महेश त्रिपाठी र सृष्टी श्रेष्ठको मुख्य भूमिकामा फिल्म ‘११ः५५’ बन्ने भएको छ। केशव पाण्डेको कथा र निर्देशनमा बन्ने फिल्मको बिहीबार निर्माण घोषणा गरिएको हो।
क्राइम थ्रिलर जनरामा बन्ने फिल्ममा महेश र सृष्टीका साथै सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ। निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको छ।
चलचित्र ‘११ः५५’ मा ६ जनाको कथा देखाइनेछ। आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति फिल्मले समेटनेछ। ३५ दिनको सेड्युल रहेको फिल्मको छायांकन आगामी शनिबारबाट सुरु हुनेछ। फिल्मलाई प्रद्युमन मिश्रले खिच्नेछन्।
विचित्र फिल्म्सको निर्माण र गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन्।
विगत एक दशकदेखि चलचित्रलाई नजिकबाट हेरेर राम्रो दर्शक बनेका निर्देशक पाण्डेले बताए।
‘म राम्रो दर्शक हुँ। विगत एक दशकदेखिको चलचित्र सम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ। यो चलचित्रमा कथा नै स्टार हो। यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन्।’
अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए।
‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो। नयाँ टिम देखिएता पनि चलचित्र प्रतिको अध्यन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु।’
अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन।
‘मैले कथा पढेपछि अगाडि के होला? भनेर जिज्ञासु बन्थे। यो चलचित्रमार्फत हामी पात्रको रुपमा चिनिने छौं। यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र बन्ने छ, भन्नेमा विश्वस्त छु’, श्रेष्ठले भनिन्।
Shares
प्रतिक्रिया