ad ad

ग्लोबल


मिखाइल गोर्बाचोवलाई किन मूर्ख ठान्थे तेङ स्यायोपिङ?

मिखाइल गोर्बाचोवलाई किन मूर्ख ठान्थे तेङ स्यायोपिङ?

स्ट्यान ग्रान्ट
भदौ १५, २०७९ बुधबार २०:१५, काठमाडौँ

‘हेर्दा यी मान्छे बाठो देखिन सक्छन्, तर वास्तवमा यी मूर्ख हुन्,’ मिखाइल गोर्बाचोवलाई भेटेपछि तेङ स्यायोपिङले भनेका थिए।

हामीले कुरा थाहा पायौँ, किनभने तेङका छोरा तेङ चिफाङले सो कुरा बताएका थिए। सोभियत संघका अन्तिम नेता गोर्बाचोवको मंगलबार निधन भयो।

उतिबेला तेङले गोर्बाचोवलाई नियाले र उनले त्यहाँ असफलता देखे। गोर्बाचोवलाई ती शक्तिहरुले बगाए, जसले सोभियत संघलाई पतनसम्म पुर्यायो। तेङले भने कम्युनिस्ट पार्टी जीवित रहने सुनिश्चित गरे।

आन्तरिक दबाब, बाह्य क्रान्ति र आर्थिक संकटका सामु गोर्बाचोवले हात उठाए र गुप्त तथा बन्द व्यवस्थालाई खोले। तेङले आफ्नो वास्तविक नियत लुकाए र आफ्नो समय बिताए।

आजको हाम्रो संसारको दिशा १९८९ मा तय भएको थियो। त्यो वर्ष बर्लिन पर्खाल ढल्यो र त्यही वर्ष तेङले इतिहासको मार्ग परिवर्तन गर्ने कठोर निर्णय लिए।

यी दुई व्यक्तिको जम्काभेट हुनेवाला थियो।

गोर्बाचोवको चीन भ्रमण
मे १९८९ मा मिखाइल गोर्बाचोवले बेइजिङ भ्रमण गरे। यो ३० वर्षपछि सोभियत नेताले गरेको पहिलो चीन भ्रमण थियो। 

यो भ्रमण दुई कम्युनिस्ट शक्तिहरुबीचको मेलमिलापको एउटा हिस्सा थियो। तर, त्यतिबेला चीनमा आँधी आउने तर्खर गर्दैथियो। 

तेङ र गोर्बाचोवको भ्रमणबारे लसएन्जेल्स टाइम्सले गरेको रिपोर्ट यस्तो थियोः

‘सोमबार र आज भएको वार्तालाई धेरै हदसम्म ग्रेट हलबाहिरको तियान मेन चोकमा विद्यार्थीहरुले गरेको प्रदर्शनले छायामा पारिदिएको छ। आज बिहान पनि तेङ र गोर्बाचोवबीचको बैठक सुरु हुँदै गर्दा करिब ५० हजार मानिस चोकमा भेला भए। र, थप हजारौँ मानिसहरु बेइजिङको केन्द्रतिर बढिरहेका थिए, जहाँ आमरण अनशनको चौथो दिन जारी छ। चीनमा लोकतन्त्र विस्तार गर्ने तरिकाबारे चिनियाँ नेताहरुसँग संवादको माग गर्दै २ हजारभन्दा बढी विद्यार्थी अनशनमा छन्।’

यो देखेर गोर्बाचोव चिन्तित भए। उनले देखे– चीनमा क्रान्ति नजिकिँदैछ। उनको प्रतिनिधिमण्डलका केही सदस्यले सोधे पनि– कतै हामी मरिसकेका नेताहरुसँग सम्बन्ध सामान्यीकरण त गर्दै छैनौँ?

उनीहरुले त्यस्तो सोच्नु स्वाभाविक थियो। युरोपभरको हावामा क्रान्ति उडिरहेको थियो। पोल्यान्ड, हंगेरी र चेकोस्लोभाकियामा लोकतान्त्रिक आन्दोलन चर्किरहेका थिए। रोमानियामा निकोलाइ चाउचेस्कु सत्ताच्यूत हुनेवाला थिए।

चीन भ्रमणको एक वर्षअघि गोर्बाचोवलाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमा अत्यन्त मानसम्मान दिइएको थियो। उनले पुँजीवादको किल्ला घुमेर कोकाकोलाको चिह्नमुनि फोटो खिचाएका थिए।

गोर्बाचोवले संयुक्त राष्ट्रसंघको भाषणमा नयाँ विश्वको कुरा गरे– त्यस्तो विश्व, जहाँ पुराना दुश्मनी र वैचारिक विभाजन त्यागिनुपर्ने उनको तर्क थियो।

‘संसार बदलिएको छ र विश्व राजनीतिमा यी सम्बन्धहरुको प्रकृति, भूमिका र स्थान बदलिएको छ,’ उनले यसो भन्दैगर्दा तालीको गड्गडाहट गुन्जिएको थियो।

गोर्बाचोवभन्दा एक दशकअघि नै तेङ अमेरिका पुगेका थिए। उनले विभिन्न स्थान घुमेका थिए, विली नेल्सनलाई सुनेका थिए र हेनरी किसिन्जरलाई भेटेका थिए।

तेङ राष्ट्रसंघमा हुँदा चीनमा लोकतन्त्रवादी शक्तिहरु एकीकृत हुँदै थिए।

तेङ निर्णायक क्षणको सामना गरिरहेका थिए। महान् क्रान्तिकारी नेता माओ चेतुङ मरिसकेका थिए। माओको फलामे शासनपछि कम्युनिस्ट पार्टीका नेताहरु नयाँ विचारबारे बहस गरिरहेका थिए।

गोर्बाचोवले जसरी व्यवस्था बचाउने प्रयासमा सोही व्यवस्थालाई च्यातचुत पारेनन् तेङले। अमेरिकालाई उसकै खेलमा हराउने अठोट बोकेर उनी अमेरिकाबाट फर्किए।

र उनले भने, ‘हामी पुँजीवादी मुलुकभन्दा तीव्र गतिमा विकसित हुन सकेनौँ भने हामीले हाम्रो व्यवस्थाको सर्वोच्चता देखाउन सक्दैनौँ।’

दोबाटो
तेङले बजार अर्थतन्त्रमाथिको कम्युनिस्ट पकड खुकुलो पार्न थाले, खासगरी ग्रामीण क्षेत्रमा। विशेष आर्थिक क्षेत्रहरु स्थापना गरिए, जहाँ विदेशी लगानीलाई स्वागत गरिन्थ्यो।

मुलुकमा दबाब बढिरहेको थियो। मुद्रास्फिति र असमानताका कारण। तीव्र सुधार र अझ धेरै स्वतन्त्रताको माग भइरहेको थियो।

१९८९ को वर्ष उत्कर्षको विन्दु थियो। गोर्बाचोव इतिहासका लहरहरुमाथि सवार थिए। तेङलाई भने त्यही लहरले निलिदेलाजस्तो देखिन्थ्यो।

तियानमेन चोकका केही प्रदर्शनकारीले गोर्बाचोवलाई नायकका रुपमा स्वागत गरे। 

त्यहाँ दुई बाटा थिए– गोर्बाचोवको राजनीतिक सुधारको एउटा बाटो र तेङको राजनीतिक बलप्रयोगको दोस्रो बाटो।

गोर्बाचोवले चीनले अपनाएको बाटो हिँड्न अस्वीकार गरे। उनले आफ्ना वरिपरिकालाई भने– ‘म हाम्रो लाल चोक तियानमेन चोकजस्तो बनोस् भन्ने चाहन्नँ।’

क्या गज्जबको क्षण थियो त्यो। कम्युनिस्ट आन्दोलनका दुई महाहस्तीहरु एउटै टेबलको वारपार बसेर एकअर्कालाई तौलिरहेका थिए।

गोर्बाचोवलाई लाग्यो, इतिहास उनको साथमा छ। तेङले भने इतिहासलाई आफ्नो इच्छाअनुसार बंग्याउन खोजे। 

अहिले हामीलाई थाहा भइसक्यो, तियानमेनका प्रदर्शनकारीको संहार गर्ने आदेश तेङले नै दिएका थिए।

दुई व्यक्ति, दुई मुलुक
के गोर्बाचोव तेङजत्तिकै निर्दयी हुनुपर्थ्यो? के उनले सोभियत संघलाई बचाउन सक्थे?

गोर्बाचोवका एक सहयोगी जर्जी सेखनाजारोवले भनेका छन्, ‘हाम्रा नेतासँग आफ्नो तियानमेन बनाउने हिम्मत भएन।’

भ्लादिस्लाव जुबोकले आफ्नो पुस्तक ‘कोल्याप्सः द फल अफ द सोभियत युनियन’ मा लेखेझैँ तेङले ‘स्वर्गको आदेश पुनःप्राप्त गर्न कठोर शक्तिलाई प्राथमिकता दिए।’

निस्सन्देह, मात्र दुई व्यक्ति, दुई मुलुकको तुलनाजस्तो सजिलो छैन यो। उनीहरुले अलगअलग दबाबको सामना गरेका थिए। 

चिनियाँ अर्थतन्त्रको कम औद्योगिकीकरण भएको थियो। ग्रामीण क्षेत्रको विकासमा थुप्रो उर्जा लगाउन बाँकी नै थियो।

गोर्बाचोव अनेक खतराको सामना गरिरहेका थिए। जुबोकले १९८९ मा भनेका थिए– गोर्बाचोव र उनका समर्थकहरुसँग ‘नक्सा छैन, तिनको कम्पास पनि भाँचिएको छ।

तेङको विचारमा आर्थिक परिवर्तनभन्दा अगाडि राजनीतिक सुधार गर्न खोज्दा गोर्बाचोब असफल भए। तेङले भनेका थिए, ‘उनले घोडाभन्दा अगाडि गाडी राखे।’

कसले जित्यो, इतिहासले हामीलाई बताइसकेको छ। 

नोभेम्बर १९८९ मा बर्लिन पर्खाल ढल्यो। १९९१ मा लाल चोकमा अन्तिम पटक सोभियत झण्डा तल झारियो।

(एबीसी न्युजबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .