किताब जात्राको पहिलो दिन नेपाली सिनेमाको सपना शीर्षकमा सिनेमा मन्थन गरिएको छ। मनोज पण्डित सहजकर्ता रहेको सेसनमा निर्देशकद्वय दीपेन्द्र गौचन, प्रदीप भट्टराईसहित अभिनेत्री ऋचा शर्माले नेपाली सिनेमाको सपनाबारे कुरा गरे।
सेसनको सुरुवातमै पण्डितले नेपाली सिनेमासँग सपना छ कि छैन? भन्दै प्रश्न सोधे। जसको जवाफमा निर्देशक भट्टराईले भने, ‘सपना नदेख्ने भन्ने हुँदैन। आँखा चिम्लेर र खुला आँखाले देख्ने सपनामा फरक छ। राति देख्ने सपनामा लजिकल हुँदैन। तर, नेपाली सिनेमा कहाँ पुग्नुपर्छ भन्ने लजिकबिनाको सपना काम लाग्दैन। १० वर्षमा अस्कर जित्नेगरि सपना बनाउँछौं भने सोचेर मात्रै हुँदैन। त्यसको प्रक्रिया के हो, जुरी र ग्लोबल अडियन्सले के रुचाउँछन्। कस्तोले जित्छन् त्यस्तो बनाउनुपर्छ।’
अभिनेत्री ऋचाले आफूले फिल्मक्षेत्रका लागि देखेको सपनाको सूचि बनाएर प्रस्तुत गरिन्। उनका अनुसार नेपाली फिल्मक्षेत्र व्यापारलाई भन्दा बढी कलालाई प्राथमिकता दिने होस्। नेपाली कथाले संसारभरिका दर्शकलाई बाध्न सकोस्। विशेषगरि, उनले महिलाका कलाकारका बारेमा वकालत गरिन्।
‘मैले देखेको सपना सुन्दर र धेरैवटा छन्। फिल्मक्षेत्रमा महिला सहभागिता धेरै होस्। हरेक उमेरका महिलाका लागि सिनेमा लेखियोस्। मिथिला, गौरी र बसुन्धरा दिदीलाई लीडमा राखेर फिल्म बनोस्। पारिश्रमिकमा भेदभाव नहोस्। पुरुष कलाकारले ५० लाख लिँदा हामीले आफ्नो क्षमतालाई प्रश्न गर्न नपरोस्। साथै हामीहरुको लागि यो क्षेत्र मानसिक र शारिरिक रुपमा सुरक्षित होस्।,’उनले भनिन्।
निर्देशक गौतनले नेपाली फिल्म उद्योगले अस्कर जित्ने सपना देख्नुपर्ने सुनाएँ। प्राविधिक र कलात्मक हिसाबले संसारभरिका दर्शकहरुले रूचाउने फिल्मको कथा पस्किनुपर्ने उनको जोड थियो।
उनले भने, ‘सपना सपना फिल्ममेकरको लागि कच्चा पदार्थ हो। हामी जति पनि कथा लेख्छौं, त्यसका लागि सपना चाहिन्छ। अनि विपना बनाउन सकिन्छ। हामीले सजिलो मात्रै नभई गाह्रो र कठिन सपना देख्नुपर्छ। अहिलेलाई अस्कर अवार्ड जित्ने भन्ने छ। कृतिलाई संसारभरिका मान्छेले रुचाइदिउन् भन्ने हो। जुन असम्भव छैन, दिशा नभएर गाह्रो भइरहेको हो।’
सपनासहित योगदानबारेमा पनि सेसनमा चर्चा गरिएको थियो। प्रदीपले यो क्षेत्रका लागि तत्कालिन योगदान गरेपनि दीर्घकालीन उपाय खोज्नुपर्ने सुझाव दिए।
भन्छन्, ‘यो क्षेत्रमा मेरो योगदान तत्कालिन छ। तर, फिल्मक्षेत्रको लागि दीर्घकालीन उपाय खोज्नुपर्छ। यो क्षेत्र बिरामी छ, हामीले सिटामोलको मात्रै काम गरिरहेका छौं। तत्कालिन रोकथाम गरिरहेका छौं। कोही यौद्धा आउँला र बचाउँला भन्ने लाग्छ।’
आफूले केही फिल्म निर्माण गरेतापनि कलाकार भएर यो क्षेत्रमा योगदान गरेको ऋचाको भनाइ थियो। १५ वर्षदेखि कलाकारिताको क्षेत्रमा रहेको बताउँदै उनले नमरुन्जेल यसै क्षेत्रमा काम गर्ने सुनाइन्।
उजेली जस्तो चर्चित टेलिफिल्म दिइसकेका निर्देशक गौचनले फिल्मक्षेत्रमा केही गर्नकै लागि २२ वर्षपछि स्वदेश फर्किएको बताएँ। आफूले राम्रो स्क्रिप्ट लेखेर यो क्षेत्रका लागि योगदान दिने उनको विश्वास छ।
‘२२ वर्षपछि देश फर्किएको मुख्य कारण यही हो। कहाँसम्म पुग्न सकिन्छ हेरौं। स्क्रिप्ट बलियो होस् भन्ने क्षेत्रमा योगदान दिन सक्छु कि भन्ने हो। किनकी समस्या स्क्रिप्टमा हो। मेकिङमा नेपाल बलियो भइसक्यो। सबै फिल्ममेकरले ठ्याक्कै म्याच हुने स्क्रिप्ट दिन मन छ,’गौचनले भने।
नेपाली फिल्ममेकरले सामुहिक सपना देखेर सम्भावनासहित जोखिम पनि बेहोर्नुपर्ने भट्टराईको सुझाव थियो। चलचित्र विकास बोर्डको अध्यक्षको लागि तछाडमछाड हुँदा फिल्मक्षेत्रको आगामी १० वर्षको लक्ष्यबारेमा बहस नभएको गुनासो पोखे उनले।
साथै उनले फिल्ममेकरमा आत्मविश्वास नहुँदा नेपाली फिल्म विश्वस्तरमा पुग्न नसकेको दाबी गरे।
‘हामी सिनेमा किन बनाइरहेका छौं भनेर सोच्नुपर्छ। धेरै मेकरहरुले पेटको लागि फिल्म बनाइरहेका छौं। बाँच्न सक्दा अब सिनेमालाई बचाउनुपर्छ भनेर सोचिरहेका छौं। बक्सअफिसमा बजारमै लागि बनाएका मेकर हुनुहुन्छ। उहाँहरुलाई आफ्नै रेकर्ड तोड्नुपर्छ भन्ने छ। बाहिरको तौडौं भनेर सोचौ न। एकथरिले दर्शकले हामीलाई विश्वास गर्न थालिसकेका छन्। अब रिस्क लिन सकेनौं भने त्यो दिन आउँछ कि आउँदैन। चार पाँचलाख भन्दा माथि पुग्नुपर्छ। आत्मविश्वासको कमी हुँदा यो क्षेत्रको विकास हुन सकेको होइन्,’ उनले भने।
दिपेन्द्र गौचनले सिनेमा कथा भन्ने माध्यम हुँदा कथाभित्र नौलौपन हुनुपर्ने सुनाए। उनले कुनै पनि समाजभित्रको कथालाई सुक्ष्म तरिकाले नियालेर कथामा नयाँपन ल्याउने पर्ने सुनाएँ। जुन कथाले भाव, शिक्षासहित मनोरञ्जन दिन सकोस्।
ऋचाले दर्शकलाई सरल कथा पस्किनुपर्ने बताइन्।
उनले भनिन्, ‘दर्शक भएर हेर्दा फिल्म सरल हुनुपर्छ। र, सत्यपरक हुनुपर्छ। जसले मानसिक र शारीरिक रुपमा बाँधोस्। दर्शकले चरित्र र कथालाई महसुस गर्न सक्नुपर्छ। जुन कथा मन र मस्तिष्कमा महिनौंसम्म बसिरहन्छ।’
प्रदीपले भने फिल्ममा पात्रको चुनौती उच्च हुँदा फिल्म दर्शकहरुलाई आनन्द मिल्ने बताए।
‘मलाई क्यारेक्टरहरुको चुनौती उच्च छ त्यो लाग्छ। कथाभित्र चुनौती र संघर्षमा बढी रमाइलो देख्छु। सामान्य रुपमा हेर्दा जबसम्म त्यो पात्रले संघर्षको उच्चमा पुग्दैन। तबसम्म दर्शकलाई पनि मजा आउँदैन। चुनौतीपूर्ण पात्रको कथा मन पर्छ।’
Shares
प्रतिक्रिया