आइफोनबाट खिँचिएको फिल्म ‘अ प्लेस अन्डर द सन’ को काठमाडौँमा विशेष शो गरिएको छ।
शुक्रबार साँझ सीडीसी सिनेमाजमा गरिएको स्पेशल स्क्रिनिङमा फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको छ।
विशेष शो हेर्न निर्देशकहरु उपेन्द्र सुब्बा, सुबर्ण थापा,सचीन घिमिरे र कलाकार प्रवीण खतिवडा लगायत पुगेका थिए। जहाँ उनीहरुले फिल्मको कथादेखि सिनेमाटोग्राफीको खुलेर प्रशंसा गरे।
क्राइम जनरामा निर्माण गरिएको फिल्ममा बाल्यकालदेखि मिल्ने ३ जना साथीको कथा समेटिएको छ। जेसन लोप्चनको लेखक तथा निर्देशक रहेको यस फिल्मलाई आइफोन १४ प्रो म्याक्सद्वारा खिँचिएको हो। प्रविण लिम्बु फिल्मको सिनेमाटोग्राफर हुन्।
वान स्क्वाड फिल्म्सको निर्माण रहेको फिल्ममा जेसनसहित मीन घलान, अशु शर्मा, मीरा गुरुङ, प्रजन पौडेल, विप्लप गौली, रिदेन श्रेष्ठ, प्रवेश एम्सीको अभिनय रहेको छ।
फिल्मलाई अस्कर कलेज पढेका विद्यार्थीहरुले मिलेर बनाएका हुन्। चितवन र काठमाडौंमा सुटिङ गरिएको फिल्मलाई छिट्टै हलमा रिलिज गर्ने निर्माणटिमको तयारी छ।
Shares
प्रतिक्रिया