‘यदि पुनर्जन्म भयो भने तपाईं के बन्न चाहनुहुन्छ?’ अभिनेता राजेश हमाललाई एक प्रशंसकले दर्शकदीर्घाबाट सोधे।
‘पुनर्जन्ममा महिला भएर जन्मिनुपर्छ कि जस्तो लागेको छ। पुरुष त भइहालियो,’ हमालले ठट्यौलो हाँसोका साथ जवाफ दिए।
तेस्रो काठमाडौँ कलिङ साहित्य महोत्सवको दोस्रो दिन अभिनेता हमाललाई पुनः तेर्सियो, ‘ यदि अर्को जन्म छ भने सिनेमामै हुन चाहनुहुन्छ?’
हमालले ठट्टालाई बिसाउँदै केही गम्भीर मुद्रामा भने, ‘अहिलेको बिन्दुबाट हेरियो भनेचाहिँ अर्को जन्म पनि सिनेमामै होस् भन्ने लाग्छ।’
कार्यक्रमको पहिलो चरणमा राजेशले सामना गरेको पहिलो प्रश्न थियो, ‘तपाईंले नेपाली सिनेमामा जीवन पाउनुभयो वा दिनुभयो?’
‘चलचित्रमा मैले जीवन पाएँ वा दिएँ भन्दा पनि जीवन जिएँ,’ राजेशको जवाफ थियो।
प्रश्नहरूले राजेशलाई सिनेमाका पुराना स्मृतितर्फ पनि धकेलेको थियो। दर्शकहरूले प्रशस्त कौतुहल पोखे। राजेशले शान्त र सन्तुलित मुद्रामा आफ्ना अनुभूतिहरू सहभागीमाझ यसरी राखे:
आफूले चाहेको काम
आफूलाई जेमा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ। त्यो कार्य गर्न पाउँदा अत्यन्त खुसी लाग्दो रहेछ। जीवन सञ्चालन गर्न प्यासन नै नभएको कुरामा पनि इन्गेज हुनुपर्ने बाध्यता हुन्छ। यस मानेमा मचाहिँ भाग्यमानी छु। जुन कुरा मलाई असाध्यै गर्न मन थियो, त्यही गर्न पाएँ। पछि नेपाली चलचित्रको निर्माण हुने क्रम बढ्दै गयो। मैले असाध्यै खुसी पाएँ।
चलचित्रमा काम गर्दाको पहिलो चरणमा ममा अन्योल र प्रश्नचिह्न थियो। त्यतिबेला नेपाली चलचित्र खासै फस्टाइसकेको थिएन। वर्षमा एउटा-दुईटा चलचित्र बन्थे। म जुन कार्य गरिरहेको छु, यसलाई करिअरको रुपमा लैजान सक्छु कि सक्दिनँ भन्ने थाहा थिएन। तर पहिलो चलचित्र रिलिज भएपश्चात् क्रमबद्ध रूपमा धेरै चलचित्र पाउँदै गएँ।
आफ्नो करिअरको २५ वर्ष दैनिक १८ घण्टा काम गर्ने मौका पाएँ। त्यो मेरा लागि असाध्यै सन्तुष्टिको पल हो। जुन बेला व्यक्ति सिर्जनशील हुन्छ, त्यो समयमा धेरैभन्दा धेरै आफूले चाहेको कुरामा खर्चिन पाउनु खुसीको कुरा हो।
नायकको काम
चलचित्रमा अभिनय गर्ने प्रत्येक हिरो नायक हो। तर सबै नायकले त्यतिको हिरोइज्म प्रदर्शन नगरेको हुन सक्छ।
हिरो भनेको अभिनय गर्ने व्यक्ति हो। अधिकांश चलचित्रमा हिरोइज्म प्रस्तुत गर्ने व्यक्तिले यस्तो विषयवस्तुमा काम गरिरहेको हुन्छ, जसले हिरोइज्म देखाउँछ। भलै त्यो नक्कली होस्। हरेक क्षमता चुनौतीमा आफूलाई बहादुरीपूर्वक प्रस्तुत गर्छ। तर हिरोको वास्तविक अर्थ– जो व्यक्तिले साँच्चिकै बहादुरी गर्छ। वास्तविक जीवनमा असाधारण काम गर्छ। शरीरलाई जोखिममा पारेर काम गर्छ, उसलाई हिरो भनिन्छ।
हरेक नायकले हरेक कथावस्तु भएको चलचित्रमा बहादुरी गर्नुपर्छ भन्ने छैन। सामान्य कथावस्तुमा पनि काम गर्न सकिन्छ। सघंर्षशील व्यक्तिको प्रतिनिधित्व गरेर अभिनय गर्न सकिन्छ। उहाँहरू पनि त नायक हो। किनकि फिल्मको कथाको केन्द्रीय पात्र नै नायक हो।
राजनीतिमा निराशा
मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुहुन्छ। यो हाम्रो राष्ट्रको विडम्बना हो। जो राजनीतिमा लागिरहनुभएको छ। उहाँहरूबाट खासै काम भएको छैन। उहाँहरू निराश हुनुहुन्छ। हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ। सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ। तर जसबाट अपेक्षा राखिएको छ, उहाँहरूबाट खासै काम भएको छैन।
जो व्यक्ति आफ्नो यात्राको पहिलो बिन्दुमा लाग्यो, सबैभन्दा उत्कृष्ट र राम्रो कार्य उसले त्यही क्षेत्रमा गर्न सक्ने हो। विडम्बना, हाम्रा राजनीतिज्ञले सन्तोषजनक काम गर्न सक्नुभएन।
समाजले विभिन्न पेसामा लागेको व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने राजनीतिमा अपेक्षा राख्नुहुँदो रहेछ। राजनीति भनेको मेरुदण्ड हो। मेरुदण्डले काम गरेन भने शरीरका अरू अंगले काम गर्दैनन्। मेरुदण्ड कमजोर हुनेबित्तिकै त्यो राष्ट्रका अरु कुरा कमजोर हुन्छन्। हाम्रो राजनीति पनि त्यस्तै भएको हो।
करिअरका तीन चरण
पहिलो चलचित्र गर्दा थाहा थिएन, यसमा मेरो करिअर छ कि छैन। पहिलो चलचित्रको अपार सफलतापछि फिल्म मात्र हैन, मलाई पनि फिल्म क्षेत्रमा स्वीकारिदिनुभयो। यो व्यक्ति को हो, कहाँबाट आयो भनेर उत्सुकता जाग्यो।
पहिलो चलचित्र रिलिजपछि दोस्रो चलचित्र कहाँबाट आउँछ भनेर सोचेको थिएँ। तर ९ महिनापछि विभिन्न पक्षबाट चलचित्रका अफर आउन थाले। एक वर्षमा त दिनमै २-३ वटा छायांकन गर्ने अवस्थामा पुग्न सकेँ।
त्यस समयमा पर्याप्त प्राविधिक थिएनन्। म एक्लै ३/४ वटा चलचित्रमा आबद्ध हुन थालेँ। मेकअप आर्टिस्ट नै त्यतिबेला जम्मा २ जना थिए। जनशक्तिको अभाव खड्कियो। विस्तारै चलचित्रसँगै जनशक्ति पनि विस्तार भए। विस्तारै यसलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने भयो।
कसरी धेरैभन्दा धेरै व्यक्तिलाई संलग्न गराउन सकिन्छ भन्ने लाग्यो। विस्तार हुँदै गयो। एउटा बिन्दुमा पुग्दा त हरेक साल १० वटा चलचित्रमा काम गरेको हुन्थेँ।
यसरी गरेको १४ वर्षपछि म जुन प्रकारको नेपाली चलचित्रसँग आबद्ध भइरहेको थिएँ। त्यो समय सापेक्ष भइरहेको थियो। त्यसले दर्शकहरूको स्वाद र रुचिलाई परिपूर्ति नै गरिरहेको थियो। जुन किसिमका पात्र गरिरहेको थिएँ, आम नेपाली समुदायलाई प्रतिनिधित्व गरिरहेको थिएँ। युवाहरू प्रभावित थिए।
हामी राम्रै ट्र्याकमा गइरहेका थियौँ। त्यसपछि विश्वभरि नै प्राविधिक परिवर्तन हुन थाल्यो। नयाँनयाँ तरिकाले चलचित्र प्रस्तुत विश्वमा भइरहेको थियो। छिमेकी देशमा पनि नयाँ तरिकाले बनिरहेका थिए। चलचित्रको दृश्य खिच्ने र प्रस्तुत गर्ने तरिकामा क्रान्ति आइरहेको थियो। हामीचाहिँ कताकता पुरानालाई तन्काइरहेका थियौँ। मलाईचाहिँ हामीले प्रस्तुत गरेका सामग्री समयसापेक्ष छैन कि, पुराना चिजलाई चाहिनेभन्दा बढी तन्काइरहेका छौँ कि भन्ने भएको थियो।
मैले ७ वर्षअगाडि दर्शकको स्वाद र चाहनाअनुसार चलचित्र बने मात्र काम गर्ने तर गर्नैका लागि नगर्ने भनेर बसेँ। यद्यपि अब म ३ हप्तापछि ७ वर्षको ग्याप मेट्न जाँदै छु। मलाई कताकता पहिलो चलचित्र गर्न जाँदै छुजस्तो लागिरहेको छ।
कलाकार-दर्शक सम्बन्ध
अरु देशमा कलाकार र फ्यानको सम्बन्ध कस्तो छ थाहा छैन। तर मेरो राष्ट्रमा दर्शकसँग एक किसिमको आत्मीय सम्बन्ध पाउँछु।
उहाँहरूको सामु गएर पहिलोपटक भेट्दा पनि घरकै सदस्यका रूपमा ट्रिट गरेको पाउँछु। त्यो प्राप्त गर्न सकेकोमा गौरवबोध गर्छु।कलाप्रतिको सम्मान ठान्छु।
Shares
प्रतिक्रिया