ad ad

गण्डकी


मुख्यमन्त्रीको कुर्सीबाट एकाएक टाढिएका पाण्डे भन्छन् : प्लेन त ल्यान्ड भयो, राजनीति क्र्यास भयो

मुख्यमन्त्रीको कुर्सीबाट एकाएक टाढिएका पाण्डे भन्छन् : प्लेन त ल्यान्ड भयो, राजनीति क्र्यास भयो

वाशुदेव मिश्र
पुस ११, २०७९ सोमबार २०:३१, पाेखरा

चितवनबाट गोरखा २ लाई चुनावी क्षेत्र बनाउँदा माओवादी अध्यक्ष प्रचण्डलाई पूर्वसहकर्मी डा. बाबुराम भट्टराईको मात्र हैन, कांग्रेस नेता सुरेन्द्रराज पाण्डेको पनि न्यानो स्वागत मिल्यो।

सुरेन्द्र उनै थिए, जो एक्लै चुनाव लड्नुपरेको भए, कांग्रेसबाट सर्वसम्मत छानिएका थिए। तर, उनले सिट छाड्नुपर्यो। पाँचदलीय गठबन्धनका नेतालाई सिट छाड्दा उनको भागमा प्रदेश पर्यो। उनी प्रदेशको मुख्यमन्त्री हुनेगरी गोरखा २ को ‘ख’बाट उम्मेदवार बने।

चुनावी सभाहरुमा सधैँ प्रचण्डको साथ रहे। प्रचण्डले पनि उनलाई फुर्क्याउनुसम्म फुर्क्याए। 

चुनावी सभाहरुमा प्रचण्डले भनेका थिए ‘सुरेन्द्रराज पाण्डेजी खालि प्रदेशसभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पूरै सम्भावना छ।’ 

उनको भनाइमा स्वर मिलाउँदै डा. बाबुराम भट्टराईले पनि भनेका थिए,‘ ‘अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री।’ 

एमालेका बसन्त गुरुङलाई भारी मतान्तरले पराजित गरेसँगै उनी मुख्यमन्त्रीको तयारीमा लागे। संसदीय दलको नेता बन्नको लागि लविङ तीब्र बनाए। कांग्रेस २७ सिटसहित प्रदेशको पहिलो पार्टी हुँदा पार्टी संस्थापन निकट सुरेन्द्र स्वभाविक रुपले बलिया उम्मेदवार थिए।

तर, कांग्रेसले गण्डकी संसदीय दलको चुनाव तोकेको ३ दिनअघि नै गडबड भइदियो। पाँचदलीय गठबन्धन टुट्यो। माओवादी अध्यक्ष प्रचण्ड एमालेसहितका दलहरुको समर्थनमा प्रधानमन्त्री बने। गण्डकीमा  बहुमतबाट ४ सिटमात्र टाढा रहेको कांग्रेस एकाएक विपक्षी बेञ्चमा पछारिने अवस्था बन्यो। 

यही पुस १४ गते कांग्रेसले गण्डकी प्रदेशसभामा संसदीय दलको नेता छान्दैछ। नेता बन्ने दौडमा अब पहिलेजस्तो उत्साह छैन।

पाण्डेसहित बागलुङका दीपेन्द्रबहादुर थापा, पोखराका विन्दुकुमार थापा, नवलपुरका महेन्द्रध्वज जिसीले नेता बन्ने आकांक्षा देखाइरहेका छन्। तर, राजनीतिक समीकरण नै बदलिएपछि पाण्डे स्वयं भने विरक्तिएका छन्। उनले दलको नेता त छाडेका छैनन् तर मुख्यमन्त्री बन्ने बाटो बन्द भएको स्वीकारेका छन्।

उनले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै भनेका छन्,‘यो घटना मेरा लागि अनपेक्षित थिएन। तर, पोखराबाट काठमाडौं आउँदा प्लेन त ल्याण्ड भयो तर राजनीति क्रयास भयो। म सकुशल अवतरण भएँ, तर म आइपुग्दा राजनीति चाहिँ क्रयास भयो।’

उनी त्यतिमै रोकिएनन्। केन्द्रको नयाँ समीकरणले गण्डकीमा एमाले, माओवादी र राप्रपासहितको नयाँ गठबन्धनको सरकार बन्ने अवस्था आएको तथा कांग्रेस प्रतिपक्षीको भूमिकामा पुगेको पनि बताएका छन्।

‘जसरी राजनीतिक रुप बदलिएको छ, अब गण्डकीमा पनि एमाले नेतृत्वकै सरकार बन्छ होला’,उनले भनेका छन्,‘ हामी प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं।’

उनले राजनीतिको कोर्ष परिवर्तन हुँदै गरेको जानकारी आफूले केही दिनअघि नै पाएको जिकिर गर्दै समग्रमा पार्टीका नेता र नेतृत्वको अनुशासनहीनताले यो परिणाम आएको टिप्पणी पनि गरेका छन्।

‘नेपालको राजनीतिमा केही समयदेखि विचार सिद्धान्त, आदर्श स्खलित बन्दै गएको अवस्था छ। त्यसको कडी हिजोको घटना पनि हो’,उनले भने, ‘राजनीतिमा मूल्यमान्यता, नैतिकताको खडेरी पर्दै गएको छ। त्यसले गर्दा यी घटनाक्रमहरु दोहोरिने सम्भावनाहरु नेपाली राजनीतिमा रहिरहेको छ।’

सम्भावना जे होला तर अहिले देखिएको के हो भने, पाण्डे मुख्यमन्त्रीको कुर्सीबाट टाढा पुगेका छन्। 

गण्डकीको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारीले दाबी गरिसकेका छन्। आइतबार सर्वसम्मत संसदीय दलको नेता छानिएका उनीसँग गठबन्धनमा रहेका एमालेको २२, माओवादी केन्द्रको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ जना सांसद छन्।

स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गे बिना पनि उनी ६० सदस्यीय प्रदेशसभामा बहुमतमा छन्।

उता, माओवादीका नेता हरिबहादुर चुमानले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .