एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमा ‘हर्ष’ ले बक्स अफिसमा कमजोर देखिएको छ। मंसिर १२ गतेदेखि प्रदर्शनरत यस फिल्मले जम्मा २८ लाख २ हजार ३४६ रुपैयाँ कलेक्सन गरेको छ। जुन ९ दिनसम्मको कमाइ हो।
चलचित्र विकास बोर्डले आज सोमबार पछिल्ला प्रदर्शनरत फिल्मको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। जसअनुसार मंसिर २० गते अर्थात शनिबारसम्म यस फिल्मले २८ लाख मात्रै कमाइ गरेको हो। यस अवधीमा फिल्मका ८ हजार ४३६ टिकट बिक्री भएका छन्।
निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। जसकारण यस फिल्मप्रति धेरैले आशा गरेका थिए। न्युयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा बनाइसकेकी छन्।
फिल्ममा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीले अभिनय गरेका छन्।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखेकी हुन्।
Shares

प्रतिक्रिया