रुसले सोमबार युक्रेनका मुख्य–मुख्य सहरमा दर्जनौँ क्षेप्यास्त्र आक्रमण गरेको छ।
बीबीसीका अनुसार सोमबार बिहानैदेखि रुसले कम्तीमा ७५ वटा क्षेप्यास्त्र आक्रमण गरेको हो।
युक्रेनका सेना प्रमुख जनरल भ्यालेरी जालुझिनीले एकाबिहानैदेखि उक्त संख्यामा क्षेप्यास्त्र प्रहार भएको बताएका छन्।
उनले ट्विट गर्दै तीमध्ये ४१ वटा क्षेप्यास्त्र युक्रेनको हवाइ प्रतिरक्षामार्फत निष्प्रभावी तुल्याइएको दाबी गरेका छन्।
राजधानी सहर किभ, निप्रो, जापोरिझिया, खर्किभ, तेर्नपिल, लिभिभमा क्षेप्यास्त्र आक्रमण गरिएको छ।
किभमा भएको आक्रमणमा कम्तीमा ८ जना नागरिक मारिएको र २४ जना घाइते भएको युक्रेनका गृहमन्त्रीले बताएका छन्। महत्वपूर्ण भौतिक पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको किभका मेयरले बताएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि निप्रो, जापोरिझियालगायतमा रुसले क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।
त्यस्तै खर्किभका मेयरले सहरमा रुसले ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र हानेको बताएका छन्। यसले विद्युत् आपूर्ति बन्द भएको छ भने पानीको पनि समस्या देखिएको छ।
त्यसैगरी तेर्नपिल र लिभिभमा पनि क्षेप्यास्त्र आक्रमणबाट विद्युत् आपूर्ति बन्द भएको छ।
यता समी, झिटोमिर, खेमेल्नित्स्की र किरोभोरादमा पनि ठूला विस्फोटन सुनिएका छन्।
रुसले पछिल्लो आक्रमणबारे केही बताइसकेको छैन। कतिवटा मिसाइल आक्रमण भएको भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया