प्रशान्त महासागरमा अवस्थित टापु मुलुक तुभालु सबैभन्दा दुर्गम देशमध्ये पर्छ। जहाँ विचित्रका माछा पाइन्छन्।
अस्ट्रेलिया र हवाई टापुको बीचमा रहेको यो देशमा हालसम्म स्थानीय र आगन्तुकले नगदमा कारोबार गर्दै आएका छन्।
त्यसैले यही अप्रिल १५ दिन पहिलोपटक एटीएम मेसिन खुल्दा मुलुकमा ठूलै उत्सव मनाइएको छ।
मुलुकको प्रमुख टापु फुनाफुटीमा नयाँ एटीएम मेसिनअगाडि जम्मा भएका सरकारी अधिकारीहरूमाझ प्रधानमन्त्री फेलेटी टियोले यो महत्त्वपूर्ण कोसेढुंगा भएको बताए।
मंगलबार उनले एटीएम उद्घाटन गर्दै विशाल चकलेट केक काटे।
नेसनल ब्यांक अफ तुभालुका महाप्रबन्धक सियोस टियोले यो महान् उपलब्धि भएको उल्लेख गर्दै यसले तुभालुका जनताका लागि आर्थिक सबलीकरणको ढोका खोल्ने बताए।
तुभालुको जनसंख्या करिब ११ हजार २ सय छ। यो विश्वकै साना मुलुकमध्ये एक हो। जसका साना ९ टापुको जम्मा क्षेत्रफल १० वर्गमाइल मात्र छ।

धेरै मानिस यहाँ भ्रमणमा आउँदैनन्। २०२३ मा जम्मा ३ हजार पर्यटकले यो देश घुमेका थिए।
यहाँ एउटा मात्र विमानस्थल छ। जहाँबाट छिमेकी फिजीसम्म प्रत्येक हप्ता केही उडान हुने गर्छ। विमान नआएको बेला विमानस्थलमा स्थानीयहरू रग्बीदेखि फुटबलसम्म खेलेर रमाउँछन्।
देशभित्रैका टापुहरूमा भने मान्छेहरू डुंगाबाट यात्रा गर्छन्।
तुभालुको सबैभन्दा उच्च स्थान समुद्र सतहबाट मात्र १५ फिट माथि छ। त्यसैले बढ्दो जलसतहबाट यो मुलुक खतरामा छ।
२०२१ मा तत्कालीन विदेशमन्त्री साइमन कोफीले राष्ट्रसंघ घुँडासम्म पानीमा डुबाएर भाषण दिँदा तुभालु चर्चामा आएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया