‘युरोपेली संघ चलचित्र महोत्सव नेपाल’ को १४ औं संस्करणको घोषणा गरिएको छ। यो महोत्सव कात्तिक २८ गतेदेखि काठमाडौंबाट सुरू हुनेछ।
कात्तिक २८ गतेबाट ३० सम्म क्यूएफएक्स छाया सेन्टरमा हुने महोत्सव पोखरामा भने मंसीर ५ देखि ७ सम्म क्यूएफएक्स ट्रेड मलमा आयोजना हुनेछ।
यस संस्करणमा २५ चलचित्र प्रदर्शन हुनेछन्। जसमा १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुचलचित्र तथा ९ नेपाली लघुचलचित्र समावेश छन्। यी कृतिले पहिचान, अपनत्व, प्रतिरोध तथा रूपान्तरण आदि विषयलाई उठान गरेका छन्।
महोत्सवमा पोर्चुगलको बाञ्जो, फिनल्याण्डको जेभिदा, अस्ट्रियाको ह्याप्पी, हंगेरीको विथआउट एअर, र फ्रान्स–इटालीको सहनिर्माण द गर्ल फ्रम टुमरो रहेका छन्। बाफ्टा लघुचलचित्र श्रृंखलामा वान्डर टु वोन्डर, रक पेपर सिजर्स, मग्स क्रिसमस, मिल्क र आडिओस जस्ता चर्चित फिल्महरू प्रदर्शन गरिनेछन्।
स्थानीय पक्षबाट चयन गरिएका नेपाली लघुचलचित्रहरूमा ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन, चाँदनी, अबिस र इटर्नल किनशिप समेत समावेश छन्। यी कृतिहरूले सीमाका बन्धन पार गर्दै साझा मानव संवेदनालाई उजागर गर्ने प्रयास गरेका छन्।
महोत्सवलाई नेपालस्थित युरोपेली संघको प्रतिनिधिमण्डलले फ्रान्स, जर्मनी, फिनल्याण्डका दूतावासहरू, ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्यमा आयोजना गर्देछन्। सबै प्रदर्शन निशुल्क रहनेछन् र सबै चलचित्रमा अङ्ग्रेजी सबटाइटल रहने आयोजकले जनाएको छ।
महोत्सवअघिको अवधिमा कला, उद्योग तथा सिकाइबीचको सम्बन्धलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै छ। जसमा कार्तिक २३ देखि २६ गते वित्त व्यवस्थापन तथा सहनिर्माण बजारबारे मार्गनिर्देशन, चलचित्र उद्योगले अब के गर्ने त? र २९ गते चलचित्र अध्ययनका लागि संयुक्त अधिराज्यको भ्रमणबारे मनन् सत्र राखिएको छ।
Shares

प्रतिक्रिया