कला


यात्रामा देखिएको त्यो दृश्य, जसले जन्मायो ‘श्री बुकुरो’

यात्रामा देखिएको त्यो दृश्य, जसले जन्मायो ‘श्री बुकुरो’

लक्ष्मी बलायर
फागुन १, २०८२ शुक्रबार १०:२३, काठमाडौँ

यात्रा गरिरहँदा निर्देशक सुदीप भुपाल सिंहको ध्यान एक दृश्यले निकै तान्छ। एक युवक बूढी आमालाई बोकेर बाइक हाँकिरहेको देख्छन्। उनी एकोहोरो हेर्छन्। र, सोच्छन्: यो त उनको वर्तमान भयो। सँगसँगै भूत र भविष्य पनि होला! कहाँबाट आइन् होला? घरमा को–को होलान्? घर कति टाढा छ होला?

यस्तै–यस्तै प्रश्न उनको मनमा खेल्न थाल्यो। त्यसै दृश्यलाई उनले गीतका हरफमा ढाले।

घर मेरो सानो बुकुरो
मभन्दा धेरै टाढा छ
सत्य हो त्यो घरको माया
मभित्र धेरै गाढा छ

त्यसपछि यात्रामा आमा–छोरालाई थकाइ लागेको कल्पे। त्यो थकाइ मार्न उनीहरू कतै रोकिएको सम्झे। र, आमाको बाट फेरि हरफ थपे:

भत्केको घरमा ताला लागेछ
सुस्केरा सबै कता हराएछन्
कतै त होलान् कुनै भूमिमा
दुःखमा छन् कि रमाएका छन्

यो गीत उनले रञ्जित गजमेरलाई कम्पोज गर्न दिए। शिव परिवारलाई गाउन लगाए। यी हरफलाई उनले गीतमा मात्रै सीमित राखेनन्। त्यसमा कथा जोड्दै लगे। अनि बन्यो पारिवारिक फिल्म ‘श्री बुकुरो: द होम कलिङ’। सिंहको लेखनसहित निर्देशन रहेको यो फिल्म आज फागुन १ देखि हलमा लागेको छ।

यसै फिल्ममार्फत सुदीप ९ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता फिल्म बनाएका थिए। बीचमा स्क्रिप्ट लेखनको काममा व्यस्त हुँदा लामो ‘ग्याप’ देखिएको उनको भनाइ छ।

फिल्ममेकिङ पढेका सुदीपले २०७१ मा रिलिज भएको फिल्म ‘माला’बाट निर्देशनमा डेब्यु गरे। जुन फिल्म हरर र थ्रिलर मन पराउने दर्शकका लागि थियो। त्यस्तै, दोस्रो फिल्म ‘रुद्रप्रिया’ले मानव जीवनको अँध्यारो पाटो र बदलाको कथा समेटेको थियो। यी दुवै कथाले सीमित दर्शकलाई मात्रै रिलेट गरेको अनुभव गरे। त्यसपछि सबैलाई मनपर्ने कथामा फिल्म बनाउन कस्सिएको सुनाउँछन् सिंह।

‘मैले बनाएका ती दुवै फिल्मले मेरी आमा र पारिवारिक फिल्म हेर्ने दर्शकलाई छोएन कि जस्तो लाग्यो। ती फिल्मले अडियन्सलाई त्यति प्रभाव पार्न सकेनन्। त्यसपछि अहिले बदला र नेगेटिभ भावनालाई हटाएर सकारात्मक फिल्म बनाउन मन लाग्यो। जुन फिल्म हेरेर परिवार र साथीहरूलाई सकारात्मक ऊर्जा मिलोस्,’ उनले यो फिल्म बनाउनुको कारण खुलाए।

उनका अनुसार यस फिल्मको कथा आमाको दृष्टिकोणबाट भनिएको छ। फिल्ममा आमाको भूमिकामा देखिएकी छिन् कलाकार लक्ष्मी गिरी। जसका तीन छोरा हुन्छन्। कथा लेख्दाताका नै उक्त पात्रको लागि गिरीबाहेक विकल्प नदेखेको दाबी गर्छन् उनी।

यस फिल्ममा चर्चित अनुहार र बलियो स्टारकास्ट छैनन्। बरु नयाँ कलाकारहरूलाई मौका दिएका छन्। फिल्ममा कलाकार आशीर्वाद बी क्षेत्री कान्छो छोराको भूमिकामा छन्। सैनिक पात्रमा सुहाउँदो देखेपछि ‘नाईं न भन्नु ल ६’ मा देखिएका आशीर्वादलाई कास्ट गरेको उनले सुनाए।

त्यसैगरी, ‘श्री बुकुरो’मा निकिता आचार्य पनि मुख्य भूमिकामा देखिएकी छिन्। उनी ‘बाबरी’मा छोटो भूमिकामा देखिएकी थिइन्। निकिताको एक्सप्रेसन र रियाक्सनबाट प्रभावित भएर फिल्मको मुख्य भूमिकाका लागि अफर गरेको बताउँछन् निर्देशक सिंह।

निर्देशकका अनुसार फिल्ममा परिवार र सम्बन्धको कथा प्रस्तुत गरिएको छ। जसकारण यो फिल्म हेर्दा दर्शकहरूले आफूसँग रिलेट गर्ने उनको विश्वास छ।

‘यस फिल्मले मलाई पोजिटिभ भाइब्स दिइरहेको छ। मेरो काम चाहिँ निर्देशकका हिसाबले दर्शकलाई मनोरञ्जनात्मक फिल्म देखाएर पठाउने हो। कथा दर्शकसँग एकदमै रिलेट हुन्छ,’ उनले भने, ‘टिकटको पैसा असुल होस् र साढे २ घण्टा सदुपयोग होस् भन्ने चाहना हो। त्यसमा पनि बाँध्न सकेन भने निर्देशक र फिल्म फेल भएको हो। भन्न खोजेको कुरा दर्शकले सजिलै बुझ्नुपर्छ।’

निर्देशक सिंह आफू ९ वर्षपछि फर्किएको बताउँदै यस फिल्मलाई दर्शकहरूले मन पराउनेमा आशावादी सुनिए। साथै चुनावमा भोट हाल्ने दर्शकलाई पनि फिल्मले सन्देश दिने उनको भनाइ छ।

उनले भने, ‘मलाई सिनेमा जसरी आनन्दले बनाइन्छ। त्यसरी दर्शकले पनि आनन्दले हेरून् भन्ने लाग्छ। लेखकका हिसाबले धेरै मेसेज छ। भोट हाल्ने हरेक व्यक्तिलाई सन्देश छ। किनकि फिल्ममा एक देशको नागरिक बोलिरहेको छ। फिल्ममा निकै मेटाफरको प्रयोग गरिएको छ। लामो समयपछि एक पारिवारिक कथा ल्याएको छु। दर्शकहरूबाट राम्रो प्रतिक्रिया आउँछ भन्ने विश्वास छ।’

फिल्ममा लक्ष्मी, आशीर्वाद र निकितासहित प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ। यो फिल्म लेखक तथा निर्देशक सिंहकै लगानीमा बनेको हो।

निर्देशक सिंहले अब फिल्म निर्देशनलाई निरन्तरता दिने बताए। उनले चाँडै नै लभस्टोरी फिल्म बनाउने तयारी रहेको समेत खुलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad