ad ad

ग्लोबल


वाङ यीको चेतावनी : अमेरिकाको चाला नबदलिए चीनसँग झडप अवश्यंभावी छ

वाङ यीको चेतावनी : अमेरिकाको चाला नबदलिए चीनसँग झडप अवश्यंभावी छ

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १६:२९, काठमाडौँ

अमेरिकाले चीनसँग गर्ने व्यवहार नबदलिए दुई मुलुकबीचको झडप अवश्यंभावी रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले चेतावनी दिएका छन्।

बिहीबार न्युयोर्कमा एसिया सोसाइटीको कार्यक्रममा चीन–अमेरिका सम्बन्धबारे बोल्दै वाङले यी दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धमा ताइवान सबैभन्दा ठूलो जोखिम बनेको बताए। उनले चीनमा कुनै पनि पश्चिमा व्यवस्था लाद्ने कोसिस निरर्थक भएको पनि स्पष्ट पारे।

राष्ट्रपति सी चिनफिङ र उनका समकक्षी जो बाइडेनले आपसी सम्बन्धलाई सही मार्गमा ल्याउने बताए पनि १९७९ यता चीन–अमेरिका सम्बन्ध सबैभन्दा कठिन विन्दु पुगेको उनको भनाइ थियो।

‘अमेरिकाको व्यवहार दुईथरीको देखिन्छ। उनीहरुको नेताले व्यक्त गरेको स्थिर द्विपक्षीय सम्बन्ध कायम गर्ने राजनीतिक इच्छा उनीहरुको नीतिमा अभिव्यक्त भएको छैन,’ वाङले भने।

अमेरिकाले चीनलाई प्रमुख प्रतिद्वन्द्वी घोषणा गरेको, चीनलाई घेर्न क्षेत्रीय शक्तिहरुसँग गठबन्धन बनाएको, चिनियाँ कम्पनीहरुलाई प्रतिबन्ध लगाएको, ताइवानसँग सम्बन्ध विस्तार गरेकोजस्ता उदाहरण वाङले दिए।

‘यदि अमेरिकाले चीन–अमेरिका सम्बन्धलाई हारजितको मानसिकताका साथ हेरेर आफ्नो चीन नीतिलाई गलत दिशामा डोर्याइरहन्छ भने ऊ आफ्नो समस्या समाधानमा मात्र असफल हुने छैन, बरु त्यसले दुई मुलुकबीचको सम्बन्धलाई पनि द्वन्द्व र झडपसम्म ल्याइपुर्याउँछ,’ उनले भने।

‘अमेरिकाले चीनको प्रमुख हित र विकासको अधिकारका विषयमा निरन्तर चीनलाई उक्साइरहेको छ। अर्कोतिर, सम्बन्ध स्थिर पार्न र द्वन्द्वबाट बच्न पनि आह्वान गरिरहेको छ। यो तर्क र यथार्थ दुवैमा विरोधाभाषपूर्ण छ,’ उनले थपे।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार ताइवानमाथि आक्रमण भए त्यसको रक्षा अमेरिकी सेनाले गर्ने बताएका थिए। तर, सो टापु आफूहरुको अधिकार क्षेत्रमा पर्ने जिकिर वाङले गरे।

‘ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धको सबैभन्दा ठूलो जोखिम बनेको छ। यसलाई गलत तरिकाले सम्हाल्न खोजियो भने यसले द्विपक्षीय सम्बन्धलाई समाप्त पार्नेछ,’ वाङले भने, ‘जसरी अमेरिकाले हवाइ टापुलाई टुक्रिएर जान दिँदैन, त्यसैगरी चीनसँग पनि आफ्नो मुलुकको एकता कायम राख्ने अधिकार छ।’

‘अमेरिकासँग अर्थतन्त्र र व्यापारको क्षेत्रमा प्रतिस्पर्धा छ भन्ने कुरालाई चीन अस्वीकार गर्दैन। र, चीन प्रतिस्पर्धाबाट डराउँदैन पनि। तर, प्रतिस्पर्धाका आधारमा मात्र द्विपक्षीय सम्बन्धलाई परिभाषित गर्ने कुरा हामी अस्वीकार गर्छौँ,’ उनले थपे, ‘न चीनले न अमेरिकाले नै एकअर्कालाई हराउन सक्छन्।’ एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .