ad ad

गण्डकी


मुख्यमन्त्री सहभागी सभामा एमाले जनप्रतिनिधिले देखाए कालोपट्टी

पोखरा महानगरपालिकाको १२ औं नगरसभा स्थगित
मुख्यमन्त्री सहभागी सभामा एमाले जनप्रतिनिधिले देखाए कालोपट्टी

वाशुदेव मिश्र
पुस २६, २०७९ मंगलबार २०:३, पाेखरा

पोखरा महानगरपालिकाको १२ औं नगरसभा स्थगित भएको छ।

नेपाली कांग्रेसले नगरसभाको कार्यसूची विपरीत रोष्टममा पुगेर बोल्ने कार्यपालिका सदस्यमाथि कारबाही नभएसम्म सभा स्थगित गर्न माग गरेसँगै मेयर धनराज आचार्यले अनिश्चितकालका लागि नगरसभा स्थगित गरेका हुन्। 

नगरसभाको सुरुमै पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको भन्दै एमालेका नगरसदस्यहरुले विरोध जनाएका थिए। कालोपट्टीसहित उपस्थित उनीहरुले वडाध्यक्षमाथि कारबाही गरिनुपर्ने र आफ्नो कुरा राख्न पाउनुपर्ने माग अगाडि सारे।

अलमलकै बीच उपप्रमुख मञ्जुदेवी गुरुङले एमालेको तर्फबाट नगरसभा सदस्य दीपक घिमिरे विश्वकर्मालाई बोल्ने पालो दिइन्।जबकि, कार्यसूचीमा उनको मन्तब्य समावेश थिएन।

उनले बोलिरहँदा जातीय विभेदको आरोप लागेका पोखरा २४ का वडाध्यक्ष प्रहरी हिरासतमा पुगिसकेका थिए।

उता, कार्यसूची विपरीत दीपक घिमिरेलाई बोल्न दिएको भन्दै कांग्रेसका जनप्रतिनिधिहरुले अर्को बखेडा झिके। सभा बहिष्कार गरे।

त्यतिबेलासम्म गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले नगरसभाको उद्घाटन गरिसकेका थिए। एमालेका जनप्रतिनिधिले कालोपट्टीसहित विरोध गरेपछि कार्यक्रमका प्रमुख अतिथि पनि अक्कबक्क परे।  

कांग्रेसका प्रतिनिधिले सभा बहिष्कार गरेपछि मुख्यमन्त्रीले मन्तव्य त दिए तर नगरसभाको दोस्रो सत्र सञ्चालन हुन सकेन।

दोस्रो सत्रमा वार्षिक कार्यक्रम संशोधन, रकमान्तर तथा कार्यक्रम संशोधन, सहकारी ऐन २०७५ (दोस्रो संशोधन विधेयक २०७९) र आर्थिक ऐन २०७९ को संशोधन विधेयक पेश गर्ने मुख्य कार्यसूची थियो। त्यसका अलावा सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पनि पेश हुँदै थियो। 

प्रदेश सरकार माइलो छोरोजस्तै : मुख्यमन्त्री 
पोखरा महागनरपालिकामा नेपाली कांग्रेसको बहुमत छ। ३३ मध्ये २३ वडाध्यक्ष कांग्रेसका छन्। कांग्रेसतर्फका जनप्रतिनिधि बाहिरिएपछि हल खाली बन्यो। त्यस्तैमा मेयर धनराज आचार्यले मुख्यमन्त्रीलाई मन्तव्यको लागि अनुरोध गरे। मुख्यमन्त्री अधिकारीले विरोध भएको विषयमा आफूले केही गर्न नसक्ने तर कानूनी राज्यमा पक्षमा रहेको सुनाए।

‘साथीहरू म आउँदा खुसी हुनुहुन्थ्यो। सन्दर्भ कसरी उठ्यो म यसमा जान चाहन्नँ। मैले समाधान निकाल्न सक्दिन। म न्याय–इन्साफको पक्षमा छु। कानुनी राज्यको पक्षमा छु’,उनले भने।

उनले प्रदेश सरकार माइला छोराजस्तो भएको पनि बताए।

‘प्रदेश माइला छोरा भयो। कान्छो छोरा स्थानीय तह भयो, जेठा माथि (संघ) भयो। पितृकार्यमा माइला छोराको जिम्मेवारी त्यति हुँदैन, जति जेठा छोरा र कान्छा छोराको हुन्छ’, उनले भने, ‘केन्द्रमा जाँदा केन्द्रकै कुरा ठूलो। अधिकारको कुरामा संघीय कानून ठूलो। अनि तपाईंको स्थानीय तहमा तपाईंहरु नै ठूलो।’

उनले पोखराको विकासका लागि महानगरले प्रदेश सरकारलाई सहयोग गर्न आग्रहसमेत गरे। विकासको योजना अघि बढाउँदै गर्दा कसैले मन दुखाउन नहुने उनको धारणा थियो। गण्डकी प्रदेश पर्यटकीय सहर भएकाले हालै संचालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न आवश्यक रहेको पनि उनले बताए। 

आ–आफ्नै तर्क 
कांग्रेस प्रमुख सचेतक तथा दलका नेता दिवसमान प्रधानाङ्गले कार्यसूची विपरीत बोल्न दिएकोप्रति कांग्रेसको आपत्ति रहेको बताए।

‘हाम्रो राजनीतिक आस्था एकातिर होला तर गण्डकीको मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा उहाँलाई कालोपट्टी देखाइयो, विधि र विधान मिचियो’,उनले भने, ‘हामीले विधि मानेनौं भने कसले मान्ने? कार्यसूची विपरीत बोल्ने व्यक्तिमाथि कारबाही नभएसम्म सदन स्थगित होस्।’ 

त्यति बोलिसकेपछि उनीहरुले पुनः दोस्रो सत्र बहिष्कार गरे। कांग्रेसका जनप्रतिधि बाहिरिएपछि एमाले नेतृ राधिका शाहीले कानून विपरीत जातीय विभेद गर्नेमाथि कारबाही हुनुपर्ने जिकिर दोहोर्याइन तर मुख्यमन्त्री उपस्थित कार्यक्रममा उनी लक्षित कालोपट्टी प्रदर्शन गर्ने कार्य एमालेको नभएको दाबी गरिन् । 

हिरासतमा वडाध्यक्ष अधिकारी 
जातीय विभेद गरेको जाहेरीको आधारमा प्रहरीले पोखरा महानगरपालिका वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले आत्मसमर्पण गरेका छन्। आफ्नै वडा सदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि उनी आफैं प्रहरीकहाँ पुगेका हुन्।

नेपालीले आइतबार प्रहरीमा जाहेरी दिएकी थिइन्। पुस १८ गते सोमबार वडामा स्थानीय आमा समूहहरुलाई विभिन्न तालिम दिनका लागि छलफल डाकिएको अवस्थामा छलफललाई नै तालिमको उद्घाटन गर्ने तयारी भएपछि महिला वडा सदस्य सरस्वती त्रिपाठीले विरोध गरेकी थिइन्।

अध्यक्ष अधिकारीले एकलौटी रुपमा उद्घाटन गर्न नहुने अडान लिँदै गर्दा विरोध भएपनि नेपालीमाथि खनिएर विभेदका भाषा प्रयोग गर्दै गालीगलौज गरेका थिए।  अधिकारीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .