हङकङ डलर को खेती गर्न र टिप्न हङकङलाई उत्कृष्ट गन्तव्य मानिन्छ। त्यसो त हङकङको माटोमा नेपाली साहित्यिक फसल उत्तिकै मौलाइरहेका छन्। हङकङबाट प्रकाशित दर्जनौं साहित्यिक कृति र साहित्यिक श्रीवृद्धिका निम्ति स्थापित संस्थाले त्यसको पुष्टि गरिरहेका छन्।
यसै प्रसंगमा हङकङमा हरेक महिना हुने साहित्यिक साझा शृंखलाको ९९औं एपिसोडमा हङकङका अग्रज साहित्यकार दाजु गुरुङमार्फत हङकङकै पुराना साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास ‘रुदिना’ हामीलाई निःशुल्क प्राप्त भएको छ। नत्र हङकङमा प्रायः कृति सशुल्क मात्र पाइन्छन्।
उल्लिखित कृति मलगायत केही साथीलाई हस्ताक्षरसहित उपन्यासकारले सप्रेम पठाउनुभएको रहेछ। सायद व्यवस्ताका कारण हङकङमै रहेर पनि साहित्यिक कार्यक्रममा शिवजीलाई मैले कहिल्यै कतै देखेको छैन। हुन त झन्डै १ वर्षअगाडि प्रधानले यसै कार्यक्रममा चित्रकार एवं साहित्यकार रमण गुरुङमार्फत ‘बौलाहीको यात्रा’ कथा संग्रह हामीलाई पढ्ने अवसर प्रदान गर्नुभएको थियो। पुस्तकका घतलाग्दा कथाले म निकै प्रभावित भएँ। पुस्तक सर्लक्कै पढेर सिध्याएँ। यहाका मान्छे सितिमिति पुस्तक पढ्न भ्याउँदैनन, मन गर्दैनन्। यस्ता कार्यक्रमस्थलमा ५०/१०० डलर तिरेर पुस्तक वा सीडी लियो अनि सडकमा झरेपछि दायाँबायाँ हेर्यो, खुसुक्क मौला ढ्वाङमा फाल्यो।
उपन्यासको अघिल्लो भागमा लेखकले ‘आफ्नो कुरो’मार्फत ‘यसलाई सुम्सुम्याउनुहोस् वा प्याट्ट पिटेर भए पनि प्रतिक्रिया दिनुहोला’ भन्ने अनुरोध गर्नुभएको रहेछ। जसले मलाई केही लेख्नैपर्ने हुटहुटी जगायो। हात बाँधेर बस्दा कताकता लज्जाबोध महसुस भयो। त्यसो त म स्वयं कुनै समालोचक वा समीक्षक वा विज्ञ हुँदै होइन। तर ‘रुदिना’लाई खुट्याउने जमर्को गर्दै पाठक प्रतिक्रियस्वरूप केही हरफ नलेखी रहन सकिनँ।
‘रुदिना’, नाम सुन्दै मनमा कौतुहल जगाउने ! यो शब्द कतै रुनुको अकर्मक क्रिया रुदिनँ, रुन्नँ भन्न खोजेको त होइन भन्ने पनि लाग्न सक्छ। त्यही उत्सुकताले पुस्तक पूरै छिचोलियो। अनि सिनेमा हेरेझैं छर्लङ्ग भयो।
पारिवारिक, सामाजिक उल्झनका अनगन्ती आरोह/अवरोहसँग संघर्ष गर्ने एउटी अवला नारी पात्र रहिछन्- रुदिना। चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सहरमा नेपालीको जीजिविषालाई ‘रुदिना’मार्फत लेखक प्रधानले सशक्त ढंगले उतारेका छन्। उपन्यासमा उत्तरार्द्ध ९० को दसकमा नेपालीको संक्रमणकालीन अवस्था चित्रण गरिएको छ। हङकङ आइडी कार्डमा कसरी, किन र कहिलेबाट नेपालीहरू हङकङ आए? यहाँ आएर बाँच्न के कस्ता संघर्ष गरे? नेपाली समाज कसरी स्थापित हुँदै गयो? हङकङको लोभलाग्दो समृद्धिमा नेपालीको भूमिका कस्तो छ? आदि तथ्य पुस्तकमा छन्।
समग्रमा हङकङलाई बुझ्न यो उपन्यास काफी छ। उपन्यासलाई हङकङ चिनाउने एउटा दस्तावेज बनाउन लेखक सफल भएका छन्। उपन्यासकी मुख्य पात्र रुदिनाको जिन्दगीको आरोह÷अवरोहमा हङकङमा बस्ने धेरै नेपालीका कथा÷व्यथा भेटिन्छन्। जिन्दगीको कथालाई जीवन्त र मार्मिक रूपमा प्रस्तुत गर्न लेखकले निकै मेहनत गरेका छन्।
एउटी महिलामा सन्तानको चाहना कति हुन्छ? शिशु जन्मने बेला हुने प्रसव वेदना कति पीडादायी हुन्छ? अनि यस्तो अवस्थामा श्रीमान् अनिल उपस्थित नहुँदा झन् कति पीडा हुन्छ? न्यास्रो सुत्केरी कति बेचैन र विक्षिप्त बन्छिन्? यस्तो भावनात्मक संगेवलाई उपन्यासकारले मिहिन ढंगले उपन्यासमा प्रस्तुत गरेका छन्। लेखक पाठकको मन छुन सफल भएका छन्। असल अभिभावकत्व नपाउँदा एउटी महिलाले कति दुःखसँग पौठेजोरी खेल्नुपर्छ? अभिभावकत्वकै अभावमा एक किशोर पात्र सुजनले कसरी कुलतमा फसेर एउटा सुन्दर जीवन तहसनहस पार्छ? आइडीले डलर मात्र कमाउँदैन, पारिवारिक विखण्डन र बर्बादीसमेत ल्याउँछ भन्ने यथार्थ उपन्यासकारले उतारेका छन्।
भाग ‘एक’ सुरुवातपश्चात् अन्त्य नभएसम्म पुस्तकले झनझन् रहस्यमा डुबाइदिन्छ। तर कतिपय स्थानमा लेखक चुकेका छन्। पाठ ‘चौध’ १४४ पृष्ठसम्म पात्र, कथा, परिवेश, विषयवस्तु आदि नाइल नदीझैं अविरल बगिरहेका बेला रुदिनाको पारिवारिक राम कहानीमा अप्रत्याशित रूपमा अन्य विषय घुसाउँदा पाठक अलमलिने अवस्था छ।
साथै लेखकले पुस्तकमा हङकङमा स्थापित सयौं संघ/सस्थाप्रति पनि चोटिलो व्यंग्य गरेका छन् र तिनका कतिपय प्रवृत्तिले विकृति मौलाएको इंगित गरेका छन्। हङकङमा कतिपय अगुवाले संस्थाको आडमा आर्थिक अनिमियतता, मानव तस्करीसमेत गर्न भ्याएका छन्।
लेखकले उपन्यासको ९४ पृष्ठमा हङकङका युवा/वयस्क लागुऔषधको दुर्व्यसनमा फसेको उल्लेख गर्दा त्यसले सज्जनलाई असर पर्न सक्ने कुरालाई लेखकले नजरअन्दाज गरेका छन्। उपन्यासमा कतिपय खण्डमा प्रसंग बाझिँदा पाठक अन्योलमा पर्न सक्छन्।
तर पनि ‘रुदिना’ प्रेरणादायी, चेतना तथा सन्देशमूलक उपन्यास बनेको छ। लेखकको हङकङमा नेपालीको बसोबास दुई पुस्ता पुगिसक्दासमेत उल्लेख्य प्रगति हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन्। सत्यकथाझैं लाग्ने सामाजिक चिन्तन बोकेको उपन्यासका स्रष्टा शिव प्रधानज्यूलाई हार्दिक बधाई तथा शुभकामना दिँदै कलम यहीं रोक्न चाहन्छु, अस्तु !
प्रतिक्रिया