चलचित्र विकास बोर्डले आज सोमबार बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। जसअनुसार अनमोल केसीको मुख्य भूमिका रहेको ‘जेरी अन टप’ ले १२ करोड २६ लाख ६ हजार २४० नेरु ग्रस कलेक्सन गरेको छ।
जुन मंसिर २० अर्थात शनिबारसम्मको तथ्यांक हो। सोही दिन यस फिल्मले प्रदर्शनको ५१ औं दिन समेत मनाएको थियो। यस अवधिभर फिल्मका ३ लाख ९१ हजार टिकट बिक्री भएका छन्।
त्यसैगरि, शनिबारसम्म उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ ले ६ करोड २३ लाख नेरु ग्रस कमाएको छ। सोही अवधिमा यस फिल्मका २ लाख ७ हजार टिकट बिक्री भएका छन्।
‘जारी २’ चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो।
‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू लगायतको अभिनय छ। फिल्मको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन्।
टंक बुढाथोकी निर्देशित ‘मनबिनाको धन’ ले ३ करोड ७९ लाख नेरु ग्रस कमाएको छ। फिल्मका १ लाख ४५ हजार टिकट बिकेका छन् ।
‘मन बिनाको धन’ भने बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म हो। यस फिल्ममा दर्जीको जिरोदेखि हिरोसम्मको यात्रालाई समेटिएको छ।
Shares

प्रतिक्रिया