता लेखन र वाचन गर्नेछन्।

कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ, प्रस्तुति जाँच्ने निर्णायकको साथै दर्शकले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउने छन्। अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘द पोइट आइडल’ बन्नेछ।

प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथै निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन्। कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन्। ‘द पोइट आइडल’को विजेता कविले १० लाख रूपैयाँ नगद पाउनेछन्।

साथै, यात्रा पब्लिसिङ हाउसका तर्फबाट विजेता कविको पाँच लाख बराबरको कवितासंग्रह प्रकाशन गरिने शो का निर्देशक अधिकारी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .