कला


यस्तो देखियो खुलामञ्चमा ‘महाजात्रा’को सुटिङ

‘जात्रा’ र ‘जात्रै जात्रा’भन्दा के फरक छ यो फिल्म?
यस्तो देखियो खुलामञ्चमा ‘महाजात्रा’को सुटिङ

तस्बिर : सरोज बैजु


लक्ष्मी बलायर
पुस ४, २०८० बुधबार १९:३२, काठमाडौँ

कुनै बेला नेताहरुले भाषण गर्ने मुख्य थलो थियो: खुलामञ्च। जहाँबाट गणतन्त्र नेपालका कैयौँ प्रभावशाली नेताहरु जन्मिए। खुलामञ्चमा नेताहरुले भाषण गर्दा बाक्लै भीड जम्मा हुन्थ्यो। तर, बसपार्क बनेपछि राजनीतिक परिवर्तनको साक्षी बनेको खुलामञ्च चकमन्न हुन पुग्यो।

तर, मंगलबार खुलामञ्चमा पुग्दा पुरानै माहोल देख्न पाइयो। खुलामञ्चभित्र चुनावी माहोल समेटेको एक भव्य स्टेज। बृहत् आमसभाको मञ्चमा पुगेका थिए हरिवंश आचार्य। सेतो कोटमा चिटिक्क देखिएका उनी जनतालाई सम्बोधन गर्दैथिए। र, हरिवंशलाई एक्सन कट गरिरहेका थिए निर्देशक प्रदीप भट्टराई। यो दृश्य हो फिल्म ‘महाजात्रा’ को सुटिङको। यो दृश्य फिल्मको क्याइमेक्स रहेछ।

अब लागौँ खुलामञ्चकै अर्कोपट्टिको सेटमा। जुन दृश्य निकै रमाइलो थियो। यहाँ ‘महाजात्रा’मा समावेश गीतको सुटिङ भइरहेको थियो। पृष्ठभूमिमा ‘नौमती बाजाले’ बोलको गीत घन्किरहेको थियो। सेटमा अतिथि कलाकार अरुण क्षेत्री र आश्मा विश्वकर्मा छमछमी नाचिरहेका देखिन्थे। जुन सिन खिचिरहेका थिए पुरुषोत्तम प्रधानले।

त्यस्तै, सो गीतमा मुख्य कलाकार विपिन कार्की र वर्षा राउतको पनि नृत्य रहेछ। जसकारण दुवैजना तयार हुन व्यस्त देखिन्थे। कोरियोग्राफर कविराज गहतराजलाई पनि भ्याइन्भ्याइ थियो। अब नाच्ने पालो विपिन र वर्षाको। दुवै सेटमा एकसाथ देखिए। जात्राको सिक्वेल भएकाले फणिन्द्र र सम्पदाको लुक आइहाल्यो। दुवैले सँगसँगै कम्मर मर्काए। साथै रवीन्द्र सिंह बाँनिया, रवीन्द्र झा लगायतका कलाकार पनि काममै व्यस्त देखिन्थे।

‘महाजात्रा’ को सुटिङ अन्तिम संघारमा छ। जसकारण सोमबार र मंगलबार खुलामञ्चमा फिल्मको एक गीतसहित क्लाइमेक्सको सुटिङ गरिएको थियो। बुधबार ४४ औँ दिनमा छायाङ्कन सक्ने निर्माण टिमको योजना छ।

‘महाजात्रा’ हिट शृंखला ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछिको तेस्रो फिल्म हो। सन् २०१६ मा रिलिज भएको जात्रा समीक्षात्मक र व्यावसायिक हिसाबले सफल फिल्म हो। प्रदीप भट्टराईको कथालाई धेरैले मन पराएका थिए। यस फिल्मबाट राम्रो प्रतिक्रिया पाएसँगै प्रदीप सिक्वेल ‘जात्रै जात्रा’ बनाउन हौसिए। सन् २०१९ मा रिलिज भएको यस फिल्मले मिश्रित समीक्षा पाए पनि राम्रो कमाइ गरेको थियो। त्यसकै चार वर्षपछि प्रदीप भट्टराईले ‘महाजात्रा’ बनाएका हुन्।

सुटिङ सेटमा भेटिएका निर्माता म्याक्स दिपेश खत्रीले फिल्मको सुटिङबारे बेलिविस्तार लगाए। कात्तिक १५ गतेब मह स्टुडिओबाट ‘महाजात्रा’ को छायाङ्कन सुरु भएको थियो। इन्डोर सुटिङ सात दिनसम्म चलेको थियो। त्यसपछि काठमाडौंका विभिन्न स्थानमा सुटिङ गरिएको थियो। केही दिनअघि मुन्ना (रविन्द्र झा) पात्रको गाउँको परिवेश देखाउन चितवनमा समेत सुट गरिएको थियो। अन्तिम सुटिङ भने खुलामञ्चमै सकिन लागेको उनले बताए।

‘काठमाडौँसहित चितवनमा महाजात्राको सुटिङ गरिएको हो। धेरैजसो फिल्मका दृश्य काठमाडौंमै खिचिएको छ। यसपालि धेरैजसो बाटोमा सुटिङ गरिएको छ। फिल्म नै भागदौडको भएकाले रोडमा नै बढी खिच्यौँ। फाइनल दृश्यहरु यहाँ खिचेका हौँ,’ उनले भने।

षट्कोण आर्ट्सको निर्माणमा बनिरहेको यस फिल्ममा पुरानोसहित नयाँ कलाकारहरु पनि थपिएका छन्। जसमा हरिवंश आचार्यदेखि शिशिर वाङ्देल, प्रकाश घिमिरे लगायतका छन्।

षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘टलकजंग भर्सेस टुल्के’, ‘महापुरुष’ र ‘डाकिनी’ बनाइसकेको छ। जसमध्ये तीन फिल्ममा प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको छ। तर, महाजात्रामार्फत आफूहरु एउटै टिम भएको निर्माता खत्रीले बताए। १० वर्षदेखिको सहकार्यले यो बलियो बन्ने विश्वास छ उनको।

उनी भन्छन्, ‘महापुरुष बनाउँदा पनि हामीले नयाँ कलाकार लिएर चुनौती लिएका थियौँ। महाजात्रा बनाउँदा जात्रा र जात्रै जात्राभन्दा राम्रो र परिपक्क बनाउन खोजेका छौँ। त्यही कलाकार भए पनि कथा अझै त्योभन्दा बलियो छ। र, क्यानभास पनि एकदमै ठूलो छ। महाजात्रामा टिम पनि एकदम बलियो बनेको छ।’

यस फिल्ममा हरिवंश आचार्य खलपात्रको भूमिकामा छन्। महापुरुषमा मुख्य भूमिकामा देखिएका हरिवंशले सोही फिल्मबाट नेसनल अर्वाड पाएका थिए। महाजात्रामा हरिवंश जोडिनु नै फिल्मको लागि सबल पक्ष रहेको उनी सुनाउँछन्। यो फिल्ममा हरिवंशको भव्य भूमिका रहेको उनले दाबी गरे।

पछिल्लो समय नेपालमा राजनीतिक विषयवस्तुमा फिल्म बनिरहेका छन्। सेटमा राजनीतिक माहोल देख्दा कतै महाजात्रा पनि राजनीतिक कथातिर ढल्केको त होइन?

जवाफमा म्याक्सले भने, ‘सेटको परिवेश राजनीतिक देखिए पनि यो राजनीतिक फिल्म होइन। जात्रा र जात्रै जात्रालाई राजनीतिक फिल्म बनाउनै मिल्दैन। एन्टागोनिस्ट नेता भएर मात्रै यो सिन गरिएको हो।’

जात्रै जात्राको सुटिङ भएको पाँचवर्षपछि सेटमा फर्किंदा खुसी लागेको उनी सुनाउँछन्। व्यावसायिकभन्दा पनि फिल्मले बाँकी कथा खोजेकै कारण सिक्वेल बनाउनु परेको उनको दाबी छ।

‘हाम्रो कम्पनीले सिक्वेलभन्दा पनि कथा बनाउने हो। जात्रा बनाउँदा धेरै माया पायौँ। जात्रै जात्रा बनाउँदा अलि गाली पनि खायौँ। किनकि सिक्वेल बनाएपछि दर्शकहरुको झन् बढी आशा थियो। त्यो आशालाई हामीले यहाँ मिट गर्न खोजेका छौँ। सामाजिक कुराहरु समेटेर मनोरञ्जन दिनु हाम्रो मुख्य उदेश्य हो। त्यो पूरा गर्ने हामीले भरपुर कोसिस गरेका छौँ। कथाले मागेपछि अवश्य पनि ‍अर्को सिक्वेल बन्न सक्छ। सायद यो फिल्म हेरेपछि दर्शकहरुले डिमान्ड गर्नुहुन्छ होला!’ निर्माता खत्रीले भने।  

जात्राका दुवै सिरिजमा विपिन (फणिन्द्र) इमान्दार हुन्छन्। जसको आर्थिक अवस्था कमजोर हुन्छ। केही राम्रो होला भन्ने आशा र दौडधुपमै उसको जीवन बित्छ। महाजात्रामा के फणिन्द्रको जीवनमा परिवर्तन आउला त?

यसबारे खत्री भन्छन्, ‘जात्रा भनेकै आखिर दौडधुप हो। नेपालम मध्यमवर्गीय परिवारको जीवन जात्रा नै त छ नि। अर्कोवर्ष राम्रो होला भन्दै जीवन बितेको पत्तो हुँदैन। यस फिल्ममा पनि चुनौतीले निरन्तरता पाउँछ। एउटा आश अर्को आशमा गएको छ। खासमा आनन्द नै आशमा छ। तर, मुख्य पात्रले कतिको आनन्द पाउँछ त्यो थाहा पाउन महाजात्रा नै हेर्नुपर्छ।’

म्याक्स दीपेशसहित यज्ञश्वर पौडेल निर्माता रहेको फिल्म आगामी चैत ९ गतेबाट प्रदर्शन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .