ad ad

ग्लोबल


राजतन्त्र उन्मूलनको वकालत गर्ने ट्रस कसरी बन्दैछिन् बेलायती प्रधानमन्त्री?

राजतन्त्र उन्मूलनको वकालत गर्ने ट्रस कसरी बन्दैछिन् बेलायती प्रधानमन्त्री?

नेपालखबर
भदौ २०, २०७९ सोमबार २१:३२, काठमाडौँ

कन्जरभेटिव पार्टीको नेतृ चुनिएपछि ४७ वर्षीया लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्। उनी को हुन् र कस्तो यात्रा तय गर्दै यो पदमा आइपुगेकी हुन् त?

ट्रस बेलायत युरोपेली संघमै रहनुपर्ने पक्षकी व्यक्ति थिइन्, तर उनी ब्रेक्जिट पक्षधर कन्जरभेटिव पार्टीको दक्षिणपन्थी खेमाकी प्रिय पात्र बन्न पुगिन्।

उनी लिबरल डेमोक्र्याटिक पार्टीकी कार्यकर्ता थिइन्। १९८० को दशकमा मार्गरेट थ्याचरविरुद्धको जुलुसमा सहभागी भएकी थिइन्, तर अहिले उनी आफूलाई थ्याचरको विचारको रक्षक दाबी गर्छिन्।

त्यसैले म्यारी एलिजावेथ ट्रसले लामो राजनीतिक यात्रा तय गरेकी छन् भन्नु अतिशयोक्ति हुन्न।

प्रधानमन्त्री बन्नका लागि उनी आफ्ना पूर्ववर्तीजस्ता परिचित व्यक्तित्व थिइनन्। र, बोरिस जोनसनलाई विस्थापित गर्न सो पार्टीका सांसदहरुको पहिलो रोजाइ पनि थिइनन् उनी।

तर, कर कटौती गर्ने, राज्यको भूमिका घटाउनेजस्ता आधारभूत कन्जरभेटिव मान्यतातर्फ फर्किने उनको बाचाले पार्टी सदस्यहरुलाई लोभ्यायो र तिनले उनको पक्षमा मतदान गरे। र, महत्वपूर्ण कुरा विदेशमन्त्रीका रुपमा अन्तिम समयसम्म उनी जोनसनप्रति बफादार रहिन्, जबसम्म अन्य मन्त्रीले जोनसनको साथ छाडेनन्। त्यसैले जोनसनप्रति बफादारहरुको मत उनले जितिन्।

कन्जरभेटिव पार्टीका सामान्य समर्थकहरु ट्रसमा थ्याचरको जस्तै दृढ र अडिग चरित्र देख्छन्। ट्रसले पनि त्यस्तै छवि निर्माण गर्न चाहेकी छन्। विगतमा राजनीतिक अडान र बफादारी परिवर्तन गर्दै आए पनि उनका साथीहरु र परिवारले उनलाई बारम्बार ‘महत्वाकांक्षी’ भनेर चित्रित गर्ने गरेका छन्।

‘आफूले चाहेको कुरामा उनी उनी निकै हठी छिन्,’ उनका भाइ फ्रान्सिसले २०१७ मा भनेका थिए।

परिवारमा कुनै खेल खेल्दा लिजले जित्नै पर्ने स्वभाव भएको उनले बताएका थिए। 

‘कसरी जित्ने भन्ने विषयमा उनी एउटा विशेष व्यवस्था नै सिर्जना गर्थिन्,’ उनले भनेका छन्।

उनलाई एक लिबरल डेमोक्र्याटहरुको कार्यक्रममा भेटेका समकालीन मारिजियो जुलियानो विद्यार्थी जीवनमा ट्रस अरु विद्यार्थीभन्दा एकदम अलग रहेको बताउँछन्।

‘१८–१९ वर्षका अरु विद्यार्थीको तुलनामा उनी निकै राम्रो पहिरन लगाउँथिन्। उनको चालढाल वयष्कको जस्तो थियो। उनी सशक्त र विचारवान् थिइन् र उनको दृष्टिकोण निकै कडा थियो,’ उनी भन्छन्।

फ्रान्सिसका अनुसार ट्रस परिवारमा गम्भीर राजनीतिक बहस चल्ने गर्थ्यो, जो लिजका तीन भाइमध्ये सबैभन्दा कान्छा हुन्। 

हुर्केपछि उनी कुनै न कुनै तरिकाले राजनीतिमा संलग्न अनुमान त पक्कै गरिएको थियो। तर, उनले गरेको राजनीतिक मार्ग परिवर्तनलाई भने परिवारका कसैले पनि अनुमान गर्न सकेका थिएनन्।

अक्सफोर्डमा १९७५ मा जन्मिएकी ट्रसले आफ्ना गणितका प्राध्यापक बुबा र नर्स आमालाई ‘वामपन्थी’ भनेकी छन्। उनी सानी छँदा आमाले उनलाई आणविक निशस्त्रीकरण अभियानको र्यालीमा लैजान्थिन्। यो संस्थाले अमेरिकी आणविक हतियारलाई बेलायतमा तैनाथ गर्ने थ्याचर सरकारको निर्णय चर्को विरोध गरेको थियो। 

हाल लिड्स निर्वाचन क्षेत्रबाट निर्वाचित ट्रस कन्जरभेटिव हुनुमा गर्व गर्छिन्। तर, उतिबेला उनी स्कटिस लिबरल पार्टीकी सदस्य थिइन्। उनी चार वर्षकी छँदा उनको परिवार ग्लास्गोको पश्चिमपट्टि अवस्थित पेज्लीमा बसाइँ सरेको थियो। 

पछि सो परिवार फेरि लिड्स फर्कियो। जहाँ राउन्डहे नामक सरकारी माध्यामिक विद्यालयमा उनले अध्ययन गरिन्। उनले सो स्कुलमा ‘असफल भएका र कम अपेक्षाका कारण निराश विद्यार्थी देखेको’ बताएकी छन्। 

तर, गार्डियनका पत्रकार मार्टिन पेनगेलीसहित ट्रसका केही समकालीनहरुले उनको दाबीको खण्डन गरेका छन्। पेनगेलीले लेखेका छन्, ‘सायद उनी सानो राजनीतिक फाइदाका लागि आफूलाई हुर्काउने, स्कुल र शिक्षकहरुको बदनामी गर्दैछिन्।’

नाम बताउन नचाहने राउन्डहे स्कुलका तत्कालीन एक विद्यार्थीले भने, ‘यो वास्तवमै राम्रो स्कुल थियो, सहयोगी शिक्षक थिए। हामीमध्ये थुप्रै राम्रा विश्वविद्यालय गयौँ र राम्रो करिअर बनायौँ।’

अक्सफोर्डमा ट्रसले दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्र अध्ययन गरिन्। साथीहरु उनलाई धेरैले मन पराउने विद्यार्थीका रुपमा चिन्छन्।

‘मलाई उनको दृढताको राम्रो सम्झना छ,’ जमसेद देरखानले भने। उनले स्नातकोत्तर गर्दै गर्दा ट्रस स्नातक पढिरहेकी थिइन्। ‘उनी हरेक काम चाँडो गर्थिन्, जहाँ पनि पुग्थिन्,’ उनले भने।

उनी कस्तो प्रधानमन्त्री बन्लिन् भन्ने प्रश्नमा देरखानले भने, ‘मलाई के लाग्छ भने उनी कुनै एक निश्चित विचारमा टाँसिएर बस्ने छैनन्। उनी दिमागमा निकै लचक छिन्, जुन हाम्रो समयका लागि उत्तम हो।’

ट्रस अक्सफोर्डमा छँदा अनेक अभियानहरुमा सक्रिय भइन्। तर, उनले धेरैजसो समय राजनीतिमा लगाइन् र लिबरल डेमोक्र्याट्स पार्टीको युनिभर्सिटी अध्यक्ष भइन्।

पार्टीको १९९४ को सम्मेलनमा उनले राजतन्त्र उन्मूलनको पक्षमा भाषण दिइन्, ‘हामी लिबरल डेमोक्र्याटहरु सबैका लागि समान अवसरमा विश्वास गर्छौँ। शासन जन्मसिद्ध अधिकार हो भन्नेमा हामी विश्वास गर्दैनौँ।’

उनले गाँजा सेवनको अपराधीकरणविरुद्ध पनि अभियान चालइन्। 

‘लिजमा कट्टर उदारवादीको छाप बलियो थियो,’ सो पार्टीमा उनका सहकर्मी आलन रेनिकले २०१७ मा भनेका थिए, ‘हामी नयाँ विद्यार्थीहरुका लागि मेला आयोजनाको तयारी गर्दै थियौँ। त्यहाँ लिजसँग ‘गाँजा खुला गर’ लेखिएको पोस्टरको पोको थियो। पुरै स्टल त्यो पोस्टरले ढाकियोस् भन्ने उनी चाहन्थिन्।’

अक्सफोर्डका अन्तिम दिनहरुमा उनी कन्जरभेटिव पार्टीमा प्रवेश गरेपछि उनका बुबाआमा अचम्मित भएको बताइन्छ। तर, अक्सफोर्डमा लिबरल डेमोक्र्याट रहेका मार्क लिटलवुडका लागि भने यो सामान्य प्रगति मात्र थियो।

‘उनी आफ्नो वयष्क जीवनमा सधैँ बजार उदारवादी रहँदै आएकी छन्,’ खुला बजारलाई समर्थन गर्ने इन्स्टिच्युट अफ इकोनोमिक अफेयर्स नामक थिंकट्यांकका महानिर्देशक लिटलवुड भन्छन्, ‘उनको राजनीतिक करिअरले उनको विचारधारालाई प्रतिबिम्बित गर्छ। उनले जहिले पनि बलियो सरकार र शक्तिशाली संस्थाप्रति सन्देह गर्दै आएकी छन्।’

ट्रसले पार्टी परिवर्तन गर्नु ‘आफू राजनीतिमा कसरी सफल हुने र आफ्नो आकांक्षा पुरा गर्ने उत्तम माध्यम के हो भनेर निर्णय गर्नु मात्र’ भएको लिटलवुडको भनाइ छ।

तर, कन्जरभेटिव पार्टीका सदस्यहरुलाई विश्वस्त तुल्याउने प्रयासमा उनले पुरानो राजनीतिक संलग्नतालाई गल्ती भनेर चर्चा गरेकी थिइन्। इस्टबर्नमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘हामी सबै गल्ती गर्छौँ। किशोरावस्थामा दुस्साहस गर्छौँ। र, मेरो गल्ती त्यही थियो। केही मानिसहरु यौन सम्बन्ध राख्छन्, कोही लागूऔषध र रक एन्ड रोलतिर लाग्छन्। म लिबरल डेमोक्र्याट थिएँ। आई एम सरी!’

‘व्यक्तिगत स्वतन्त्रता, आफ्नो भविष्य आफैँले निर्धारण गर्ने क्षमता’ प्रति प्रतिबद्ध र आफूसँग विचार मिल्ने मानिसहरु भेटेपछि आफू कन्जरभेटिव पार्टीमा लागेको उनको तर्क छ।

अक्सफोर्डबाट निस्केपछि उनले सेल एन्ड केबल एन्ड वायरलेस कम्पनीमा एकाउन्टेन्टका रुपमा काम गरिन्। र, एकाउन्टेन्ट ह्यु ओलिअरीसँग २००० मा विवाह गरिन्। यो जोडीका दुई छोरी छन्।

ट्रस २००१ मा कन्जरभेटिव पार्टीबाट हेम्सवर्थमा उम्मेदवार बनिन्। तर, हारिन्। २००५ मा वेस्ट योर्कसायरकै काल्टर भ्यालीमा पनि पराजित भइन्। तर उनको राजनीतिक महत्वाकांक्षा कमजोर भएन। उनी दक्षिणपूर्वी लन्डनको ग्रिनविचमा २००६ मा काउन्सिलर निर्वाचित भइन्। २००८ देखि उनी रिफर्म नामक थिंक ट्यांकमा काम गर्न थालिन्।

कन्जरभेटिव पार्टीका नेता डेविड क्यामरुनले ट्रसलाई उम्मेदवारहरुको प्राथमिकता सूचीमा राखे। २०१० को आम चुनावमा उनलाई साउथ वेस्ट नर्फोकको सुरक्षित सिटबाट उम्मेदवार बनाइयो।

तर, केही वर्षअघि सो पार्टीका सांसद मार्क फिल्डसँग उनको अफेयर रहेको खुलासा भएपछि उनको चर्को विरोध भयो। तथापि, उनलाई उम्मेदवारबाट हटाउने प्रयास सफल भएन र उनी १३ हजारभन्दा बढी मतले विजयी भइन्।

सो पार्टीका अन्य चार सांसदसँग मिलेर उनले एउटा किताब लेखिन्– ब्रिटानिया अनचेन्ड। सो पुस्तकले विश्वमा बेलायतको हैसियत बढाउन राज्यको नियमन कम गर्नुपर्ने सिफारिस गरेको थियो। जसले उनलाई खुला बजारको बलियो समर्थकका रुपमा चिनायो।

सो पुस्तकमा बेलायती कामदारहरुलाई ‘विश्वकै सबैभन्दा अल्छेमध्येका एक’ भनिएको थियो। त्यसबारे बीबीसीको बहसमा उनलाई सोधिएको थियो। उनले त्यो आफूले नलेखेको बताइन्।

सांसद बनेको दुई वर्षपछि नै २०१२ मा उनी शिक्षामन्त्रीका रुपमा सरकारमा प्रवेश गरिन्। २०१४ मा उनी वातावरणमन्त्री बनिन्।

२०१५ को कन्जरभेटिव पार्टीको सम्मेलनमा उनले एउटा भाषण दिइन्, ‘हामी आफूले खाने चिजको दुई तिहाइ हिस्सा आयात गर्छौँ। यो लज्जास्पद कुरा हो।’ त्यतिबेला सो भाषणको खासै चासो भएन। तर, पछि सामाजिक सञ्जालबाट यो चर्चित भयो, जसलाई धेरैले खिसी गरे।

त्यसको एक वर्ष नबित्दै ब्रेक्जिटमा मतदान भयो। ट्रसले बेलायत ईयूमै रहनुपर्ने भन्दै अभियान चलाइन्। तर, आफ्नो पक्षको हार भएपछि उनले धार बदलिन् र ब्रेक्जिट कामको तौरतरिका बदलने अवसर भएको तर्क गरिन्।

२०१६ मा पहिलो महिला लर्ड चान्सलर तथा न्यायमन्त्री बनेकी ट्रस

टरिसा मे प्रधानमन्त्री हुँदा उनी पहिलो महिला लर्ड चान्सलर तथा न्यायमन्त्री बनिन्। तर, त्यसबेला न्यायपालिकासँग उनको टक्कर परिरह्यो। डेली मेलले न्यायाधीशहरुलाई ‘जनताको दुश्मन’ भनेपछि उनले न्यायाधीहरुको प्रतिरक्षा गरिनन्। पछि उनले न्यायाधीहरुको समर्थनमा वक्तव्य निकालिन् तर प्रधानन्यायाधीशले बेलैमा नबोलेकोमा उनको आलोचना गरे। ११ महिना न्यायमन्त्री रहिसकेपछि उनलाई ट्रेजरीको चिफ सेक्रेटरीमा घटुवा गरियो।

२०१९ मा बोरिस जोनसन प्रधानमन्त्री बनेपछि ट्रस अन्तर्राष्ट्रिय व्यापार मन्त्री बनिन्। २०२१ मा ४६ वर्षको उमेरमा उनी सरकारको सबैभन्दा वरिष्ठमध्येको एक पद विदेशमन्त्री बनिन्। यो पदमा रहँदा उनले इरानमा बन्दी बनाइएका दुई बेलायती नागरिकलाई रिहा गराइन्।

फेब्रुअरीमा जब रुसले युक्रेनमाथि आक्रमण गर्यो, तब उनले कट्टर धार समातिन्। उनले पुटिनका सबै सैनिकलाई युक्रेनबाट लखेट्नुपर्ने बताइन्। तर, युक्रेनका पक्षबाट लड्न चाहने बेलायती नागरिकहरुलाई समर्थन गरेपछि उनको आलोचना भयो।

इस्टोनियामा रहेका बेलायती सैनिकहरुलाई भेट्न जाँदा ट्यांकमा चढेर फोटो खिचाएपछि उनीमाथि थ्याचरको नक्कल गर्न खोजेको आरोप लाग्यो। थ्याचरले १९८६ मा ट्यांकमा चढेर खिचाएको फोटो चर्चित बनेको थियो। त्यतिबेलै पनि ट्रसले प्रधानमन्त्री बन्ने प्रयास थालेको अनुमान गरिए। उनले थ्याचरको जस्तै कपडा लगाएर फोटो खिचाएपछि त यो अनुमान झन् बलियो बन्यो।

तर, उनले यस्ता आलोचनालाई सधैँ खारेज गर्दै आएकी छन्। ‘महिला राजनीतिकर्मीलाई जहिले पनि मार्गरेट थ्याचरसँग दाँजिन्छ। तर, पुरुषहरुलाई कहिल्यै पनि टेड हिथसँग दाँजिदैन, यो निराशाजनक कुरा हो,’ उनले भनेकी छन्।

पार्टी नेतृत्वका लागि अभियान चलाउँदा पनि उनी विवादबाट टाढा रहिनन्। जीविका खर्चसम्बन्धी संकटलाई कसरी झेल्नुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘म दान दिनमा होइन, करको बोझ घटाउन प्रयास गर्नेछु।’

उनले स्कटल्यान्डकी फर्स्ट मिनिस्टर निकोला स्टर्जेनलाई ‘ध्यानाकर्षण गर्न चाहने व्यक्ति’ भन्दै उनलाई बेवास्ता गर्नु उपयुक्त हुने बताइन्। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ ‘मित्र हुन् कि शत्रु’ भन्ने प्रश्नमा उनको जवाफ दियो, ‘निर्णय हुन बाँकी छ।’

जवाफमा म्याक्रोँनले ट्रस चर्चित हुने धन्दामा लागेको बताए।

तर, दलको नेता बन्नका लागि ऋषि सुनकसँग भएको उनको प्रतिस्पर्धामा एउटै मुद्दा हावी थियो– जीविका खर्चको संकट। पद सम्हालेको केही दिनभित्रै यसमा कदम चाल्ने उनको बाचाले नै ट्रसको प्रधानमन्त्रीत्वलाई परिभाषित गर्ने सम्भावना छ भने अर्को आम चुनावमा आफ्नै जनादेश प्राप्त गर्ने अवसर उनले पाउने÷नपाउने टुंगो पनि यसैले लगाउनेछ।

(बीबीसी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .