कला


शनिबार दुबईमा गुन्जिँदै मंगोलियन हार्ट

शनिबार दुबईमा गुन्जिँदै मंगोलियन हार्ट

नेपालखबर
बैशाख १९, २०८१ बुधबार २१:२४, काठमाडौँ

चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ युएईको दुबईमा गुन्जिने भएको छ। केही समयअघि मात्रै अस्ट्रेलिया, दक्षिण कोरिया र पोखरामा आफ्नो प्रस्तुतिमार्फत माहोल तताएको यस ब्यान्डले दुबईमा बृहत् कन्सर्ट गर्ने लागेको हो।

युएईस्थित बर दुबईमा करिब २५ करोडको लगानीमा नेपालीले खोलेको नाइट क्लबको उद्घाटनको अवसरमा मंगोलियन हार्टले कन्सर्ट गर्नेछ।

ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाका अनुसार क्लब एस के सेभेनको बृहत् उद्घाटनको अवसरमा आगामी शनिबार मे ४ तारिखका दिन प्रस्तुति दिने तय भएको छ।

‘संसारभर नेपालीहरूले विभिन्न माध्यमबाट नेपाली संगीतको प्रबर्द्धन गरिरहेका छन्। बर दुबईमा नेपाली साथीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो। सुरुवात हामीबाटै हुँदै छ,’ म्यानेजर लामाले भने।

उक्त क्लबका लगानीकर्ता काठमाडौंका सरोज विष्ट हुन्, जो १३ वर्षदेखि दुबईमा व्यवसायी गर्दै आइरहेका छन्।

गायक राजु लामा ‘फ्रन्ट म्यान’ रहेको यस ब्यान्डले कार्यक्रममा आफ्ना लोकप्रिय पुराना गीतहरू प्रस्तुत गर्ने तयारी छ। युएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेस्रो कन्सर्ट हो। युएईमा दर्शकहरूको माग बढी भएका कारण तेस्रोपटक कन्सर्ट भएको हो।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यस ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

मंगोलियन हार्टका ‘बादलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ लगायतका चर्चित गीत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .