गण्डकी


कुहिएको आलु बिक्री गरेको प्रधानमन्त्रीलाई उजुरी, उपमेयरको नेतृत्वमा बजार अनुगमन

कुहिएको आलु बिक्री गरेको प्रधानमन्त्रीलाई उजुरी, उपमेयरको नेतृत्वमा बजार अनुगमन

नेपालखबर
फागुन १, २०८० मंगलबार १९:६, पोखरा

गएको पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘हेलो सरकारको कार्यकक्ष अझ व्यवस्थित र प्रविधिसम्पन्न बनाइ गुनासो सुनुवाइ कार्य चौबीसै घण्टा सुरु गरिएको’ विषयलाई उपलब्धिको रुपमा लिएका थिए।

जनताको गुनासो सुन्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा रहेको ‘हेलो सरकार’ मा गएको यही माघ २८ गते पोखराबाट एउटा उजुरी गयो। उजुरीमा पोखरामा कुहिएको आलु बिक्री भइरहेको गुनासो थियो।

उजुरीपछि हेलो सरकारले पोखरा महानगरलाई आलु–प्याज बिक्री गर्ने पसलको अनुगमनको लागि निर्देशन जारी गर्‍यो। महानगरले निर्देशन पालना गर्दै मंगलबार उपमेयर मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखरा–९,पृथ्वीचोकमा रहेको कृषि उपज तथा थोक बजार (मण्डी)मा रहेका आलु– प्याज गोदाममा अनुुगमन गर्‍यो।

अनुगमनका क्रममा हेलो सरकारमा परेको उजुरीजस्तो कुहिएका आलु–प्याज नभेटिएको  पोखरा महानगर आर्थिक विकास महाशाखा मनोहर कडरियाएले जानकारी दिए।

तर,अनुगमनका क्रममा आलु पसल फोहोर रहेको, मूल्यसूची नभएको, नापतौलको दर्ता र व्यवसाय नवीकरण नभएको, खरिद तथा बिक्री बिल नभएको, सामान अव्यवस्थित रुपमा विक्री वितरण गरेको भेटिएको पोखरा महानगर सहकारी तथा उद्योग शाखामा प्रमुख अनिल कार्कीले जानकारी दिए।  

हेलो सरकारको वेवसाइटका अनुसार त्यहाँ ४३ हजार ७ सय गुनासाहरु दर्ता भएका छन्। तीमध्ये ६०.५ अर्थात् २६ हजार ४४९ वटा गुनासाको सम्बोधन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हेलो सरकारले गएको कात्तिकदेखि पुस मसान्तसम्म आएका गुनासामध्ये १ हजार २६८ वटा गुनासा फर्छ्यौट गरेको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय टेलिफोन, इमेल, फेसबुक, एक्स ( पुरानो ट्विटर),स्काइप, भाइवर, फ्याक्स, स्वयं उपस्थिति वा लिखित, वेवसाइटलगायतका माध्यमबाट हेलो सरकारमा यस्ता उजुरी परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .