जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ। यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रति घण्टा हावाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ। यस क्षेत्रका केही भागमा चार सय मिलिमिटर वर्षा हुने अनुमान गरिएको मौसम विज्ञान एजेन्सीले बताएको छ।
यस आँधीको कारण मङ्गलबार होन्सुको ठूलो भूभागमा भारी वर्षा हुने र बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान गरेको एजेन्सीले जनाएको छ। जापानको मौसम विज्ञान एजेन्सीले टोकियो र छेउछाउको कानागावा प्रान्तका लागि बाढी आउन सक्ने चेतावनी जारी गरेको छ।
यद्यपि क्युशुको ठूलो भाग र उत्तरपूर्वी प्रान्तहरू बाढीको चेतावनीमा थिए। लगातारको वर्षाका कारण सम्भावित पहिरो र बाढीको जोखिम उच्च रहेका जापान टाइम्सले जनाएको छ। रासस/एएनआई
Shares
प्रतिक्रिया