मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजको नयाँ शाखा खुलेको छ। काठमाडौँको सामाखुसी चोकस्थित स्क्वायर मलको नवौँ तलामा क्यूएफएक्सको नयाँ हल औपचारिक रूपमा सञ्चालनमा आएको हो।
असार २१ गतेदेखि सफ्ट-ओपनिङ भए पनि बिहीबारबाट औपचारिक रूपमा खुलेको हल सञ्चालक सुमित मैनालीले बताए। प्रकाश सपुत, दीपकराज गिरी, नीति शाह, जितु नेपाल, रमेश उप्रेती, किरण केसी लगायतका कलाकारले रिबन काटेर हलको शुभारम्भ गरेका थिए।
हलमा ३ वटा पर्दामा १७७, १८० र १३८ गरी जम्मा ४९५ सिट संख्या रहेको क्यूएफएक्सकी जिएम तृप्ति गिरीले बताइन्। उनका अनुसार उपत्यकामा ७ र काठमाडौँ बाहिर १० गरी क्यूएफएक्सको संख्या १७ पुगेको छ। १७ हलमा ४० वटा पर्दा रहेका छन्।
गुणस्तरीय सेवासहित हलको विस्तारमा क्यूएफएक्स निरन्तर लागिपरेको समेत गिरीको भनाइ छ।
यस हलमा नेपालमै पहिलोपटक अरोम्याक्स च्यानल ३२ साउन्ड सिस्टम जडान गरिएको छ। साउन्ड सिस्टमको यो पछिल्लो अपडेटसँगै बेल्जियमको कम्पनी बार्को लेजर्सको अत्याधुनिक प्रोजेक्सन सिरिज फोर पनि जडान गरिएको छ।
मैनालीको यसअघिको हल क्यूज सिनेमाजलाई पनि क्यूएफएक्सले हेरिरहेको छ। इलेमेन्ट्स मुभिज प्रालिले सञ्चालन गरेको यस हलको सम्पूर्ण व्यवस्थापन क्यूएफएक्सले नै गर्नेछ।
क्यूएफएक्स सिनेमाज सिटी स्क्वायर मलमा शुक्रबारबाट दर्शकले हलिउड, बलिउडसहित नेपाली फिल्म हेर्न पाउनेछन्। मंगलबार र बिहीबार टिकटमा विशेष छुटको व्यवस्था गरिने समेत सञ्चालक टिमले बताएको छ।
Shares
प्रतिक्रिया