कला


‘न्याउली वनैमा’का जिद्दी गायक प्रशान्त: ७ वर्षको असफलता एकै सालमा मेटाए (भिडिओ)

‘न्याउली वनैमा’का जिद्दी गायक प्रशान्त: ७ वर्षको असफलता एकै सालमा मेटाए (भिडिओ)

लक्ष्मी बलायर
कात्तिक २२, २०८२ शनिबार ९:२४, काठमाडौँ

गायक बन्ने सानैदेखिको सपना थियो। त्यो हुटहुटी पूरा गर्न उनले के मात्रै गरेनन्। स्कुलमा हुने सांगीतिक कार्यक्रमदेखि रियालिटी सोसम्म पुगे। कहिले नेपाल आइडल त कहिले भ्वइस अफ नेपाल। तर, पहिलो चरणबाटै आउट।

एकपटक होइन, कयौँपटक। तर, बारम्बार असफलता भोगे पनि उनी कहिल्यै थाकेनन्।  गायक बन्ने जिद्दीपन रहिरह्यो। र, सधैँ प्रशान्तले संगीतको सागरमा डुबुल्की मारिरहे।

अन्तत: सात वर्षको निरन्तर संघर्षपछि त्यो समय आयो, अनि आफ्नो शब्द, संगीत र स्वरमार्फत उनी करौडौं दर्शक/श्रोतामाझ गुञ्जिए। र, एकवर्षमै प्रशान्त शिवाकोटी चर्चाको शिखरमा पुगे।

किनकि अहिले हरेक प्लाटफर्ममा उनकै गीत गुञ्जिरहेको छ: ‘न्याउली वनैमा’। फिल्म ‘वरिष्ठ बलराम’को यो गीत हालै युट्युबमा पनि करोड पटक हेरिएको छ।

आफ्नो गीतले यो किसिमको सफलता पाउँदा दंग छन् उनी।

‘गीत चल्दा एकदमै खुसी लाग्ने रहेछ। किनकि यो मेरो त सपना थियो। म लेख्छु, संगीत पनि भर्छु र गाउँछु। मेरो गीत धेरै अडियन्ससम्म पुगोस् भन्ने सानैदेखिको रहर थियो। अहिले समयले त्यही जुराइरहेको छ। तीनवटै काम गर्न पाइरहेको छु। सबैले मन पराउँदा निकै खुसी छु,’ उनले भने।

‘न्याउली वनैमा’ मात्रै होइन, ‘पूर्णबहादुरको सारंगी’को गीत ‘काँधेकुरी’ पनि व्यापक चलेको थियो। त्यहि गीतमार्फत प्रशान्तले आफ्नो संगीतको यात्रा सुरु गरेका थिए। धेरैले उनलाई ‘काँधेकुरी’ गायक भनेर चिन्न थालेका थिए। तर, अहिले भने उनलाई ‘न्याउली वनैमा’ गायक भनेर सम्बोधन गर्न थालिएको छ।

भन्छन्, ‘गतवर्ष काँधेकुरी गायक भनेर चिनिन थालेको थिएँ। धेरैले काँधेकुरी भन्दा मलाई चाँहि तनाव लाग्थ्यो। काँधेकुरी मात्रै परिचय नभए हुने, अरू गीत केही आए हुन्थ्यो। म पर्खाइमा थिएँ। सबै गीत सफल हुन्छन् भन्ने हुँदैन। एकवर्षको अन्तरालमा काँधेकुरीलाई जितेर न्याउली वनैमा आएको छ। भोलि यसलाई जितेर अरू आऊन् भन्ने चाहना छ।’

काँधेकुरीदेखि न्याउली वनैमासम्मको एक वर्षे यात्रालाई कसरी लिनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रशान्तले भने, ‘मेरो लागि ठूलो च्यालेन्ज थियो। कलाकारितामा एउटाभन्दा अर्को काम राम्रो दिने प्रयास नै गाह्रो रहेछ। त्यतिबेला एकदम खुसी लागेको थियो। काँधेकुरी चल्यो। फिल्म पनि ब्लकबस्टर भयो। तर, त्यो खुसी चाहिँ धेरै समय टिक्दैन मेरो लागि। एउटा गरिसकेपछि प्रेसर बढी महसुस हुन्छ। अरू सिर्जना गर्न पाऊँ जस्तो लाग्छ। यो यात्रा सबैभन्दा गाह्रो रह्यो।’

‘पूर्णबहादुरको सारंगी’ बन्यो टर्निङ प्वइन्ट

झापा भद्रपुरका प्रशान्तलाई सानैदेखि संगीतमा लगाव थियो। घरमा बुवाआमा गीतहरू गुन्गुनाउँथे। सुनेर प्रशान्तले पनि गीतको लय समात्न थाले। स्कुल पढ्दा उनी सांगीतिक कार्यक्रममा भाग लिन्थे। कयौँपटक त प्रतियोगितामै प्रथम भएको उनको अनुभव छ।

कक्षा ८ मा हुँदा उनले ‘पूर्वाञ्चल जुनियर स्कुल आइडल’मा भाग लिएका थिए। जहाँ उनी हजारौँ प्रतिस्पर्धीलाई उछिन्दै दोस्रो बन्न सफल भए।

एसएलसी पास गरेसँगै ०७४ ताका उनी सांगीतिक उडान भर्न काठमाडौं आए। काठमाडौं आएसँगै उनले राष्ट्रिय स्तरका सांगीतिक प्रतियोगितामा भाग लिन थाले। नेपाल आइडलदेखि द भ्वइस अफ नेपालका तीनवटा सिजनमा अडिसन दिए। तर, सबैमा पहिलो चरणबाटै आउट भए।

‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनमा भने उनले सफलताको पहिलो स्वाद चाखे। टप १० सम्म पुग्न सफल उनले केही प्रशंसक/श्रोता कमाए। जसले प्रशान्त आगामी सांगीतिक यात्रा सहज हुनेमा ढुक्क थिए। तर, उनलाई कतैबाट गीतको अफर आएन।

प्रशान्त निकै निराश भए।

सोहीबेला निर्देशक सरोज पौडेलले ‘पूर्णबहादुरको सारंगी’ लागि प्रशान्तजस्तै नयाँ मान्छे खोजिरहेका थिए। राम्रो लेख्ने र गाउने भन्ने थाहा पाएपछि सरोजले प्रशान्तलाई अफर गरे। सुरूमा त एउटा गीतको लागि मात्रै अफर गरिएको थियो। तर, पछि राम्रो गर्छ भन्ने विश्वास लागेपछि फिल्मको पूरै संगीत नै उनलाई जिम्मा दिइयो।

‘सुरुमा एउटा ट्राइ गरौँ भन्नुभयो। त्यो बनाएर दिएपछि उहाँहरूको विश्वास जितेछु। एकदम राम्रो छ। सबै गीत तपाईंले नै गर्नुपर्छ भन्नुभयो। यो अफर मेरो लागि अप्रत्याशित नै थियो। सुरूमा त मलाई कसरी गर्ने भन्ने डर थियो,’ उनले भने, ‘लोभ लागेर हुन्छ भनेँ, सम्झौता पनि गरिहालेँ। त्यसको १५-२० दिन चाहिँ एकदमै प्रेसर फिल गरेँ। फिल्मको स्क्रिप्ट पढेँ। सोहीअनुसार गीतहरू बनाउन थालेँ। लेखक महेश दवाडी दाइसहित सबै टिमसँग छलफल हुन्थ्यो। मैले उहाँहरू सबैको सहयोग पनि लिएको छु। उहाँहरूले विश्वास गर्नुभएको थियो। त्यो विश्वासलाई कायम राखेछु भन्ने लागेको छ।’

‘पूर्णबहादुरको सारंगी’लाई करिअरकै टर्निङ प्वाइन्ट मान्ने उनी यसले जीवनमा धेरैथोक दिएको बताउँछन्।

सातवर्षको असफलता एक वर्षमै गायब!
एकवर्षमा प्रशान्तले ‘पूर्णबहादुरको सारंगी’, महाभोज, जनै हराएको मान्छे, वरिष्ठ बलराम, सोल्टिनी लगायत फिल्ममा काम गरिसकेका छन्। एक वर्षमै यो किसिमको सफलता कल्पना गर्नुभएको थियो भनेर सोध्दा जवाफमा उनी भन्छन्, ‘सफलताको सपना देखेको थिएँ। कल्पना गरेको थिइनँ। जिन्दगीको सपना र उद्देश्य यही थियो। तर, म कन्फिडेन्ट चाहिँ थिइनँ। किनभने बजार प्रतिस्पर्धा हेर्छ। त्यही देख्दै आइयो। कल्पनाभन्दा बाहिरको वातावरणले बनाउँदो रहेछ। बजारमा अद्भुत कला भएका मान्छे छन्। जेहोस् समयले जुरायो भनौँ।’

यो एक वर्षको सफलताले उनको सात वर्षको दु:ख बिर्साइदिएको छ। ती अँध्यारा पाटो बिर्सिंदै उनी उज्यालो महसुस गरिरहेका छन्।

उनले भने, ‘त्यो अलिकति महसुस हुन्छ। किनभने भनाइ छ दु:खपछि सुख आउँछ। रातपछि दिन आउँछ भनेझैँ। फेरि धेरै खुसी चाहिँ हुन्नँ म। किनभने यो समय यत्तिकै चलिरहन्छ भन्ने पनि हुँदैन। अहिले राम्रो समय छ। राम्रो भएको बेलामा आफूले उत्कृष्ट गरौँ भन्ने हो। त्यसमै लागिरहेको छु।’

पछिल्लो एकवर्षमा सांगीतिक करिअर बदलिए पनि जीवन बदलिएजस्तो उनलाई लाग्दैन।

‘सांगीतिक करिअरमा परिवर्तन धेरै आएको छ। पर्सनल परिवर्तन भने देख्दिनँ। मैले गर्न खोजेको काम पाइरहेको छु। त्यो बदलाव चाहिँ सबैभन्दा मिठो हो। पहिले संगीतको विकल्प खोजिरहेको हुन्थेँ। अहिले त्यो छैन। जिन्दगी नै संगीतमै बिताइरहेको छु। त्यो नै सबैभन्दा खुसीको कुरा हो,’ उनले भने।

जिद्दीपनले बनायो सफल
त्यो सात वर्षको समयमा प्रशान्त थुप्रैप टक गलेका छन्। रियालिटी सोमा धेरैपटक आउट भएको देखेर उनलाई धेरैले भन्थे: तिम्रो यसमा हुँदैन। भविष्य देख्दिनँ।

तर, प्रशान्त भने आज नभए पनि पनि भोलि त होला भनेर सोच्थे। कतिपटक उनी निराश पनि भए। एक पटकको कुरा हो। धरानमा दिनभरि लाइन बसेर अडिसन दिए। तर, छनोट हुन सकेनन्। त्यो बेला निकै निराश भएको उनी सुनाउँछन्।

‘अडिसन दिन दिनभरि लाइनमा बस्यो। बेलुका पालो आएर स्वाट्ट आउट हुँदाखेरि निराश भइँदोरहेछ। धरानमा म आधा रातसम्म बाटोमा एक्लै हिँडेको छु। त्यस्ता क्षण धेरै छन्। किन सफल भइरहेको छैन भनेर प्रश्न त आउँथ्यो। कति रोइयो। कति दु:ख मनाइयो,’ उनले भने, ‘भोलिपल्ट चाहिँ नसोच्ने, अर्को रियालिटी सोमा लागिहाल्ने। त्यो कुरालाई छोडिदिने। आफ्नो ठाउँ पत्ता लगाउनु थियो। अन्तिममा भ्वइस अफ नेपाल सिजन ५ मा आएर रियालिटी सोको इच्छा पनि पूरा भयो।’

यस सफलतामा उनी स्वयंभन्दा परिवारलाई बढी हकदार मान्छन्। किनकि छोराको असफलतामा उनका बुवाआमा कहिल्यै हारेनन्। बरू सधैँ छोरालाई साथ र ऊर्जा दिइरहे। किनकि उनीहरूलाई थाहा थियो: छोरा, जिद्दी छ, संगीतमा केही नगरी छोड्दैन।

‘उहाँहरूले जुन तरिकाले म लागेको देख्नुभएको थियो, यसले नगरी छोड्दैन भन्ने थाहा थियो। संगीतकै लागि जीवनमा फाइदा हुने अफर त्यागेर बसेको छु। त्यो कुरा घरपरिवारलाई थाहा छ। उहाँहरूले जहिल्यै पनि साथ दिनुभयो। सफलता देखेर धन्न छिट्टै भयो भन्नुहुन्छ।’

प्रशान्त स्वयं पनि जिद्दीपनले यहाँसम्म पुर्‍याएको बताउँछन्। कुनै कुरामा रहर लागेपछि आफू त्यहाँसम्म पुग्ने बाटो खोज्ने उनको भनाइ छ।

असफलताले अनुशासन सिकाउँछ’
जीवनमा असफलताले के सिकाउँदोरहेछ?

एकछिन सोच्दै प्रशान्तले भने, ‘असफलताले धेरै कुरा सिकाउँछ। अनुशासित हुन सिकाउँछ। सुरूमै सफल भएको भए यो कुरा यसरी बुझ्दिनँ थिएँ होला। तर, असफल हुनु भनेको सफलताका लागि एउटा तयारी हो। जति चोटि असफल भएँ, त्यति नै आफूलाई निर्खानतिर लागेँ।’

प्रशान्त पहिले र अहिलेका शब्द रचनामा तुलना गर्छन्। जहाँ उनी निकै फरक पनि देख्छन्। साथै आफू किन असफल भएछु भन्ने कारण पनि। असफलताले नै परिपक्व बनाउँदै लैजाने उनको अनुभव छ।

‘अहिले र त्यतिबेलाकोमा फरक छ। असफल भएर नै मैले सिक्न पाएको हुँ। अहिलेको पाँच वर्षपछि फरक हुन्छु,’ उनले भने।

‘पूर्णबहादुरको सारंगी’पछि प्रशान्त आर्थिक रुपमा समेत सबल भएका छन्। एक कोठाबाट फ्याल्टमा सरेका छन्। जहाँ पनि पैदल धाउने उनी अहिले आफैँले किनेको बाइक चढ्छन्। राम्रो समय भए पनि यसलाई उनी पूर्ण सफलता भने मान्न तयार छैनन्।

‘एक वर्षको बदलाव देख्दा खुसी लाग्छ। तर, यही पूर्णतया सफलता होइन। अहिले खासै केही सोचिरहेको छैन। मजाले बाँचिरहेको छु। यो मेरो लागि बेस्ट लाइफ हो। यो समय कहिले पनि नहराओस् भन्ने छ। निरन्तरता होस्, यसमै लागिरहेको छु,’ उनले भने।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad