ad ad

कला


इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा हटाएकोमा अलंकार प्रतिष्ठानको आपत्ति

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा हटाएकोमा अलंकार प्रतिष्ठानको आपत्ति

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ६:३७,

नेपाली भाषा र साहित्यप्रति समर्पित संस्था अलंकार प्रतिष्ठानले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा नराख्ने गरी काम भएको भन्दै आपत्ति जनाएको छ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै नेपालको पहिचानको रुपमा रहेको नेपाली भाषा हटाएर अंग्रेजी भाषामा नम्बर प्लेट बनाउन दिने विभिन्न निकाय र अदालती फैसलाको विरोध गरेको हो।

‘नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनेर संविधानमा उल्लेख गरे पनि बेलाबेलामा नेपाली भाषालाई मास्ने षड्यन्त्र सरकारी निकायबाटै भएको देखिन्छ’, प्रतिष्ठानकी अध्यक्ष भारती न्यौपाने दाहालले भनेकी छन्, ‘पछिल्लो समयमा सवारीसाधनमा प्रयोग हुने इम्बोस्ड नम्बरको प्लेटमा नेपाली भाषा हटाई अंग्रेजी भाषाको मात्र प्रयोग गर्नु भन्ने न्यायालयको अन्यायपूर्ण फैसला नेपाली भाषामाथिको अर्काे षड्यन्त्र हो।’

प्रतिष्ठानका अनुसार नेपालभित्र प्रयोग हुने सवारीसाधनमा नेपाली भाषालाई उपेक्षा गर्ने कार्य अत्यन्त निन्दनीय छ। न्यायको खोल ओढेर भाषा मास्न लागिपरेका न्यायालयका भ्रष्टाचारीहरूको यो कदमको घोर भत्र्सना गर्ने उक्त संस्थाले स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो अलङ्कार प्रतिष्ठान ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ले चालेका कदमप्रति ऐक्यबद्धता जनाउँदै न्यायालयमा बसेका भाषाविद्वेषी अन्यायाधीशहरूको फैसलाप्रति घोर आपत्ति जनाउँछ र त्यस्तो फैसलाको शीघ्रातीशीघ्र खारेजीको माग गर्दछ।’

सदियौँदेखि प्रयोगमा आएर मानकीकरणमा सबल बन्दै आएको नेपाली भाषालाई समयसमयमा आफ्नो भाषा तथा संस्कृतिप्रति ममता नभएका र परशक्तिबाट परिचालित तथाकथित भाषाविज्ञ भनाउँदाहरूले नेपाली भाषाको अस्तित्व नै सङ्कटमा पार्ने गरी शब्दकोश तोडमोड गर्न गरेको दुष्प्रयासप्रति सबै जानकार रहेको संस्थाले जनाएको छ।

यसै सन्दर्भमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’को सशक्त नेतृत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश (२०७२) लाई खारेज गराई मानक वर्णविन्यासमा नयाँ शब्दकोश प्रकाशन तथा त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेज, शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट विद्यालय तहका सम्पूर्ण पाठ्यपुस्तकमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गरी मानक वर्णविन्यासमा प्रकाशन, उच्च माध्यमिक शिक्षा परिषद्बाट प्रकाशित सबैको नेपाली नामक पुस्तकमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गरेर मानक वर्णविन्यासमा प्रकाशन, सबै बैंकका एटिएमहरूमा नेपाली भाषाको अनिवार्य प्रयोग गराउनुका साथै कक्षा ११ र १२ को पाठ्यक्रममा नेपाली भाषाको शिक्षण अनिवार्य बनाउने काम भएको समेत प्रतिष्ठानको भनाइ छ।

यसअघि इम्बोस्ड नम्बर प्लेट जारी भएसँगै सर्वोच्च अदालतमा नेपाली भाषामा हुनुपर्ने मागसहित रिट दायर भएको थियो। तर सर्वोच्च अदालतले उक्त रिट नै खारेज गरिदिएपछि अंग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट छाप्ने बाटो खुलेको थियो।

यो पनि–
सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराइन्छः प्रधानमन्त्री ओली
इम्बोस्ड नम्बर प्लेट विवाद सर्वोच्चले फुकायो, रिट खारेज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .