ad ad

कला


पोइट आइडलको मञ्चमा पिंकीले देखेको सपना

पोइट आइडलको मञ्चमा पिंकीले देखेको सपना

पोइट आइडलकी प्रतिस्पर्धी पिङ्की बोहरा। तस्बिर : विशाल कार्की/नेपालखबर


राधिका अधिकारी
चैत ६, २०७९ सोमबार ११:५१, काठमाडौँ

कञ्चनपुरकी पिङ्की बोहराले डेढ दशक लामो समयसम्म आफ्नै छातीभित्र कविताको भंगालो लुकाइरहिन्। स्कुल र कलेजका रफ कापीका पछिल्ला पानामा कविताको रङ पोखिरिहन्, तर कुनै मञ्चमा उभिएर आफ्ना भावना पोख्ने हिम्मत उनमा आएन।

स्कूले जीवनदेखि कविताको सम्मोहनमा घुलिएकी उनले स्नाकोत्तर सक्दासम्म आफ्नो कवि चेतना बाहिर ल्याउन सकिनन्।

एकातिर समाज कविता लेख्नुलाई अनुत्पादन ठान्थ्यो, अर्कोतर्फ परिवार छोरीले राम्रो पढोस्, सरकारी जागिर खाओस् र आत्मसम्मानका साथ बाचोस् भन्ने चाहना बाआमाको थियो। त्यसैले उनले आफूभित्रको कवि मन आफूभित्रै दबाएर राखिन्। 

तर कलाकारिता लुकाएर कहिलेसम्म लुक्छ र? जब कोभिड-१९ ले विश्वलाई कोठाभित्र बन्द गर्‍यो, पिङ्कीको भित्री मनमा सधैँ बन्द भएर बसेका कविता बाहिर निस्केर बोल्न थाले। 

विश्व महामारीका रुपमा फैलिएको कोरोना नेपालमा पनि फैलिएपछि देश लकडाउनमा गयो। पिंकी पनि यो समय फुर्सदिली भइन्। साथीभाइ भेट्न पाइनन्। बाहिर निस्कन पाइनन्। बाहिरी संसार ठप्प रहेका बेला पिंकीले आफूभित्रको यात्रा गरिन्। हिम्मत गरेर आफ्नै कविता वाचन गरेर भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गर्न थालिन्।

उनले नसोचेको प्रतिकृया पाइन्। वर्षौ सँगै हिँडेका साथीले प्रश्न गरे, ‘यो कवि मन यतिका समय कसरी आफूभित्रै लुकाएर बसिस्? आफूभित्रै आफैलाई लुकाएर बस्न गाह्रो भएन?' कविता पढेका साथीहरूले कविले जसैगरी प्रश्न गरे,  उनी आनन्दविभोर भइन्। त्यसपछि सुरु भयो पिंकीको कविता यात्रा।

पिंकीले कविताको यात्रा थाल्नु र अमनप्रताप अधिकारीले ‘द पोइट आइडल’ सुरु गर्नु उनको जीवनमा मिठो संयोज बनिदियो। पिंकीले ‘द पोइट आइडल’को डिजिटल अडिसनको मिति गुज्रने समयमा आफ्नो कविता पठाइन्। सामाजिक सञ्जालमा ‘द पोइट आइडल’को चर्चा चलिरहदा पिंकीलाई उनका साथी र आफन्तले भने, ‘तिमी राम्रो लेख्छौँ, यो शो तिम्रा लागि पनि हो।’

साथीभाइको सल्लाहले उनले कविता पठाइन्। तर उनको मनको कुनै कुनामा ‘द पोइट आइडल’को मञ्चमा पुग्छु, फिजिकल अडिसनका लागि छानिन्छु भन्ने थिएन। तर छनोट भइन्। भन्छिन्, 'फिजिकल अडिसनका फोन आएको दिन मलाई आफू दुनियाँकै भाग्यमानी लागेको थियो।'

पिंकीले ‘द पोइट आइडल’मा उत्कृष्ट १० सम्मको यात्रा तय गरिन्। उत्कृष्ट १४ बाटै भोटिङ राउण्ड सुरु भयो। उनी २ पटक ‘बटम टु’मा परिन्। यही समय जसले उनलाई देशभर कविका रूपमा चर्चित बनायो र यही समय हो पिंकीले राम्रोसँग आफ्नै मुटुको गति महसुस गरेको पनि।

अफसोस्! गत फागुन ११ गतेको १७ औँ एपिसोडबाट पिंकीको यात्रामा बिराम लाग्यो। यात्राबाट बाहिरिनुको भन्दा आइडल परिवार छोडेर हिड्नुको उनको मुटु चर्चरायो। आइडलले भेटाएका परिवारबाट विछोडिएकी पिंकी आफ्नो परिवार भेट्न कञ्चनपुर पुगिन्। आइडलबाट बाहिरिएपछि आफूले गरेको महसुस स्मरण गर्दै उनी भन्छिन्, ‘कविताको बाटो त मैले समातिसकेँ। ढिलो चाँडो कतै पुग्ने नै छु, तर यहाँ छुटेका परिवारका हामी कहाँ कहाँ छरिन्छौँ होला? छुट्छौँ कि भनेर पीडा भयो।’

केही समय घर बसेर पिंकी काठमाडौं फर्किन्। स्नाकोत्तरसम्मको अध्ययन सकेकी पिंकी पछिल्लो सयम काठमाडौंमै बस्दै आएकी छिन्। 

‘द पोइट आइडल’को उपाधि दौडबाट बाहिरिएकी पिंकी ‘वाइल्ड कार्ड’ मार्फत आफू पुन: आइडलको यात्रामा प्रवेश गर्नेमा विश्वस्त थिइन्, अन्तत:  उनले गत साताबाट यो यात्रा तय पनि गरेकी छिन्।

उनलाई थाहा छैन यो यात्रा पनि कहाँसम्म पुग्छ? तर यात्राले जहाँ पुर्‍याए पनि कवितालाई कहीँ नछोड्ने पिंकीको अठोट छ। भन्छिन्, ‘हिजो आफैँले आफूलाई चिनेको थिइनँ। आज आइडलको मञ्चले दुनियाँमा कवि भनेर चिनाइदियो। जीवनको यो सुन्दरता बिर्सने र कवितालाई छोडेर हिँड्ने छुट अबमलाई छैन।’

यात्राको मजा लिँदालिँदै यात्राबाट बाहिरिएकी पिंकीलाई अबको यात्राको पनि भरपुर मजा लिनु छ। भन्छिन्, ‘यो यात्राले कहाँसम्म पुर्‍याउँछ भन्ने त थाहा छैन, तर जहाँसम्म पुगिनेछ यादका संग्राहलयमा अविस्मरणीय भएर बस्नेछ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .