ad ad

कला


गुरुङ संस्कृतिबाट कमलले टिपेको यो गीत, जसले पहिलो प्रेमको कथा भन्छ

गुरुङ संस्कृतिबाट कमलले टिपेको यो गीत, जसले पहिलो प्रेमको कथा भन्छ

वाशुदेव मिश्र
साउन २०, २०८१ आइतबार १२:२, पोखरा

तपाईँको मनमा पहिलोपल्ट बसेको मान्छे के सधैँ साथमा हुन्छ? साथमा नभए के त्यो व्यक्ति मनको भित्ताबाट मेटिन सक्छ?

यो प्रश्नको उत्तर गुरुङ समुदायमा प्रचलित सेगा संस्कृतिले दिन्छ।

यसका लागि तपाईँ एकपटक लमजुङका पाखाहरू डुल्नुपर्छ।

लमजुङको घलेगाउँ र भुजुङको दूरी खासै टाढा छैन। अहिले त झन् यी दुवै गाउँ एउटै क्होंलासोथर गाउँपालिकैमा पर्छन्। तर, कुनै समय यी दुई गाउँ पनि टाढै लाग्थे। मेलापात र घरायसी धन्दाले फुर्सद पनि कहाँ मिल्थ्यो र?

मेलापर्वले यी दुई गाउँका ङह्लो–ङह्ल्स्यो (सोल्टा–सोल्टिीनी) को भेट जुराउँथ्यो। रोदी जम्थ्यो। गीतैगीतमा माया र मनका कुरा पोखिन्थे। माया टुसाएपछि सम्झना गाढा त हुनै नै भयो ! उनीहरू सम्झना झन् गाढा पार्न एकअर्कालाई सेगा (उपहार) दिन्थे।

सेगा गच्छे अनुसारकै हुन्थ्यो। उपहार यही भन्ने थिएन। कर्मु (मजेत्रो), गलबन्दी यस्तै। कसैको हैसियत बढ्दाचाहिँ सुनको औँठी–सिक्रीसम्म पनि पुग्थ्यो। 

उपहार साँटासाँट गर्ने सबैको सम्बन्ध विवाहमा टुंगिँदैनथ्यो। सबै सम्बन्धहरू विवाहमै पुग्नुपर्छ भन्ने पनि कहाँ छ र? तर, घरबार अन्तै जोडे पनि मनको त्यो साइनोलाई कायमै राख्थे। बुढेसकालसम्म पनि उपहार आदान–प्रदान भइरहन्थ्यो।

अहिले  डिजिटल जमाना छ। माया साँट्ने शैली बदलिएको छ तर लमजुङको भुजुङ र घलेगाउँतिर यसरी ‘सेगा’ दिने चलन बाँकी नै छ।
‘सेगा दिने–लिने चलन विवाहपछि पनि चल्छ, परिवारका मान्छेले पनि यसलाई स्वाभाविक रूपले नै लिन्छन्,’ हालै यही संस्कृतिमा आधारित गीत सार्वजनिक गरेका कमलबहादुर गुरुङले सुनाए,‘ हाम्रोतिरको यो असाध्यै लोभलाग्दो संस्कृति हो।’ 

कमलबहादुरको गीतको सुरुमा बाबुछोराको गुरुङ भाषामै संवाद छ। लाहुरबाट फर्केको छोराले ‘सधैँ एउटै पुरानो गलबन्दी कति लगाउनु, यो नयाँ लगाउनुस्’ भन्छ। बाबुले यो गलबन्दी लगाउनुजस्तो मजा नयाँमा नहुने सुनाउँछन्।

बाबु अतीतमा फर्कन्छन्। त्यो गलबन्दी कसरी आफूले पाएको हो भन्ने कुरा छोरालाई सुनाउँछन्। भैँसीगोठमा बस्दाताका तिम्री

आमासहितका साथीहरू खिर खान आएका, आमासँग त्यहीँ माया बसेको र गलबन्दी उपहार पाएको बेलिविस्तार लगाउँछन्।

त्यसपछि नाच चल्छ। अन्त्यमा बाबुले गोठमै बस्दा बिहे भएको र तिमी पनि कसैलाई मन पराउँछौ भने सेगा लगेर देऊ भन्छन्। छोराले अहिल्यै बिहे नगर्ने कुरा सुनाउँछन् तर आमाचाहिँ छोरोले मनकाशीलाई मन पराउने गरेको खुलासा गरिदिन्छिन्। समग्रमा गीतले एउटा सुन्दर कथा भन्छ। 

कमलबहादुर गुरुङ स्वयंको सिर्जनामा राजबहादुर र उषा गुरुङको स्वर छ भने तेजेन्द्र गुरुङले संगीत भरेका छन्। आफ्नो गीतको भावमै डुबेर कमल र पवित्राले अभिनय गरेका छन्। साउन १२ गते युट्युबमार्फत सार्वजनिक भएको गीतले राम्रै चर्चा कमाएको छ। गुरुङ संस्कृतिको जीवन्त पाटोलाई गीतमार्फत बाहिर ल्याएकामा कमलले वाहवाही खाइरहेका छन्। 

अबचाहिँ कमलकै कुरा गरौँ न। उनी जन्मिँदा अर्थात् २०५३ सालतिर साविक भुजुङ पनि बदलिँदै थियो। तर, धार्मिक र सांस्कृतिक रीतिरिवाज भने उस्तै थियो। असारबाहेक हरेक महिनाजसो गाउँमा मादल घन्किन्थ्यो। नाचगान चलिरहन्थ्यो।

गाउँलेहरू खुसी नै देखिन्थे। तर कमलले बाबुजस्तो आफ्नी आमा करबिनदेवी गुरुङ (खारबिनी) लाई भने खासै खुसी देखेनन्। परिस्थितिले तीनपटक बिहे गर्न बाध्य पारिएकी आमाको दुःख बुझेपछि उनले आमालाई खुसी दिने वाचा गरे।

‘मैले नाम कमाएँ भने आमा खुसी हुन्छिन् भन्ने लाग्यो। त्यसैले नाच्नतिर मन दिएँ,’ उनले भने, ‘मेला–महोत्सवमा नाँच्दानाच्दै २०६८ सालमा एसएलसी गरेँ। पढ्न बेसीसहर झरेँ अनि ध्वज गुरुङबाट औपचारिक नृत्यको कक्षा लिएँ।’ 

बिहानको कलेज। दिउँसो फुर्सद नै फुर्सद। उनले मनाङेचौतारा युवा क्लब र भुजुङ समाजले आयोजना गर्ने कार्यक्रममा नृत्य गर्ने जिम्मा लिए। बजारमा मात्र नभएर गाउँमा हुने क्लबका हरेक कार्यक्रम वैशाख पूर्णिमा, दसैँ, तिहार, ल्होसार, शिवरात्रि, बिहे भोजभतेर, पुटपुटेजस्ता सांस्कृतिक कार्यक्रम हाँक्ने जिम्मा पनि उनै साथीसंगीको थियो।

सफलता हात पर्दै गयो। यता प्लस टु पनि सकियो। मस्र्याङ्दी कलेजमा स्नातकमा भर्ना भए। तर, बेसीसहरको कलेजले विद्यार्थी धेरै नभएको भन्दै कक्षा नै बन्द गरिदियो। बाध्यताले उनी पोखरातिर मोडिए।

पोखरामा दिदीभेनाले ओत र आड दिए। संयोगले पोखरामा रहेका भजुङेहरूको समाजसँग जोडिन पुगे। २०७२ सालको कुरा हो। तमु प्ले ल्हु संघको युवा समितिले आयोजना गरेको सामूहिक नृत्य प्रतियोगितामा भुजुङे टोलीको प्रशिक्षकको जिम्मेवारी कमलकै काँधमा आयो। 
‘मैले त्यसलाई अवसरकै रूपमा लिएँ। १२ टिममध्ये हामी पहिलो बन्यौँ। त्यसपछिका तीन वर्ष हामीले नै जित्यौँ,’ उनले आफू कसरी नाच्ने केटोबाट सिकाउने गुरुमा बदलिएँ भन्ने बेलिबिस्तार लगाउँदै थपे, ‘सिक्लेसको मेलामा पनि हामीले लगातार ३ वर्ष बाजी मार्‍यौँ।’

‘आखिर नाच्नु भनेको के हो? हाउभाउ, शरीरका अंग हल्लाउनु नै नाच हो भने त्यो त सबै मान्छेमा हुन्छ। तर, किन केहीले मात्र राम्रो नाच्छन् र हेर्दा राम्रो मान्छन् ?’ म जिज्ञासु बनेँ। 

उनले गीतको भाव अनुसारको हाउभाउ र प्रस्तुतिले नै नाच राम्रो हुने सामान्य उत्तर दिए। आफूले सिर्जना गर्ने गुरुङ गीतमा चाहिँ पुरानो रीतिरिवाज, रहनसहनका कथाहरू बुन्ने, विम्बको भरपुर प्रयोग गर्ने गरेको उनले सुनाए।

‘गीतका शब्दहरू सुन्दा मीठा र लामो कथा भन्ने खालका हुनुपर्छ नै, उनले भने, ‘अहिलेको जमाना त हेर्ने गीतको हो नि। त्यसैले छिटो नाच्न मिल्ने र मायापिरतीका गीत छिटो चल्छन्।’ 

हेर्ने गीत?

हो, कमलले बेँसीसहरदेखि पोखरासम्मका धेरै स्टेजमा नाच देखाए। गुरुङ भाषाकै गीतमा रस बसेसँगै उनी गीत लेख्नतिर मोडिए। लेखिएका गीतहरूलाई भिडियोमार्फत् देखाउने हुटहुटी पनि सुरु भइहाल्यो। इन्टरनेटमा भिडियोग्राफीबारेका सामग्री खोज्न थाले। बजारमा कभर भिडियो चल्न थालेको बेला थियो। उनले २०७३ सालतिर ‘सुर्के थैली’को कभर भिडियो बनाए। 

पोखरामा तमु प्ये ल्हु संघ र प्राचीन नेपालमा आबद्ध भए। सिक्ने सिकाउने क्रम चल्दै थियो। लबसन गुरुङकै संगतमा हुँदा कहिले फूल बनी’, ‘छापागाउँ’, ‘सैमराङ गाउँ’ लगायतका गीतमा सहायक निर्देशन गर्ने अवसर पाए। उमेर सानै थियो तर मिहिनेतले उनलाई अवसर दिँदै गयो।

त्यसो त उनले २०६८ सालतिरै मराय ट, म्ले क्यू भन्ने गुरुङ सिनेमामा अभिनय गर्न भ्याएका थिए। चर्चित कलाकार माओत्से गुरुङसँग सिनेमामा जोडिए। 

गुरुङ सिनेमामा काम गर्दा उनले समाज र समुदायको चालचलन, रहनसहनलाई नजिकबाट नियाल्ने मौका पाए। संयोग नै भन्नुपर्छ, गण्डकीमा होमस्टे सञ्चालन अनि गाउँ चिनाउने गीत निर्माणको बाढी नै आयो। लेखक र कोरियोग्राफरको उपमा पाएका कमलले काम पाउँदै गए। कमलले दर्जनौँ गीतमा कोरियोग्राफी गर्न भ्याए।

गुरुङ सिनेमाका गीतमा कलाकारलाई छमछमी नचाएका छन् र त्यति नै पुरस्कार र पदक प्राप्त गरेका छन्। २०८० सालमा सम्पन्न पहिलो नेसनल म्युजिक अवार्डमा बेस्ट कोरियोग्राफरको उपाधि जितेका उनको नाम अगाडि गण्डकी क्षेत्रका नामुद युवा कलाकारको फुर्को जोडिएको छ। तर, कमलबहादुर त्यत्तिकैमा रोकिनेवाला देखिँदैनन्। गुरुङ भाषामा अझ बढी गीत लेख्दै संस्कृतिलाई नयाँ प्रविधिअनुकूल बनाएर नयाँ पुस्तामा हस्तान्तरणको ध्याउन्नमा देखिन्छन् उनी।

त्यसो त नेपाली भाषामा पनि उनको त्यत्तिकै दख्खल छ। आफ्नै क्षेत्रकी पवित्रालाई जीवन संगिनी बनाएका कमल खासमा कथासहितका हेर्ने गीत सिर्जनामै आफूलाई समर्पित गर्न चाहन्छन्।  म्युजिक भिडियो, सिनेमा र स्टेजमा नयाँ केही गरौँ भन्ने भोकले उनलाई छाडेको छैन।

हो, उनले लेखेका ङै माया क्यूलाई, ङै साल्वै ङ्ल्स्योसहित पछिल्लो गलबन्दी हेर्ने गीत नै बनेका छन्। तमु प्ले ल्हु संघ नेपालको सांस्कृतिक फाँटका प्रमुखसमेत रहेका कमल भड्किलो र उत्ताउलो गीतको भने विपक्षमा छन्। भन्छन्, ‘छिटो भाइरल हुनेभन्दा पनि कसरी राम्रो र कालजयी सिर्जना दिने भन्ने नै मेरो चाहना हो र म त अहिले पनि सिक्दै छु।’  

हेर्नुहोस् भिडिओ 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .