ad ad

ग्लोबल


सधैँ आमा, पत्नी र छोराहरुको छायामा परेका चार्ल्स ७३ वर्षको उमेरमा बने राजा

डायनालाई धोका दिएको स्वीकारोक्तिपछि जनताको नजरमा गिरेका थिए चार्ल्स
सधैँ आमा, पत्नी र छोराहरुको छायामा परेका चार्ल्स ७३ वर्षको उमेरमा बने राजा

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १३:५, काठमाडौँ

बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएकै बेला राजमुकुट स्वतः उनका छोरा चार्ल्सको शिरमा सर्योे। तर, राज्यारोहणका लागि उनले विभिन्न प्रचलन पुरा गर्नुपर्ने हुन्छ।

उनलाई अब राजा चार्ल्स तृतीय भनेर चिनिनेछ। उनले आफ्ना चार नाम– चार्ल्स फिलिप आर्थर जर्जमध्ये जुनसुकै नाम रोज्न सक्थे। 

शनिबार आधिकारिक रुपमा चार्ल्सलाई राजा घोषित गरिने अपेक्षा गरिएको छ। 

चार्ल्स जिन्दगीभर राजा बन्ने तयारी गरिरहेका थिए। र, ७३ वर्षको उमेरमा उनले त्यो मौका पाएका छन्।

यससँगै बेलायती राजगद्दीमा बस्ने सबैभन्दा पाका व्यक्ति बन्न पुगेका छन् उनी।

चार्ल्स बेलायती राजपरिवारको आधुनिकीकरणका साक्षी हुन्। घरमै शिक्षा नलिएका पहिलो उत्तराधिकारी हुन् उनी। त्यस्तै, विश्वविद्यालयको डिग्री हासिल गर्ने पहिलो राजपरिवार सदस्य पनि उनै हुन्।

चर्चित र लोकप्रिय राजकुमारी डायनासँगको सम्बन्धविच्छेदका कारण चार्ल्स निकै एक्लिए। 

इतिहासकार एड ओवेन्स चार्ल्स आफ्नी आमाजति लोकप्रिय नभएकाले अब आफ्नो छवि निर्माणका लागि उनले निकै होसियारी अपनाउनुपर्ने बताउँछन्।

के चार्ल्सले आफ्नी आमाजत्तिकै माया प्रजाबाट पाउलान्? यो प्रश्नले उनलाई जीवनभर पछ्याइरहेको छ।

हक्की बुबाका उनी लजालु छोरा थिए। आफ्ना सार्वजनिक विचारप्रति कहिलेकाहीँ आफैँ विश्वस्त नभएको उनको भनाइ थियो। उनकी आमाले आफ्नो दृष्टिकोणबारे सार्वजनिक रुपमा चर्चा गर्न अस्वीकार गरेकी थिइन्। त्यसविपरीत चार्ल्सले जलवायु परिवर्तन, हरित उर्जा र वैकल्पिक चिकित्साजस्ता विषयमा भाषण दिने, लेख लेख्ने काम गरे।

चार्ल्सको गद्दी आरोहणले बेलायतको मूलतः संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई बढावा दिने सम्भावना छ। यसलाई कतिपयले राष्ट्रिय एकताको प्रतीक मान्छन् भने अरु सामन्तवादको थोत्रो अवशेष ठान्छन्।

‘राजा र राजपरिवारले राजनीतिक विचार राख्नु हुँदैन। उनले राजनीतिक गतिविधि गर्दा धेरै ध्यान दिनुपर्छ। अन्याथा उनलाई असंवैधानिक ठानिने सम्भावना हुन्छ,’ द फ्यामिली फर्म : मोनार्की, मास मिडिया एन्ड द ब्रिटिस पब्लिक, १९३२–५३ पुस्तकका लेखक ओवेन्स भन्छन्।

यूके र अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्डलगायत अन्य १४ राज्यको राज्य प्रमुख बनेका चार्ल्सले भने आफ्ना गतिविधिको प्रतिरक्षा गरेका छन्।

चार्ल्सले शाही सदस्यहरुको संख्या घटाउने, खर्च कटौती गर्ने र आधुनिक बेलायतको प्रतिनिधित्व गर्ने मनसाय व्यक्त गरेका छन्।

तर, उनका लागि परम्परा पनि उत्तिकै महत्वपूर्ण छ। दरबार र पोलो खेलमा जीवन गुजारेका चार्ल्स दैनिक जीवनको यथार्थसँग परिचित नभएको भन्दै उनको आलोचना हुने गरेको छ।

तर, ती सबै कुराभन्दा डायनासँगको घरबार भताभुंग भएका कारणले कतै उनी गद्दीका लागि अयोग्य त छैनन् भन्ने अनेक प्रश्न उठे। उनको उमेर बढ्दै जाँदा उनका दुई सुन्दर छोराहरुले सबैको ध्यान आकृष्ट गरे र उनी छायामा परे।

प्रिन्स चार्ल्स : द प्यासन्स एन्ड प्याराडक्सेस अफ एन इम्प्रोब्याबल लाइफ पुस्तककी लेखक स्याली बेडेल स्मिथ चार्ल्स निरन्तर रुपमा परिवारका अन्य सदस्यको छायामा पर्ने गरेको बताउँछिन्।

‘मलाई लाग्छ, गद्दीका लागि .प्रतीक्षा गर्नुपरेका कारण उनलाई निराशा छैन। बरु उनको मुख्य निराशा के हो भने उनले यति धेरै गरे, तैपनि उनलाई गलत तरिकाले बुझिएको छ। उनी एक किसिमले दुई संसारका बीचमा चेपिएका छन्। एक, उनकी आमा र डायनाको संसार। उनकी आमा सबैबाट पुजिएकी, सबैको माया पाएकी र डायना जसको भूतले चार्ल्सलाई अझै पछ्याइरहेको छ। दोस्रो, उनका साह्रै आकर्षक र ठाँटिला छोराहरुको संसार।’

डायनालाई धोका दिएकोमा चार्ल्सलाई माफी दिन थुप्रै बेलायतीलाई वर्षौं लाग्यो। उनले त्यो आफैँले स्वीकारेका पनि थिए। ‘जनताकी राजकुमारी’ डायनाले १९९७ मा पेरिसमा कार दुर्घटनामा ज्यान गुमाइन्। तर, २००५ मा चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेपछि जनआक्रोश मत्थर भयो।

चार्ल्स र डायनाबीचको सम्बन्ध बिगार्न क्यामिलाको ठूलो भूमिका भए पनि उनको आफैँलाई होच्याउने शैली र मजाकिया तरिकाले थुप्रै बेलायतीहरुको मन जित्यो।

चार्ल्स सार्वजनिक समारोहहरुमा उपस्थिति हुँदा क्यामिलाले उनलाई हँसाएर सहज र खुसी देखिन सघाइन्। गत फेब्रुअरीमा रानी एलिजावेथले सार्वजनिक रुपमै छोरा चार्ल्स राजगद्दीमा बसेपछि क्यामिला ‘सहचारी’ (राजा वा रानीको पत्नी वा पतिलाई जनाउने औपचारिक शब्द) बनेको हेर्न चाहेको उनले बताइन्। 

चार्ल्स १४ नोभेम्बर १९४८ मा बकिङ्घम प्यालेसमा जन्मेका हुन्। उनकी आमा १९५२ मा गद्दी चढेपछि तीन वर्षीय राजकुमार ड्युक अफ कर्नवाल बने। २० वर्षको उमेरमा उनी प्रिन्स अफ वेल्स भए।

उनको स्कुले जीवन सुखद थिए। उनका बुबा फिलिप पढेकै स्कटिस बोर्डिङ स्कुुल गोर्डन्सटाउनमा उनी भर्ना भएका थिएँ। जहाँ सहपाठीहरुले उनलाई खुब सताउँथे।

पछि चार्ल्सले क्याम्ब्रिज युनिभर्सिटीको ट्रिनिटी कलेजमा इतिहास पढे र १९७० मा विश्वविद्यालयको डिग्री हासिल गर्ने बेलायती राजपरिवारको पहिलो सदस्य बने।

त्यसपछिको ७ वर्ष उनले सेनामा गुजारे। पहिले वायु सेनाको पाइलटको तालिम लिए, त्यसपछि नौसेनामा गएर हेलिकोप्टर चलाउन सिके। १९७६ मा उनले सैन्य करिअर अन्त्य गरे।

क्यामिलासँग चार्ल्सको सम्बन्ध उनी नौसेनामा जानुअघि नै सुरु भइसकेको थियो। तर, उनीहरुबीचको रोमान्स टिक्न सकेन र क्यामिलाले एक सैन्य अफिसरसँग विवाह गरिन्।

चार्ल्सले १९७७ मा लेडी डायना स्पेन्सरलाई भेटे। त्यतिबेला डायना १६ वर्षकी मात्र थिइन् र चार्ल्स उनकै दिदीसँग डेटिङ गरिरहेका थिए। १९८० सम्म डायनाले उनलाई फेरि भेटिनन्। तर, डायनालाई चार्ल्स र राजपरिवारसँग समय बिताउन निम्त्याइएपछि उनीहरुबीच ‘इन्गेजमेन्ट’ भएको हल्ला चल्यो।

र, १९८१ मा इन्गेजमेन्टको घोषणा पनि भयो। तर, उनीहरुको सम्बन्धमा बेमेल र अनौठोपन भएको तत्कालै देखियो। एक टेलिभिजन अन्तर्वार्तामा पत्रकारले उनीहरुलाई सोधे, ‘तपाईंहरु प्रेममा हुनुहुन्थ्यो?’ ‘निस्सन्देह,’ डायनाले जवाफ दिइन्। लगत्तै चार्ल्सले थपे, ‘भलै प्रेममा हुनुको अर्थ जेसुकै होस्’।

चार्ल्सको जवाफ सुनेर डायना हाँसिन् तर पछि उनले चार्ल्सको टिप्पणीबाट आफू पुरै छक्क र दुःखी भएको बताइन्।

उनीहरुले २९ जुलाई १९८१ मा विवाह गरे, जुन विश्वभरको टेलिभिजनमा प्रसारण भयो। अर्को वर्ष राजकुमार विलियम जन्मिए भने १९८४ मा राजकुमार ह्यारी जन्मिए।

उनीहरुबीचको यो परीकथा चाँडै खोक्रो साबित भयो। १९९४ मा एक टीभी अन्तर्वार्तामा चार्ल्सले डायनालाई छलेर अवैध सम्बन्ध राखेको स्वीकार गरे। डायनाले पनि एक अन्तर्वार्तामा भनिन्, ‘यो विवाहमा हामी तीन जना संलग्न थियौँ।’ उनले क्यामिलातर्फ संकेत गरेकी थिइन्।

यो खुलासाले चार्ल्सको छवि धुमिलियो। जबकि थुप्रै डायनाको शैली र एड्सका बिरामी तथा विद्युतीय धरापका पीडितप्रति उनको च्यारिटीको प्रशंसक थिए।

विलियम र ह्यारी बीचमा चेपिए। उनीहरु आफ्नी आमा डायना अत्यधिक प्रशंसा गरे भने चार्ल्स पनि असल बुबा भएको बताए।

शाही परिवारभित्र तनाव जारी छ। ह्यारी र मेगनले २०२० मा दरबार छाडेर अमेरिका सर्ने निर्णय लिँदा सो तनाव छताछुल्ल भयो। 

उनीहरुले पछि एक अन्तर्वार्तामा राजपरिवारको एक सदस्यले यो दम्पतीबाट जन्मिने सन्तानको छालाको रङ कस्तो होला भनेर चिन्ता व्यक्त गरेको खुलासा गरे। यो विस्फोटक खुलासाका कारण विलियमले राजपरिवार नश्लवादी नभएको भन्दै सार्वजनिक घोषणा नै गर्नुपर्यो।

रानी एलिजावेथ अशक्त हुँदै गएपछि चार्ल्सले उनको ठाउँ लिँदै गए। ९ अप्रिल २०२१ मा रानीका पति राजकुमार फिलिपको निधन भएपछि यो प्रक्रिया अझ तीव्र बनाइयो।

गत मे १० का दिन रानीको संवैधानिक जिम्मेवारीमध्ये सबैभन्दा महत्वपूर्ण मानिने संसद् अधिवेशन सुरुवातको अध्यक्षता गर्ने जिम्मा पनि चार्ल्सलाई नै दिइन्। 

क्यामिलाले २०१८ मै राजा बन्ने सम्भावनाबारे चार्ल्स सहज रहेको बताएकी थिइन्।

‘मलाई लाग्छ, उहाँको दिन आउनेछ। त्यो दिन आउँछ भन्ने उहाँलाई थाहा छ। त्यसैले त्यसले उहाँको काँधमा ठूलो बोझ थप्छ भन्ने मलाई लाग्दैन,’ उनले भनेकी थिइन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .