उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता थप एक जनाको शव सात दिनपछि फेला परेको छ।
आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको उनले बताए।
ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जितबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता भएका थिए।
गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परी पाँच जना बेपत्ता भएका थिए।
तीमध्ये ७० वर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जितबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङका शव यसअघि नै फेला परेका थिए।
पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए। घाइतेहरूको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। रासस
Shares
प्रतिक्रिया