पूर्वी युक्रेनमा रुसी फौजले थप सहर कब्जा गर्दैगर्दा क्रेमलिनविरुद्ध पश्चिमले अपनाएको अधिकतम दबाब अभियानले हालसम्मकै कठिन परीक्षा झेलिरहेको छ।
लुहान्स्क क्षेत्रमा युक्रेनको अन्तिम किल्ला सेभेरोदोनेस्क सहरमा रुसी फौजले हवाई हमला र गोलाबारी गरिरहेको छ।
‘सहरको बाहिरी भागमा लडाइँ चलिरहेको छ। रातदिन भइरहेको भयंकर गोलाबारी थामिने कुनै संकेत छैन,’ सेभेरोदोनेस्क सहरका मेयर अलेक्सान्द्र स्त्र्युकले एपीसँग भनेका छन्, ‘यो सहर योजनाबद्ध तरिकाले ध्वस्त पारिँदै छ। ९० प्रतिशत घरहरु क्षतिग्रस्त भएका छन्।’
सेभेरोदोनेस्क र यसनजिकै नदीपारिको सहर लिसिचान्स्क क्षेत्रमा रहेका युक्रेनी फौजलाई घेर्न मे महिनाको सुरुवातदेखि नै रुसी सैनिकहरु तीन दिशाबाट अघि बढिरहेका छन्। रुससमर्थित लुहान्स्क पिपुल्स रिपब्लिकका अधिकारीहरुले शुक्रबार नै सेभेरोदोनेस्क पुरै घेरिएको बताएका थिए।
‘अहिले सेभेरोदोनेस्कबाट युक्रेनी फौज फिर्ता हुने बाटो बन्द भइसकेको छ। उनीहरु फर्किने तीन वटा पुल छन्। त्यसमध्ये एउटा ध्वस्त भइसकेको छ। दोस्रो पुल पनि धराप छ, कुनै वाहन तार्न सकिँदैन। र, तेस्रो पुल हाम्रो फौजको नियन्त्रणमा छ। यहाँबाट जो जान खोज्छ, त्यसलाई ध्वस्त पारिनेछ,’ लुहान्स्कका सैन्य प्रवक्ता आन्द्रेइ मारोच्कोले भनेका छन्, ‘उनीहरु भाग्नसक्ने सबै बाटो हामीले थुनिसकेका छौँ। त्यसैले यो पुरै क्षेत्र हाम्रो नियन्त्रणमा छ। उनीहरुलाई आफ्ना प्रियजनकहाँ फर्किन मन छ भने उनीहरुले सही निर्णय लिनुपर्ने हुन्छ।’
गएको महिना पुरै दोनबास क्षेत्रमा रुसी फौज निरन्तर अघि बढ्दै जाँदा सेभेरोदोनेस्क घेरामा परेको हो। लगभग सिंगै दोनबास र अन्य क्षेत्र पनि रुसी फौजको कब्जामा छ। जसका कारण युक्रेनले आफ्नो औद्योगिक क्षेत्र मात्र होइन, गहुँ उत्पादन गर्ने सबैभन्दा ठूलो क्षेत्र पनि गुमाएको छ। दक्षिणपूर्वी जापोरिजा क्षेत्रको पनि धेरैजसो हिस्सा रुसको कब्जामा छ। प्रशासनिक सहर जापोरिजा र त्यससँगैका कृषि क्षेत्र मात्रै युक्रेनको हातमा छ। दक्षिणपश्चिममा खेर्सन क्षेत्र पनि रुसको पूर्ण नियन्त्रणमा छ।
युक्रेनी फौजले लड्न अस्वीकार गरेको र सामूहिक रुपमा आत्मसमर्पण गर्न थालेका रिपोर्टहरु पहिले रुसी सरकारी टेलिभिजनमा मात्र प्रसारण हुन्थे। अहिले त्यस्ता रिपोर्ट पश्चिमा सञ्चारमाध्यममा पनि देखिन थालेका छन्। मे २४ मा टेलिग्राममा अपलोड भएको एउटा भिडिओमा सेभेरोदोनेस्कमा तैनाथ युक्रेनी सेनाको ११५ औँ ब्रिगेड तेस्रो बटालियनले हतियार र सही नेतृत्वको अभावका कारण आइन्दा लडाइँमा भाग नलिने घोषणा गरेको छ। ‘हामीलाई मृत्युको मुखमा धकेलिँदैछ,’ वासिङ्टन पोस्टका अनुसार एक सैनिक भन्छन्, ‘हामी एक्लै छैनौँ। हामीजस्ता थुप्रै छन्।’
भ्लादिमिर जेलेन्स्कीको सरकारले सैनिकहरुको मनोबल उच्च राख्नकै लागि हालसम्म आफ्नो तर्फ भएको क्षति गुपचुप राखेको छ। बरु, अन्तर्राष्ट्रिय ध्यान रुसले आक्रमणका क्रममा बेहोरेको क्षतिमा केन्द्रित गरिदिन युक्रेन सफल भएको छ। यही साता रुसी रक्षा मन्त्रालयले युक्रेनले आफ्ना सैनिकतर्फको क्षति कम देखाउन ज्यान गुमाएका सैनिकहरुलाई पनि ‘भगौडा’को सूचीमा राखेको आरोप लगाएको छ।
‘युक्रेनी टीभीमा हाम्रो कुनै क्षति देखाइँदैन, यो सत्य होइन,’ दोनबासमा लडाइँबाट थाकेका युक्रेनी सेनाका कम्पनी कमान्डर सेर्गेइ लाप्को वासिङ्टन पोस्टसँग भन्छन्।
तर, किभले होसियारीपूर्वक आफ्नो सेनाको अपराजेय छवि निर्माण गरेको छ। जुन अहिले युद्धमैदानको तीतो यथार्थसँग मेल खान छाडेको छ।
आक्रमणकारी रुसी फौजसँग रसदपानी, सैन्य संख्या र गुणस्तर ज्यादा छ। त्यसबाट उत्साहित भएका उनीहरु अघि बढिरहेका छन् र युक्रेनी सैनिकहरुलाई विभिन्न घेरामा कस्दै छन्। त्यस्तै, युक्रेनको हातमा रहेका सहरहरुमा आपूर्ति व्यवस्थालाई रोक्न उनीहरु सफल भएका छन्। पूर्वी मोर्चामा युक्रेनी सैनिकभन्दा रुसी सैनिक सात गुणा बढी भएको युक्रेनी अधिकारीहरुको दाबी छ।
‘रुसी पक्ष हामीले भन्दा अगाडि आफ्नो जगेडा फौज त्यहाँ उतार्न सफल भएको छ। जसले मोर्चाको अवस्थालाई एकदमै जटिल बनाएको छ,’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार अलेक्सेइ एरेस्टोविचले भनेका छन्।
यसरी युद्धमैदानको यथार्थ युक्रेनको निर्णायक जितको सम्भावनाबाट टाढाटाढा हुँदै जाँदा विभिन्न हस्तीहरुले पश्चिमा नेताहरुलाई रुसमाथिको अधिकतम दबाबको नीति समीक्षा गर्न आग्रह गरेका छन्।
अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले डाभोसमा रुसलाई ‘धुलोपिठो हुनेगरी हराउने’ पश्चिमा अभियानले युरोपेली र विश्वको स्थायित्वमा घातक खतरा उत्पन्न गर्ने चेतावनी दिए।
‘आगामी दुई महिनाभित्रमा संवाद सुरु भइसक्नुपर्छ। अन्याथा यसले उथलपुथल र तनाव ल्याउँछ जसलाई सजिलै हटाउन सकिन्न। यथास्थितिमा फर्किने सहमति भए सबैभन्दा राम्रो,’ किसिन्जरले भने। युक्रेनले क्रिमियामाथि रुसको नियन्त्रण र दोनबासका लुहान्स्क र दोनेस्क पिपुल्स रिपब्लिकलाई स्वीकार्नुपर्ने उनको सुझाव थियो।
किसिन्जरको टिप्पणीको युक्रेनले चर्को आलोचना ग¥यो। युक्रेनले भूमि गुम्ने सर्तमा कुनै पनि शान्ति सम्झौताको सम्भावनालाई पूर्णतः अस्वीकार गर्दै आएको छ।
‘गहिरो अतीतबाट किसिन्जर निक्लिए र युक्रेनको एउटा हिस्सा रुसलाई दिनुपर्छ भने। ताकि रुस युरोपबाट नएक्लियोस्। किसिन्जरको पात्रो २०२२ को होइन, १९३८ को जस्तो देखिन्छ। र, उनका दर्शक डाभोसका होइनन्, त्यतिबेलाको म्युनिखका हुन् जस्तो लाग्छ,’ जेलेन्स्कीले भने।
यो टिप्पणीलगत्तै किसिन्जर ‘युक्रेनका दुश्मन’ को सूचीमा चढेका छन्। एउटा विवादास्पद राष्ट्रवादी वेबसाइट मिरोतवोरेत्सले यस्तो सूची बनाउने गर्छ। सो वेबसाइटले किसिन्जरमाथि ‘रुसी फासीवादी प्रोपागान्डा’ फैल्याएको र ‘युुक्रेनी जनताविरुद्ध रुसी सत्ताधारीहरुले गरेको अपराधको साझेदार बनेको’ आरोप लगाएको छ।
तर, अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन र उसका पश्चिमा सहयोगीहरु युक्रेनलाई दिइरहेको सहयोगलाई निरन्तरता दिने पक्षमा छन्। अमेरिकाले युक्रेनमा ५३ अर्ब डलर लगानी गरिसकेको छ।
‘हामीले पुटिनको हार र युक्रेनको जित सुनिश्चित गर्न आवश्यक छ। ताकि रुसको आक्रमणले फेरि कहिल्यै युरोपको सुरक्षामा खतरा पैदा गर्न नसकोस्,’ बेलायती विदेशमन्त्री लिज ट्रसले बिहीबार भनिन्।
युक्रेन युद्धलाई पश्चिमा नीतिनिर्माताहरुले असल र खराबबीचको संघर्षका रुपमा चित्रित गरेका छन्। यसलाई ‘तानाशाही र निरंकुशताविरुद्धको’ धर्मयुद्ध भन्ने गरिएको छ। जसमा समग्र स्वतन्त्र विश्व युद्धमा निस्केको छ।
‘त्यसैले यो युद्धलाई चाँडै सक्न हामीले आफ्नो सम्पूर्ण स्रोत लगाउनैपर्छ। हाम्रो सभ्यातालाई कायम राख्ने सबैभन्दा उत्तम र सायद एउटै तरिका भनेको जतिसक्दो चाँडो पुटिनलाई हराउनु हो। बटमलाइन यही हो,’ डाभोसमा जर्ज सोरोसले भनेका छन्।
(नेसनल इन्ट्रेस्टबाट)
Shares
प्रतिक्रिया