यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’को छायांकन सुरु भएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट साउन १५ मा सुटिङ थालिएको हो।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको छ।
केही दिनअघि यस फिल्मको कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्म ‘कार्साङ’को केही दिन काठमाडौँमा वर्कसप चलेको थियो।
बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराई शुभमुहूर्त गरिएको फिल्मको मुख्य कलाकारमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी छन्।
यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्।
सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनयसमेत गरिसकेकी छन्।
उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुन्।
यस्तै, फिल्ममा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहनेछ।
यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका निर्देशक यम शेर्पालेको यो डेब्यु निर्देशन फिल्म हो। फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ।
यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन्। फिल्ममा प्रधानकै डीओपी रहने छ।
गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन्।
फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ।
Shares
प्रतिक्रिया