ad ad

कला


जगदम्बा–श्री तथा मदन पुरस्कार समर्पण समारोह आज भर्चुअलरुपमा हुँदै

जगदम्बा–श्री तथा मदन पुरस्कार समर्पण समारोह आज भर्चुअलरुपमा हुँदै

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ६:२६,

जगदम्बा–श्री तथा मदन पुरस्कार समर्पण समारोह आज अनलाइन मार्फत् गरिने भएको छ।

विसं २०१३ देखि निरन्तर भइरहेको मदन पुरस्कार समारोह तथा २०४५ सालदेखि सुरू भएको जगदम्बा–श्री सम्मान कार्यक्रम यसपटक अनलाइन मार्फत् प्रसारण हुन लागेको हो।

‘कोभिड महामारीका कारण प्रत्यक्ष भेट्न नसके पनि सूचना प्रविधि मार्फत् सबैतिर फैलन पाउँदा हामी उत्साहित छौँ,’ मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले भनेका छन्।

मदन पुरस्कार गुठीका दीपक अर्यालका अनुसार आज आइतबार अपरान्ह ३ः०० बजेको समारोहमा नैनीतालबाट इतिहासकार शेखर पाठक, सिलगुढीबाट शान्ति ठटाल (जगदम्बा–श्री सम्मानित) र पोखराबाट चन्द्रप्रकाश बानियाँ (मदन पुरस्कार सम्मानित) समारोहमा जोडिने छन्।

डा. पाठकले आफ्नो विद्वद् प्रवचनमा महाकाली नदी वारि–पारिको ऐतिहासिक सम्बन्धका विषयमा बोल्ने तय भएको छ।

दार्जीलिङ/सिक्किम, बिहार र उत्तरप्रदेशसँग नेपालको सम्बन्धका विषयमा चर्चा भइरहे पनि पश्चिम सिमाना क्षेत्र नजिकका उत्तराखण्ड–कुमाउँसँगको सम्बन्धका विषयमा कम चर्चा भइरहेको सन्दर्भमा प्रसिद्ध इतिहासकार शेखर पाठकको प्रस्तुति सूचनामूलक हुने मदन पुरस्कार गुठीले जनाएको छ।

जगदम्बा–श्रीद्वारा सम्मानित साधक शान्ति ठटालले आफ्नो साङ्गीतिक यात्राको चर्चा गर्नेछन् भने पोखराबाट ‘महारानी’ पुस्तकका लागि मदन पुरस्कारबाट सम्मानित चन्द्रप्रकाश बानियाँले पुस्तक लेखन पछाडिका तयारी र अनुभवहरू सुनाउने कार्यक्रम छ।

सो समारोह अनलाइन मार्फत् सम्पन्न भएपनि महामारी/बन्दाबन्दीपछि गुठीका सदस्यहरू सिलगुढी र पोखरा गएर जगदम्बा–श्री तथा मदन पुरस्कार सम्मान हस्तान्तरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन्।

एक घण्टा लामो मदन पुरस्कार गुठीको सम्मान समारोह एउटा सभाहलमा ३–४ सय निम्तालु माझ हुने गरेको समारोह अब देश र विदेशमा रहने सबैले हेर्न/सुन्न सक्ने बताइएको छ।

आज अपरान्ह ३ बजेपछि यस लिङ्कमार्फत् सो कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न सकिने आयोजकले जनाएका छन्ः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .