कला


फुङ्ग उडेको ‘रङ्गेली’को रङ

फुङ्ग उडेको ‘रङ्गेली’को रङ

श्रीजु सरल
फागुन २७, २०८० आइतबार १९:११, काठमाडौँ

पछिल्लो समय नेपाली सिने जगतमा एक्सन र क्राइम जनराका चलचित्र बन्ने क्रम बढ्दो छ। 'पशुपतिप्रसाद २' मा समेत लोकल फ्लेवरमा आएको एक्सन यही वर्ष हास्य शैलीमा 'जिग्री' र दक्षिण भारतीय शैलीमा 'अगस्त्य'मा देखिसकिएकै हो। र यतिबेला थोरै लोकल र थोरै दक्षिण भारतीय स्वादमा एक्सन पस्किँदै क्राइम थ्रिलर ग्याङ्स्टर सिनेमा 'रङ्गेली' क्यूएफएक्स लगायत देशभरका विभिन्न हलहरूमा प्रदर्शनरत छ।

क्राइम थ्रिलर र त्यसमाथि पनि ग्याङ्स्टरहरूको कथामाथि कमै नेपाली सिनेमा बन्ने गर्छन्। अर्जुन सुवेदी लिखित एवं निर्देशित 'रङ्गेली'ले कस्तो कथा भन्छ र जनरालाई कत्तिको न्याय गर्न सकेको छ? आउनुस्, यसैको जवाफ खोजौँ।

कथा
एउटा अनाथ केटो कसरी दादागिरी गर्न सुरु गर्छ र शक्तिको लतमा कस्ताकस्ता बाटो हिँड्छ र कहाँसम्म पुग्छ? यिनै प्रश्नहरूको जवाफ दिँदै फिल्मले दर्शकहरूलाई विजयको कथा सुनाउँछ। विजय, जो धोका दिनेलाई माफी दिन जान्दैन। विजय, जो हारेर पनि जित्छ या फेरि जितेर पनि हार्छ? यो प्रश्नको जवाफ खोज्ने जिम्मा भने फिल्मले दर्शकलाई नै दिएको छ।

जे होस्, फिल्मको कथा नेपाली फिल्मका दर्शकका लागि नयाँ नै लाग्छ र रोचक पनि!

पटकथा

कथा र पटकथाबीच गोरु बेचेको साइनो मात्रै हुन्छ। चिनजान छ भन्दा छैन भन्न नपाइने तर, एकअर्कालाई न चिनिन्छ, न त जानिन्छ नै!

त्यस्तै, कथा रोचक हुँदाहुँदै पनि पटकथा उति घोचक छैन। घोच्ने त परको कुरा, छोइरहनु मात्र पनि ठूलो कुरा। रङ्गेलीको पटकथा लेखनले मानौँ एकछिन छुँदै र दुईछिन छोड्दै गरिरहन्छ। किन? किनभने, कथामा भएजति नयाँपन पटकथामा भेटिँदैन। कुन पात्रले कस्तो हुलियामा देखिएर कस्तो डायलग बोल्ने भन्नेमै पटकथा अल्झिएको महसुस हुन्छ। तर, पात्रले ती डायलग किन बोल्ने भन्नेमा पटकथाकार स्पष्ट लाग्दैनन्।

कथा अर्थात् फेदमा टेकेर अघि बढ्नुपर्नेमा संवाद अर्थात् हाँगाको टुप्पोमा समाउनमा बढी बल लगाउँदा पटकथाको सन्तुलन बिग्रिएको पो हो कि?

पात्र
रङ्गेलीका पात्रहरू रंगीन छन्, रोचक छन्। फिल्ममा सबै पात्रहरू रोचक हुनु सुन्दर कुरा हो। यद्यपि, जनरालाई नबिर्सिएर फिल्म हेर्ने हो भने क्राइम थ्रिलरमा मुख्य पात्र सबैभन्दा बलियो हुनु जरुरी हुन्छ।

एउटा विरोधाभासपूर्ण तथ्य के हो भने हाम्रो मुख्य पात्र 'विजय' (दयाहाङ राई), फिल्मको पहिलो हाफमा बढी नै पिटिन्छ र पनि उसको चरित्र बलियो नै लाग्छ। तर, पिटिन छोड्दै गर्दा दोस्रो हाफमा भने उसको चरित्र कमजोर हुँदै गइरहेझैँ लाग्छ। त्यसो त विरोधाभास आफैमा एउटा सुन्दर अलङ्कार हो तर, यहाँनेर यो विरोधाभास भने दर्शकलाई कत्ति पनि सुन्दर लाग्दैन।

पहिलो हाफभरि मुख्य पात्रको चरित्र बलियो छ, किनभने, उसलाई लड्नकै लागि मात्रै लड्नु छैन। ऊ गरिबीको विरुद्ध लडिरहेको छ। उसँग आफ्नो एउटा लक्ष्य छ। तर, दोस्रो हाफसम्म उसले आफ्नो लक्ष्यलाई लगभग बिर्सिसकेको छ। उसलाई बस् लड्नु मात्रै छ। जुन लडाइँ पनि उसको आफ्नो होइन। उसले लड्ने लडाइँ पनि एउटा गुलामीभन्दा बढी रहिरहँदैन।

यसरी एउटा बलियो पात्रको सिर्जना गरेर उसलाई कमजोर बनाउने काम हुनु दु:खद कुरा हो।

भगवान भाइको पात्र पनि रोचक छ तर, दिलमा दया नभएको भगवान भाइ विजयप्रति किन दयालु हुन्छ स्पष्ट छैन। र अचानक विजयप्रतिको उसको संवेदना एक चुट्कीमै बिलाउनु पनि नाटकीय लाग्छ।

इन्स्पेक्टर मानेको पात्र रोचक हुनुका साथसाथै चर्को पनि छ। उसले बोल्ने डायलग र लिएर हिँड्ने रवाफ उसले गर्ने कामभन्दा धेरै भारी हुँदा यो पात्र आफ्नै भारले थिचिएको पो हो कि?

जुनकिरीको पात्रलाई भने कस्तो हुलिया दिने, कस्तो चरित्र दिने भन्नेमै पटकथाकार धरमर थिए कि? ऊ घरी पुतलीजस्ती त घरी चितुवाजस्ती!

त्यसो त ऊ दोहोरो भूमिकामा देखिनुको एउटा कारण छ कथाभित्र। तर, उक्त कारण कथाकै लागि भने कति महत्त्वपूर्ण थियो? उसमा परिवर्तन आउनु मात्रै पनि पर्याप्त थिएन र?

क्लाइमेक्समा एउटा दृश्य राख्नैको लागि मात्र उसलाई दोहोरो भूमिकामा देखाइनुले पात्रमाथि लेखक हाबी भएको महसुस खल्लो लाग्छ।

कथावाचन
क्यामराले कथा भन्ने यो फिल्ममा कथा लगभग सलल बगेको छ। लिनियर स्टोरीटेलिङका कारण घट्नाक्रमहरू स्पष्ट छन्। सुरुवाततिर पात्रको चरित्र स्थापना गर्न प्रयोग गरिएको फ्ल्यासब्याक र क्लाइमेक्समा दर्शकहरूमा संवेदना पैदा गर्न प्रयोग गरिएको सस्पेन्सले ब्याक एन्ड फोर्थ स्टोरीटेलिङको तड्का पनि लगाएकै छ। झानेर पकाइएको दाललाई पुन: झानिएको जस्तो!

प्रविधि
फिल्मको राम्रो पक्ष भने सिनेम्याटोग्राफी हो। पात्रहरूको सस्पेन्सफुल इन्ट्रीमा क्यामराले दिएको साथ। मुख्य पात्रको सिक्रेट गनफायरलाई क्यामराले सुटुक्क देखाइदिएको दृश्य। पात्रहरू भाग्दै गर्दाको क्यामराको डली मुभमेन्ट, पात्रहरू लुक्दाको फलो मुभमेन्ट! दर्शकलाई बाँधेर राख्ने श्रेय दिने हो भने क्यामराको कामले पक्कै श्रेय पाउनुपर्छ।

साथै, फिल्ममा घटनाक्रमसँग बिलाएर पृष्ठभूमिमा बज्ने धुनले पनि दर्शकलाई नजाँनिदो गरी बाँधेकै छ।

अभिनय
अभिनयको कुरा गर्नुपर्दा मिरुना मगर र दयाहाङ राईले मधेसी पात्रमा छिर्न गरेको मिहेनत प्रशंसनीय देखिन्छ। विशेषगरी, लवज समाउन गरेको मिहेनत टड्कारो देखिन्छ। यद्यपि, मिहेनत गरेको नदेखिनेगरी गर्ने पनि ठाउँ थियो कि भन्ने प्रश्नले दर्शकलाई नबिझाउला भन्न चाहिँ सकिँदैन।

लवजलाई छेउ लगाएर बडी ल्याङ्वेज र फेसियल एक्स्प्रेसनलाई मात्रै हेर्ने हो भने खोट लगाउने ठाउँ भेटिँदैन। मधेसी हुलियामा दुरुस्त देखिएका अर्पण थापाको अभिनय सदाबहार लाग्छ। बाँकी कलाकारको अभिनय पनि सन्तोषजनक नै लाग्छ भने बालकलाकारहरूको अभिनय जीवन्त लाग्छ।

नढाँटेरै भन्ने हो भने अभिनय क्षमतामा प्रश्न गर्ने ठाउँ नरहँदानरहँदै पनि जुनकिरीको चरित्रमा मिरुना मगरको विकल्पमा कुनै थारु अनुहार नै देख्ने इच्छा चाहेर होस् वा नचाहेरै आइदिन्छ।

मानेको भूमिकामा देखिएका प्रविण खतिवडाको अभिनय तारीफयोग्य लाग्छ।

जाँदाजाँदै, पुरानो कलाकारको नयाँ अवतारको विज्ञापनसँगै सिक्वेलको वाचा गर्दै बिट मारेको फिल्म दोस्रो भागमा भन्ने कस्सिएर आउला कि? अपेक्षा/शुभेच्छा गर्न सकिन्छ। खैर, यसपालि भने फुङ्ग उडेको छ 'रङ्गेली' को रङ! टुङ्गिएको छ एउटा आन्दोलन गुलामीमा रूपान्तरण हुँदै खाली एउटा प्रतिशोध बनेर।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .