आगामी जेठ १० गते रिलिज हुने ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
४ मिनेट लामो ट्रेलर जातीय विभेदवरिपरि घुमेको छ। जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ। मुख्य कलाकार आर्यन सिग्देलको अन्जना बराइली र प्रदीप खड्काको परिक्षा लिम्बुसँगको अन्तरजातिय प्रेमसम्बन्ध र त्यसले निम्त्याएको जटिल परिस्थिति ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा अभिनेता पल शाहलाई समाज परिवर्तन गर्न अग्रसर युवाको भूमिकामा प्रस्तुत गरिएको छ।
ट्रेलर रिलिज कार्यक्रममा निर्देशक दिनेश राउतसहित मुख्य कलाकारहरुको उपस्थिति थियो। तर, समारोहमा पल शाह भने उपस्थित थिएनन्। अर्को चलचित्रको छायाङ्कनमा व्यस्त रहेका कारण उनी सो कार्यक्रममा उपस्थित नभएको बताइएको छ।
दिनेश राउत निर्देशन रहेको यस फिल्ममा जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा समेटिएको छ। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्। पहिलोपटक आर्यन, प्रदीप र पल एकसाथ देखिँदै छन्।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ। यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदै छ।
Shares
प्रतिक्रिया