पछिल्लो समय अनमोल केसी र जसिता गुरुङको केमेस्ट्रीलाई दर्शकहरूले निकै रूचाएका छन्। ‘फर्की फर्की’ मा एकसाथ देखिएका उनीहरू प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ मा पनि जोडीको रूपमा देखिएका छन्। फिल्मदेखि अन्तर्वार्तासम्मका भिडिओमा उनीहरूको जोडीलाई निकै सुहाएको प्रतिक्रिया आउने गर्छ।
रिल लाइफको यस जोडीको प्रेम सोमबार रियलमै छल्कियो। सोमबार जापानको टोकियोस्थित नाकानो जेरो हलमा प्रिमियर राखिएको थियो। जहाँ उनीहरूको केमेस्ट्रीलाई दर्शकले प्रत्यक्ष महसुस गर्न पाए।
प्रिमियरमा सुरुवातमा निर्देशक, निर्माता र आँचल शर्मासहित अनमोल देखा परे। जहाँ अनमोलले अर्की अभिनेत्री जसिता गुरुङको खुट्टा मर्किएको जानकारी दिए। र, ब्याकस्टेजमा आराम गरिरहेको समेत बताए। त्यसपछि दर्शकहरूले जसितालाई बोकेर ल्याउन आग्रह गरे।
अनमोल पनि के कम ! रोमान्टिक शैलीमा जसितालाई बोकेरै स्टेजसम्म ल्याए। जसितालाई उचालेर ल्याउँदा हलको माहोल गुञ्जायमान बनेको थियो। दर्शकहरूले हुटिङ र ताली बजाउँदै उनीहरूको जोडीलाई स्वागत गरेका थिए।
जुन भिडिओ यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो भिडिओ देखेहरू उनीहरू रियलमै प्रेमसम्बन्धमा रहेको समेत लख काटिएको छ। धेरैले भविष्यमा यस जोडीको विवाह भएको हेर्न चाहनेसमेत बताइरहेका छन्।
‘फर्की फर्की’ देखिनै अनमोल र जसिता प्रेमसम्बन्धमा रहेको हल्ला चल्दै आएको छ। यद्यपि, उनीहरूले पनि यसबारे अहिलेसम्म केही बोलेका छैनन्।
चलचित्र विकास बोर्डका अनुसार ‘जेरी अन टप’ शनिबारसम्म घरेलु बक्सअफिसमा साढे १० करोड ग्रस कमाएको छ। अनमोलसहित जसिता र आँचलले समेत पहिलोपल्ट ठूलो सफलता पाएका हुन्।
Shares

प्रतिक्रिया