नेपाल प्रज्ञा प्रतिष्ठानले स्थानीय ज्ञान, सांस्कृतिक विविधता र सहअस्तित्व प्रवर्द्धनमा जोड दिँदै संखुवासभाको खाँदबारी र तेह्रथुमको छथरमा सामाजिक शास्त्र गोष्ठी आयोजना गरेको छ।
तेह्रथुमको छथर गाउँपालिका–६ मा छथर साहित्य समाजको आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागसँगको सहकार्यमा “छथर क्षेत्रका जातीयरसांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्व” विषयक एकदिने सामाजिक शास्त्र गोष्ठी आयोजना गरिएको हो।
सोमबार आयोजित गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभागकी विभागीय प्रमुख प्राज्ञ डा. कौशिला रिसालले प्रतिष्ठानले “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान” भन्ने मूल मन्त्रका साथ भाषा, साहित्य, दर्शन, सामाजिक शास्त्र र संस्कृति गरी पाँच विषय क्षेत्रमा काम गर्दै आएको बताइन्।
उनले प्रतिष्ठानले अनुसन्धान, गोष्ठी तथा प्रकाशनलाई मुख्य कार्यका रूपमा अघि बढाइरहेको उल्लेख गर्दै काठमाडौं केन्द्रित गतिविधिलाई देशका विभिन्न भूगोलसम्म विस्तार गर्ने नीति अनुरूप छथरमा कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

डा. रिसालले स्थानीय रैथाने ज्ञान, संस्कृति र सामाजिक अवस्थाको पहिचान तथा संरक्षणमा यस्ता गोष्ठीले प्रेरणा र उत्साह प्रदान गर्ने बताउँदै पूर्वका पहाडी जिल्लाहरूमा समेत निरन्तर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा डा. कमल तिगेलाले कार्यपत्र प्रस्तुत गरे भने कार्यपत्रमाथि डा. देवी दुलाल क्षेत्री र डा. धर्म ढकालले टिप्पणी गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला, छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा बेगारीले आ–आफ्नो धाराणा राखेका थिए। कार्यक्रममा सङ्गिनी, च्याब्रुङ र धान नाचलगायत सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै विभिन्न समुदायको परम्परागत भेषभूषासहित झाँकी प्रदर्शन गरिएको थियो ।
गोष्ठीमा प्रलेस कोसीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, छथर क्याम्पस तथा धरान, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभाबाट आएका स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सामाजिक शास्त्र विभागका सदस्य तथा समाज अन्वेषण विज्ञसमीक्षित जर्नलका कार्यकारी सम्पादक नारायण शर्मा, लेखा उपप्रमुख अशोक चौरासिया र अधिकृत रबिन्द्र तिम्सेनाको सहभागिता रहेको थियो।

यसअघि माघ २४ गते सङ्खुवासभाको खाँदबारीमा मकालु साहित्य समाजको आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभागको सहकार्यमा एकदिने सामाजिक शास्त्र गोष्ठी आयोजना गरिएको थियो। खाँदबारी नगरपालिकाको हलमा आयोजित कार्यक्रममा ताराबहादुर बुढाथोकीले कार्यपत्र प्रस्तुत गरेका थिए भने रुद्रनाथ दाहालले कार्यपत्रमाथि टिप्पणी गरेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सुमन शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख, अरुण तथा मकालु क्याम्पस प्रमुखलगायत साहित्यिक संस्थाका प्रतिनिधि, शिक्षक तथा स्रष्टाहरूको सहभागिता रहेको थियो।

यी गोष्ठीहरूले पूर्वी पहाडी भूभागका जातीय–सांस्कृतिक विविधता, स्थानीय ज्ञान र सामाजिक सहअस्तित्वको दस्तावेजीकरण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको प्रज्ञा प्रतिष्ठानका लेखा उपप्रमुख अशोक चौरासियाले बताए।
Shares

प्रतिक्रिया