कला


यी सदाबहार गीत, जुन हरेक तिहारमा धेरै गुञ्जिन्छन्


लक्ष्मी बलायर
कात्तिक २५ , काठमाडौँ

नाचगान र झिलिमिली बत्तीको पर्व तिहार नजिकिएसँगै हरेक वर्ष नयाँ गीतहरू निस्किन्छन्। तिहारलाई लक्ष्य गर्दै निकालिएका ती गीतमध्ये थोरै मात्रै अडियन्सको मनमा बस्छन् भने धेरैजसो केही दिनमै हराएर जान्छन्।

जब तिहार आउँछ तब पुरानै सदाबहार गीतहरु घर घरमा घन्किने गर्छन्। ती गीतहरु वर्षौंअघि रिलिज भएका फिल्ममा समावेश थिए। ती गीत सुन्दा दर्शकले पनि भन्छन्, ‘बल्ल तिहार आए जस्तो भयो’ ।

यस पटकको तिहार पनि हाम्रो घर आँगनमा आइसकेको छ। तिहारको संघारमा तिनै सदाबहार गीतहरूबारे चर्चा गर्दैछौँ।

+++++

हरेक तिहारका बेला सर्वाधिक गुञ्जिने गीत हो : तिहारै आयो लौ झिलिमिली…। ५० को दशकको चलचित्र ‘स्वर्ग’ मा समावेश यो गीत नेपालका गाउँदेखि सहरसम्म उत्तिकै बज्ने गरेको छ।

शम्भु प्रधान निर्देशित चलचित्र ‘स्वर्ग’ २०५० सालमा रिलिज भएको थियो। यादव खरेलको शब्द रहेको यस गीतमा लोचन भट्टराई र नूतन प्रधानले स्वर दिएका थिए। शम्भुजीत बाँस्कोटाले संगीत भरेका छन्। गीतको भिडिओमा चर्चित कलाकारद्वय गौरी मल्ल र शिव श्रेष्ठलाई देख्न सकिन्छ।

तिहारको सांस्कृतिक पक्षदेखि ५० को दशकको देउसी-भैलोको माहोललाई यस गीतले समेटेको छ। त्यसैले प्रविधिको विकास नभइसकेको जमानामा सार्वजनिक यो गीत टिकटक र युट्युबले बजार पिटेको अहिलेको समयमा पनि उत्तिकै ताजा लाग्छ।

‌+++++

तिहार आएसँगै धेरै गुञ्जिने अर्को गीत हो : निधारमा लर्काएर सप्तरंगी टीका। यो गीत राजेन्द्र शलभ निर्देशित चलचित्र ‘विजय पराजय’को हो।

दिनेश अधिकारीको शब्द रहेको गीतमा भारतीय गायिका हेम लताले स्वर दिएकी छन्। २०४६ सालमा लेखिएको यस गीत चलचित्रमा समावेश पहिलो भाइटीकासम्बन्धी गीत पनि हो।क

शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमार्फत दिदीबहिनीले आफ्ना दाजुभाइप्रतिको स्नेह प्रस्तुत गर्छन्। ३४ वर्षदेखि निरन्तर गुञ्जिरहेको यो गीत अहिले टिकटकमा चर्चित छ।

+++++

‘दियो बाली साँझको, फूल सजाई पूजाको’ पनि हरेक वर्ष तिहारमा नेपालीजनले गुन्गुनाउने गीत हो। तुलसी घिमिरे निर्देशित फिल्म ‘चिनो’ मा समावेश यस गीतमा चर्चित भारतीय गायिका आशा भोष्लेको स्वर छ। कुसुम गजमेरले कोरेका शब्दमा रञ्जित गजमेरले संगीत भरेर मिठास दिएका छन्। लक्ष्मीपूजाको माहोललाई समेटेको यो गीत अहिले पनि त्यस साँझ घरघरमा घन्किन्छ।

+++++

फिल्म ‘अन्याय’ को ‘अधरमा आज उनकै छ गीत…’ तिहारका बेला गुञ्जिने सदाबहार गीत हो। मनिला सोताङले स्वर दिएको गीतमा रञ्जित गजमेरले संगीत भरेका छन्।

यस गीतको शब्द रत्न शमशेर थापाले लेखेका हुन्। देउसीभैलो खेलेको पृष्ठभूमिमा तयार पारिएको यो गीत नयाँ पुस्ताका दर्शकको मनमा पनि बस्न सफल छ।

+++++

‘हाँसेर बोल बहिनी, तिहारको बेलैमा…’ पनि नेपालीजनले निकै मन पराएको गीत हो। दाजुभाइ र दिदीबहिनीबीचको माया सम्झाउने यो गीत चलचित्र ‘माइती’को हो। लक्ष्मणको संगीत रहेको गीतमा उदित नारायण झा, दीपा झा र आनन्द कार्की लगायतले स्वर दिएका छन्। गीतको भिडिओमा श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह फिचर्ड छन्।

+++++

तुलसी घिमिरेकै फिल्म ‘लहना’ मा समावेश ‘नौरथाको दियो बालि’ पनि चर्चित गीत हो। दसैँ र तिहारको सेरोफेरोमा बनाइएको यो गीत अहिले टिकटकमा निकै हिट छ।

तुलसीकै शब्द रहेको गीतमा थुप्देन भुटिया र दीपा झाको स्वर छ। सचिन सिंहको संगीत रहेको यस गीतमा लाखौं टिकटक बनिसकेका छन्। गीतमा उत्तम प्रधान, निरुता सिंह र दिलिप रायमाझी फिचर्ड छन्।

कात्तिक २५, २०८० शनिबार १०:३४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .