कला


‘ऐला लुवया’बाट निशाको ‘कमब्याक’, भन्छिन्– नेवारी गीतमा लगानी भएन, गाएरै बाँच्न गाह्रो छ

‘ऐला लुवया’बाट निशाको ‘कमब्याक’, भन्छिन्– नेवारी गीतमा लगानी भएन, गाएरै बाँच्न गाह्रो छ

गीत भाइरल भएपछि देशार भन्छिन्– नेवारी गीत–संगीतमा इँट थपेँ (तस्बिर : सरोज बैजु)


लक्ष्मी बलायर
मंसिर १८, २०८० सोमबार १८:५२, काठमाडौँ

झिम्ह न्यिम्ह दसाँन जित छु
झिम्ह न्यिम्ह दसाँन जित छु 

जि थेँ जापिँ मैपिँ सुं दैमखु 
ऐला लुवया 
धे धे चुल जिँ ऐला लुवया मन खुवया

माथि प्रस्तुत नेपाल भाषाको गीत केही महिनायता चर्चामा छ। दसैँताका सार्वजनिक भएको ‘ऐला लुवया’ हिट भएसँगै गायिका निशा देशार पनि चर्चामा छिन्।

हुन त देशार नेपाली गीत-संगीतमा नौलो नाम होइन। कुनै बेला निशाले ‘जमाना खराब छ’, ‘तिम्रो मेरो सम्बन्धको’ लगायत गजल गाएर बजार पिटेकी थिइन्।

तिनै देशार अहिले ‘ऐला लुवया’ बाट पुन: दर्शक-श्रोतामाझ छाएकी छन्।

भनिन्छ- संगीतको कुनै भाषा हुँदैन। जुन भनाइ निशाले गाएको ‘ऐला लुवया’का हकमा ठ्याक्कै मिल्छ।

भिडिओ :

नसोचिएको चर्चा
रोजमान महर्जनको शब्द, संगीत र रचना रहेको ‘ऐला लुवया’ गीतले के भन्छ? पक्कै पनि नेपाल भाषा नजान्ने धेरैले बुझ्दैनन्। तर, यस गीतको धुनले गैरनेवारलाई पनि तानिरहेको छ। त्यसैले उनीहरूले भनिरहेका छन्- भाषा नबुझे पनि गीत मिठो बनेको छ।

टिकटकमा भाइरल यस गीतलाई युट्युबमा पनि ३६ लाखभन्दा बढी भ्युज प्राप्त भइसकेको छ। 

नेवारी गीत भए पनि सबै खालका दर्शकबाट पाएका प्रतिक्रियाले दंग छिन्- निशा। संगीत क्षेत्रमा निरन्तर रहे पनि ‘ऐला लुवया’ले भने आफूलाई पुन: चर्चाको शिखरमा पुर्‍याएको उनको भनाइ छ। 

‘हुन त म संगीत क्षेत्रमा निरन्तर कर्म गरिरहेको छु। तर, भाइरलको जमानामा यस गीतलाई कमब्याकका रूपमा लिन सकिन्छ। यस गीतले पुन: चर्चामा ल्यायो भन्न मिल्छ’, उनले भनिन्।

सुरुमा यो गीत यति सफल होला भन्ने उनलाई लागेको थिएन। नेवारी भाषाको गीत भएकाले सीमित दर्शकले मात्र हेर्लान् भन्ने उनले सोचेकी थिइन्। टिकटकमा गीतका टुक्रा राखेपछि भने गीत भाइरल भइदियो।

‘यस गीतलाई दर्शक-श्रोताले यतिसम्म मन पराउनुहुन्छ भन्ने सोचेकै थिइनँ,’  निशा भन्छिन्, ‘नेवारी भाषा अलिअलि चल्ला, त्यही तीन/चार लाखसम्म भ्युज आउला, सोचेकी थिएँ। तर, टिकटकमा भाइरल भएपछि भ्युज त ह्वातै बढ्यो। भाषा नबुझे पनि धेरै जनाले गीत राम्रो छ भनेर प्रतिक्रिया दिनुभयो। सबैले चासो राखेको देख्दा नबुझ्दा त यस्तो छ, बुझेको भए के हुन्थ्यो होला, लागिरहेको छ।’

एक वर्षअघि रोजमान महर्जनले ‘सालुगु गाचा’ गीत ल्याएका थिए। नेपाल भाषाको वर्षौं पुरानो धुनमा बनाइएको त्यो गीत पनि निकै चल्यो। सालुगु गाचाकै मेलोडीमा बनेको ‘हेर माया मैचा’ गीत देशारले गाउने अवसर पाएकी थिइन्। त्यसलाई पनि दर्शकले उत्तिकै रुचाए। 

यसै वर्षको सुरुवाततिर एक दिन रोजमानले निशालाई गीत गाउन अफर गरे। र, गीतको डमी सुनाए। निशालाई गीतको लयले निकै तान्यो। ‘रोजमानजीले डमी सुनाएपछि ओ हो! कस्तो राम्रो भन्ने लागिहाल्यो। गीतको लय क्याची लागेर मैले ओके गरेँ।’

नेवारी गीत गाइरहेकी निशालाई ‘ऐला लुवया’  गाउन खासै तयारी गर्नु परेन। केटातर्फ रोजमानले स्वर भरिसकेका थिए। बाँकी केटीको तर्फबाट निशाले स्वर दिइन्। गीत रेकर्ड भएको चार-पाँच महिनापछि मात्रै भिडिओ बनाइयो।

कुटुपुखु भजन खस्लसँगको सहकार्यमा ललितपुरका खोकना र यल दरबारमा भिडिओ सुट गरिएको छ। 

के छ गीतमा?
देशारका अनुसार, ‘ऐला लुवया’ लोकलयमा आधारित गीत हो। बिहेभोजको माहोलको पृष्ठभूमिमा तयार गीतमा केटा र केटीबीचको रमाइलो दोहोरी छ।

सुरुवातमा केटाले जिस्क्याउँदै भन्छ- रक्सी खन्याउन आउँदा, तिमीले हेर्दा झ्याप भएँ म।

जवाफमा केटी भन्छिन्- भोज खान आउँदा टिल्ल पिएर मलाई खाउँलाझैँ हेर्‍यौ।

केटाकेटीबीच यस्तैयस्तै संवादले गीतलाई रमाइलो बनाएको छ।

यो गीत अन्य नेवारी गीतभन्दा फरक छ। गीत फास्ट बिटमा छ, मेलोडी पनि भिन्न छ। जसकारण दर्शक-श्रोताले गीतलाई मन पराएको निशाको बुझाइ छ।

यस गीतमा नेवा: समुदायमा बोलिने मौलिक शब्द छन्। साथै सबैखाले नेपाली बाजा प्रयोग गरिएका छन्। जुन यसको अर्को विशिष्टता हो। ‘शब्द, संगीतसहित गीतको भिडिओ क्वालिटी पनि राम्रो भएकाले धेरैले मन पराएको हुनुपर्छ’, निशाले भनिन्। 

निशा गीत हिट हुनुको श्रेय संगीतलाई दिन्छिन्। भन्छिन्,‘संगीत राम्रो हुँदा भाषा पनि चाहिँदैन। गीत चल्न मेलोडी राम्रो हुनुपर्दोरहेछ। रोजमानजीले यति राम्रो भाका ल्याएर शब्दहरू मिलाउनुभएको छ। यस गीतले नेवारी गीत-संगीतमा नै इँट थप्ने काम गरेको छ।’

आएन अफर
नेपाली कलाकारका लागि गीत चल्नु भनेको सांगीतिक प्रस्तुतिका लागि विभिन्न मञ्चमा आमन्त्रणको चाप बढ्नु पनि हो। उनीहरूको खास आम्दानीको आधार यस्तै सांगीतिक प्रस्तुति हुन्।

तर निशाका हकमा यो गीत अपवाद भइदियो।

गीत चले पनि आफूलाई खासै अफर नआएको गुनासो छ निशाको। नेवारी गीत-संगीतमा लगानी नहुँदा यस भाषाको गीत गाएर बाँच्न गाह्रो भएको उनको भनाइ छ।

सांस्कृतिक सम्पदा र लोकसंगीतमा धनी भए पनि नेवार समुदायले गीत-संगीतमा लगानी गर्न कन्जुस्याइँ गरेको उनको बुझाइ छ।

‘हामी नेवार समुदाय सांस्कृतिक रूपले निकै धनी छौँ। लोकगीतमा पनि उत्तिकै सम्पन्न छौँ,’ उनी भन्छिन्, ‘चरिया नै कति किसिमका छन्। तर, हाम्रो समुदायले भोजभतेरमा खर्च गर्न केही मान्दैन, गीतमा लगानी गर्दैन।’

‘यत्तिको अरूले हिट गीत दिएको भए विदेशको कन्सर्टको अफर आइसक्थ्यो,’ निशा अगाडि थप्छिन्, ‘नेवार पनि त विदेशमा हुनुहुन्छ। तर, अहिलेसम्म कसैले बोलाउनुभएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .