ad ad

ग्लोबल


पाकिस्तानमा राजनीतिक संकट, १९७० को इतिहास दोहोरिने चेतावनी

पाकिस्तानमा राजनीतिक संकट, १९७० को इतिहास दोहोरिने चेतावनी

पाकिस्तान बढ्दो राजनीतिक संकटबीच भइरहेको प्रदर्शन। तस्बिर : एजेन्सी


नेपालखबर
चैत २, २०७९ बिहिबार १३:४५, काठमाडौँ

मंगलबार पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई दोस्रोपटक पक्राउ गर्न प्रहरी उनको घरमा पुग्यो। खानलाई गैर जमानती वारेन्टसहित पक्राउ गर्न लाहोरको जमान पार्क इलाकामा पुगेपछि उनका समर्थकहरू जम्मा भए र खानलाई जोगाउन सुरक्षाकर्मीमाथि आक्रमण गरे।

समर्थक र सुरक्षाबलबीच बारम्बार झडप भयो, खान पक्राउ पर्नबाट जोगिए। खानले आफूलाई पक्राउ अपहरण गरेर हत्या गर्ने षड्यन्त्र गरी पक्राउ गर्न लागेको अभिव्यक्ति दिएका थिए।

गत अप्रिलमा सत्ताच्यूत गरिएका खानमाथि राज्यलाई प्राप्त उपहार बेचेको आरोप छ। जसलाई उनले अस्वीकार गरेका छन्। अदालतले उनलाई पक्राउ गरी पेश गर्न आदेश जारी गरेको छ। त्यहाँको जिल्ला र सत्र अदालतले सुनुवाइमा उपस्थित हुन बारम्बार चेतावनी दिए पनि खानले बेवास्ता गरेपछि उनीविरुद्ध पक्राउ वारेन्ट जारी भएको थियो।

यता खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले गिरफ्तारी रोक्न माग गर्दै लाहोर उच्च अदालतमा रिट दायर गरेको छ। पार्टीले गिरफ्तारका लागि जारी भएको वारेन्ट खारेज गर्न माग गरेको थियो तर अदालतले त्यसलाई खारेज गरिदियो।

तर अदालतले बिहीबार बिहान १० बजेसम्म खानलाई पक्राउ नगर्न भनेको थियो। अदालतले मंगलबार खानका समर्थकसँग भएको झडपमा पुगेको सार्वजनिक सम्पत्तिको क्षति र प्रहरीमाथि भएको आक्रमणको भिडिओ पेश गर्न भनेको छ। हिंसामा संलग्नलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने चेतावनी पनि अदालतले दिएको छ।

खानको गिरफ्तारी रोक्न पुगेका समर्थकमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। भीडले दमकलसहित अन्य सवारीसाधनमा आगजानी र तोडफोड गरेका थिए। सोमबार र मंगलबार जमान पार्क क्षेत्र तनावपूर्ण बनेको थियो।

पछिल्ला दुई दिनमा भएका घटनाक्रमले देखाउँछ, पाकिस्तानमा राजनीतिक संकट देखिएको छ। विश्लेषक हसन अस्करी रिजवीले पाकिस्तानको पछिल्लो घटनाक्रम हेर्दा मुलुक कुन दिशातर्फ जान्छ भन्न नसकिने बताएका छन्।

'पाकिस्तानको अर्थतन्त्र नाजुक अवस्थामा छ छ, राजनीतिको हालत पनि नाजुक छ, कानून व्यवस्थाको अवस्था पनि उस्तै छ,'  उनले भनेका छन्, 'यतिबेला एउटै कुराले मात्रै अनुमान गर्न सकिन्छ कि आगामी दिनमा यो संकट बढ्नेछ। जति गहिरो हुँदै जान्छ, उति अराजकता हुन्छ, उति नै अशान्ति हुन्छ।'

यो तनाब विश्व मुद्रा कोष (आईएमएफ)मा प्रवेश गरेपछि माहोल अझै बिग्रिएर थप तनाव बढ्ने उनको विश्लेषण छ। जसले राजनीतिक ताप अभूतपूर्व हुने उनी बताउँछन्।

पूर्वप्रधानमन्त्री खान तत्काल पक्राउ परेमा चुना सर्नसक्ने सम्भावना रहेको उनले लेखेका छन्। नैतिक र कानूनी रूपमा खान आफैँ अदालतमा प्रवेश गर्नुपर्ने तर त्यो त्यति सहज नदेखिएको उनले बताएका छन्। तर खानको गरफ्तारीलाई अहिलेको अवस्थामा राजनीतिबाट किनारकृत गर्नै नसकिने विश्वास उनको छ।

'प्रहरी पनि पूर्णतया राजनीतिक छ, पाकिस्तानमा यस्ता घटनामा गिरफ्तार गर्ने चलन छैन, त्यसमाथि खानले १८ मार्चमा आफै अदालतमा हाजिर हुने वाचा गरिरहेको बेला यो नाटक जरूरी थिएन,' उनले भनेका छन्, 'यो सबै राजनीति हो, अस्थिर राजनीति।'

बीबीसीलाई दिएको अन्तर्वार्तामा इमरान खानले जमान पार्कलाई युद्धभूमि बनाउनुपछाडि पाकिस्तानी सुरक्षा प्रतिष्ठान (सेना)को हात रहेको दाबी गरेका छन्। उनले सुरक्षा निकायको सहयोगबिना जमान पार्क सञ्चालन हुन नसक्ने बताए ।

राजनीतिक टिप्पणीकार रसूल बख्श रईस जमान पार्कमा भएको झडप इमरान खानलाई पाकिस्तानको राजनीतिबाट हटाउन र उनको पार्टीलाई ध्वस्त पार्न चलेको अभियान बताउँछन्।

वर्षौँदेखि चलेको त्यही अभियानको चरम परिणामका कारण पाकिस्तान यस अवस्थामा पुगेको उनको भनाइ छ।

'अहिले पाकिस्तानी सेना र सबै राजनीतिक दल एकातर्फ उभिएका छन् भने इमरान खान र जनता एकातर्फ,' उनको दाबी छ, 'तर अहिले भइरहेको घटनाबाट इमरान खानलाई सबै हिसाबले फाइदा हुनेछ, अर्को पक्षलाई घाटा मात्रै हुनेछ।'

सन् १९७० मा राजनीतिक दलहरूले मार्शल ल प्रशासक जनरल जिया उल हकले प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई सत्ताबाट हटाएर फाँसी दिएको थियो। भुट्टो शासनकालमा पाकिस्तानका नयाँ उद्योग, स्वास्थ्यसेवा र शैक्षिक संस्थाहरूको अधिकांश राष्ट्रियकरणले आर्थिक कठिनाइको सामना गरेको थियो।

बलुचिस्तानमा प्रान्तीय सामन्त सरकारहरू भङ्ग गरेसँग देशमा अशान्ति मच्चिएको थियो र भुट्टोले सन् १९७३ मा त्यस प्रदेशमा सेना परिचालन गर्न आदेश दिएमा थिए, जसले गर्दा हजारौँ नागरिकको ज्यान गएको थियो। उक्त कठिन अवस्थाका बावजुद, भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले १९७७ मा, संसदीय चुनावमा जित हासिल गरेको थियो।

सोही वर्ष ५ जुलाईमा भुट्टोलाई राष्ट्रपति हटाउँदै उनका सेनापति जिया-उल-हकले सैनिक विद्रोह गरी अपदस्थ गरिएका भुट्टोलाई पाकिस्तानको सर्वोच्च अदालतमा विवादास्पद मुद्दा चलाएर मृत्युदण्ड दिन लगाएका थिए। जसको विश्वव्यापी रूपमा त्यसको चौतर्फी विरोध भएको थियो।

अहिलेको स्थिति हेर्दा पाकिस्तानमा सोही इतिहास दोहोरिन सक्ने बक्शको विश्लेषण छ।

पाकिस्तानको राजनीतिक इतिहासमा यो एउटा निर्णायक क्षण हो। यसले देशको भावी राजनीति र यसमा सेनाको भूमिका पनि तय गर्नेछ।

डा हसन रिजवी पनि यसमा सहमत छन्। यस्तो अवस्थामा सेनाले सरकारलाई संयमता अपनाउन भन्न सक्छ तर त्यसो नगरेको उनको भनाइ छ।

उनी भन्छन्, 'स्पष्ट रूपमा गैरपक्षीयताको यो मनोवृत्ति सरकारको लागि मात्र खुला समर्थन हो।' 

केही विश्लेषकहरूले खानले अदालतमा उपस्थित नभई स्थितिलाई अस्थिर बनाएको विश्वास गर्छन्। 

यद्यपि, पाकिस्तानका वरिष्ठ समाचार एङ्कर हमिद मिरले इमरान खानका भावुक समर्थक र तेहरिक-ए-इन्साफ पाकिस्तानका नेताहरूको समूहले इमरानको गिरफ्तारीमा अवरोध खडा गरिरहेको विश्वास गर्छन्।

उनीहरू इस्लामावाद पुलिसलाई विश्वास नगर्ने र कानून तोडिरहेको बुझाइ उनीहरूको छ। यसअघि खानका सहकर्मी शाहबाज गिललाई इस्लामावादमा खानको घरमा आयोजित समारोहबाट पक्राउ गरिएको थियो।

पाकिस्तानी गुप्तचर निकायतर्फ संकेत उनले गरेका छन्। पीटीआईका केही वरिष्ठ स्रोतलाई उद्धृत गर्दै हामिद मिरले पार्टीका धेरै नेता खानलाई अदालतमा हाजिर हुन राजी भएको दाबी गर्छन्। तर खान र पार्टीका कट्टर समर्थकले आफूलाई प्रहरीको जिम्मा लगाउन नहुने बताइरहेका छन्।

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पूर्वप्रधानमन्त्री खानलाई पाठ सिकाउने भन्दै खुला धम्की दिइरहेका छन् । यसले पनि खानका समर्थकहरूलाई आक्रोशित भइरहेको विश्वास हमिदको विश्वास छ।

धेरै विश्लेषकहरू विश्वास गर्छन् कि अदालतले खानलाई तोशाखाना मुद्दामा धेरै पटक उपस्थित हुनबाट छुट दिएको छ। यदि खान अहिले रिहा भएमा यसले भविष्यका लागि खतरनाक उदाहरण खडा गर्नेछ ।

विश्लेषक ब्यारिस्टर मुनीब फारुक भन्छन्, 'यसले एउटा उदाहरण स्थापित गर्न सक्छ कि यदि कुनै नेताले जनसमर्थन पाएको छ भने उनी अदालतको वारेन्टको बाबजुद पनि आफ्ना समर्थकहरूलाई उभिन सक्छन् र आफू झुक्ने छैन र देशलाई असहाय साबित गर्नेछन्।'

खानले अदालतको आदेशको अवज्ञा गरेका कारण अहिलेको अवस्था सिर्जना भएको उनी बताउँछन्।

उनी भन्छन्, 'खानसँग जे भइरहेको छ, त्यो अदालतको आदेशको अवज्ञाका कारण हो। गैरजमानती वारेन्टको सिद्धान्त स्पष्ट छ। जब न्यायाधीशले अभियुक्तलाई अदालतमा खोज्छ, उनी आफैं पक्राउ गर्न जाँदैनन्, राज्यको शक्ति प्रयोग गर्छन्। प्रहरी आफ्नो कानुनी दायित्व पूरा गर्न गए र आफ्नो काम गर्नबाट रोकियो भने राज्य आफ्नो पूरै शक्तिका साथ उभिन सक्छ र आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्न सक्छ।'

मुनीब पाकिस्तानका लागि यो निर्णायक क्षण पनि भएको बताउँछन्। 'इमरान खान अहिले देशका सबैभन्दा लोकप्रिय नेता हुन् भन्नेमा दुविधा छैन, उहाँको पार्टी जनताको सबैभन्दा नजिक छ, तर के यसले उहाँलाई कानुनभन्दा माथि बनाउछ? खानले अदालतमा हाजिर कहिले हुने भन्ने जानकारी दिनुपर्ने उनले बताएका छन्। भन्छन्, 'खान यदि मिडिया र प्रहरीको अगाडि देखिएको भए उनका समर्थकसँग झगडा गर्ने प्रहरी नै उनीहरूको सुरक्षमा लाग्ने थियो, विडम्बना त्यसो हुन सकेन।'

यता पीटीआईले प्रहरीले आफ्ना समर्थकहरूलाई आक्रमण गरेको दाबी गरेको छ।

तर पाकिस्तानका सूचना मन्त्री मरियम औरंगजेब भने खानले अराजकता फैलाएको र देशलाई गृहयुद्धतर्फ धकेलिरहेको आरोप लगाएकी छन्।

सूचना मन्त्री मरियमले भनेकी छन्, 'पुलिससँग गोली थिएन, उनीहरूमाथि इमरान खानका समर्थकहरूको समूहले आक्रमण गरेको थियो। पीटीआईले महिला र बालबालिकालाई मानव तरबारका रूपमा प्रयोग गरिरहेका छन्।'

उनले लाहोरस्थित खानको घरबाहिर भएको झडपमा ६५ प्रहरी घाइते भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा भने खानको पक्ष र विपक्षमा मतभेद भइरहेका छन्। खानका समर्थकहरूले प्रहरी कारवाहीको आलोचना गर्दै उनका भिडियो र तस्बिरहरू सेयर गरिरहेका थिए।

राष्ट्रपति आरिफ अल्वीले ट्विटरमा लाहोरको घटना प्रतिशोधको राजनीति भएको बताएका छन्। यसबाट सरकारको प्राथमिकता के हो भन्ने प्रष्ट भएको बताउँदै उनले अहिलेको समयमा जनतालाई आर्थिक राहत दिने काम सरकारले गर्नुपर्ने उल्लेख गरेका छन्। उनले खानको सुरक्षा र सम्मानबारे समेत चिन्ता व्यक्त गर्दै यो अवस्थालाई न्यायपालिकाका लागि परीक्षाको समय भएको बताएका छन्।

सेलिब्रेटीहरू पनि यस विषयमा विस्तारै मुख खोलिरहेका छन्। अभिनेत्री आतिका ओढोले इन्स्टाग्राममा खानको स्वास्थ्यको लागि प्रार्थना गरिरहेकी छन्।

उनले लेखेकी छन्, 'इमरान खान, जसले हाम्रो देशको बन्धन तोड्ने प्रयास गरे आज उनैमाथि यस्तो व्यवहार भइरहेको छ। यस्तो व्यवहार कसैलाई गर्नुहुँदैन।'

अदनान सिद्दिकीले ट्वीटरमा खानको समर्थनमा पाकिस्तानका सबै जनता जाग्ने बताएका छन्।

तर पीटीआईका विपक्षी दलहरूले पीटीआई समर्थकहरूको आलोचना गरिरहेका छन्। उनीहरूलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम शरीफलाई जेल पठाइएको स्मरण गर्न भनिरहेका छन्। उक्त घटना न्यायीक नभएको दाबी गर्दै उनीहरूले खानले सत्तामा हुँदा शक्तिको दुरुपयोग गरेको बताएका छन्।

-बीबीसीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .