यही जेठ ४ गते राजधानीमा सम्पन्न ‘मिस हेरिटेज ग्लोबल नेपाल २०२३’ को उपाधि जितेकी चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले आगामी सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।
उक्त प्रतियोगीताका लागि मुना सेप्टेम्बर ७ मा दक्षिण अफ्रिका पुग्नेछिन्। प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा मुनाले नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन्। साथै उनले विश्वका ५५ देशका सुन्दरीको सहभागिता रहने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन्।
मिस हेरिटेज ग्लोबल नेपालका नेसनल डाइरेक्टर उद्धव अधिकारीले संसारभरका सुन्दरीले स्पर्धा गर्ने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा मुनाले नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु मुलुककै लागि गौरवको विषय भएको बताए।
‘नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पुर्याउने छिन् भन्ने हामीले विश्वास लिएका छौँ, यो प्रतियोगिताले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा हामीले राखेका छौँ। मिस हेरिटेज ग्लोबल नेपालका तर्फबाट मुनालाई उनको आगामी यात्रामा सर्वथा सफलताका लागि शुभकामना दिन चाहन्छु’, अधिकारीले भने।
भारतको बेंग्लोरबाट उच्च शिक्षा हासिल गरेकी मुनाले त्यहाँको राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन्। मोडलिङमा समेत सफल उनले ख्यातिप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा आफूलाई दरिलो रुपमा उभ्याउन विभिन्न खालका तालिम लिइरहेकी छन्।
मिस हेरिटेज ग्लोबल नेपाल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाइज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदा संरक्षणमा सहयोग पुर्याउनाका साथै युवतीहरुलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शनका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तीकरणमा योगदान पुर्यायाउने लक्ष्य राखेको छ।
मिस हेरिटेज ग्लोबल नेपालले विभिन्न कार्यक्रममार्फत सांस्कृतिक संरक्षण, सामाजिक उत्तरदायित्व र महिला सशक्तीकरणमा मद्दत पुर्याइरहेको छ।
प्रतिक्रिया