फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गर्ने भएको छ।
चर्चित स्ट्यान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा अत्यधिक सफल भएपछि नचाउने उद्देश्यसहित ‘अब नाच्छ अमेरिका’ नाममा कार्यक्रम गर्न लागेको फ्लाई नेपाका सीईओ विनोद अधिकारीले जानकारी दिए।
उनका अनुसार यस नचाउने यात्रामा देशका चर्चित गायिका शान्ति श्री परियार, रचना रिमाल र ज्योति मगरले प्रस्तुति दिनेछन्। यस्तै, चर्चित मोडल करिष्मा ढकालको पनि नृत्य रहनेछ।
यो कार्यक्रम तीजको अवसर पारेर अमेरिकाका ८ वटा राज्यमा हुनेछ। कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने फ्लाई नेपाका सीईओ विनोद अधिकारीको विश्वास छ।
‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो। यसले कुनै न कुनै रुपमा नेपाली गीत संगीतको प्रवद्र्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु,’ उनले भने।
आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ।
फ्लाई नेपाकै आयोजनामा यसअघि भएको ‘अब हाँस्छ अमेरिका’मा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीको टोलीले गत जनवरीदेखि फ्रेब्रुअरीसम्म अमेरिकाका विभिन्न १४ राज्यमा हाँस्य प्रस्तुति दिएका थिए।
Shares
प्रतिक्रिया