कला


‘पाँच पाण्डव’को शुभमुहूर्त, मुख्य भूमिकामा हरिवंशदेखि दीपाश्री निरौला

‘पाँच पाण्डव’को शुभमुहूर्त, मुख्य भूमिकामा हरिवंशदेखि दीपाश्री निरौला

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १७:३, काठमाडौँ

वसन्त निरौलाको निर्देशनमा फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ। काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए। यस फिल्ममा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन्। ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।

चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ। पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । त्यस्तै छविलाई चलचित्रसँगै जोडिएको अनुमान लगाउन भने सकिन्छ।

फिल्ममा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–का हुन् भन्ने प्रष्ट पारिएको छैन। तर, उमेर र छविका हिसावले हरिवंश युधिष्ठिर हुनसक्ने अनुमान लगाउन सकिन्छ।
निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् । चलचित्रका अन्य केही कलाकारहरू अन्य केही फाइन बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए ।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ ।  पौडेल चर्चित सिनेमा ‘प्रसाद’ का लेखक समेत हुन् ।
केही महिना भित्र छायाकंन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन् ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन्। हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कमी हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए।

‘हाम्रो चलचित्रमा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो । हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउने छौँ। हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउने छौँ,’उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad