ad ad

ग्लोबल


चिनियाँ राष्ट्रपति रूसमा, जापानी प्रधानमन्त्री युक्रेनमा : एसियाली राजनीतिमा के असर पर्ला ?

चिनियाँ राष्ट्रपति रूसमा, जापानी प्रधानमन्त्री युक्रेनमा : एसियाली राजनीतिमा के असर पर्ला ?

शाइमा ख़लील
चैत ८, २०७९ बुधबार १३:३२, काठमाडौँ

रूस-युक्रेन युद्धका बाछिटा एसियामा कसरी तप्किरहेका छन् ? र कसरी एसियमा भूराजनीतिक उथलपुथल हुँदैछ। यो बुझ्न यतिबेला चीनका राष्ट्रपति सी चिनपिङ र जापानका प्रधानमन्त्री फुमियो किशिदाको विदेश भ्रमणलाई हेरे धेरैकुरा थाहा हुन्छ।

यी दुई नेता कूटनीतिक विदेश भ्रमणमा छन् र युद्धको ठीक विपरीत ध्रुवमा छन्। यी दुई देश एकअर्कालाई क्षेत्रीय प्रतिद्वन्द्वीका रूपमा हेर्ने गर्छन्।

चीनका राष्ट्रपति सी मस्को भ्रमणमा पुगेकै बेला जापानका प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको राजधानी किभ पुगेका छन्। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटमा किशिदाले युक्रेनलाई सहयोग गर्ने आश्वासन दिए। उनले रूसको आक्रमणबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मानवीय राहत पनि प्रदान गर्ने विश्वास दिलाए।

रूसी राष्ट्रपति पुटिनले सीलाई आफ्नो नजिकको मित्र र सहयोगी बताउँदै आएका छन्। चीनले युद्धमा आफू तटस्थ रहेको दाबी गर्दै आए पनि  रूसतर्फ झुकाव देखिन्छ।

मंगलबार पुटिनसँगको भेटमा सीले द्विदेशीय सम्बन्धलाई प्राथमिकता दिने बताएका छन्। रूस-चीन नजिकका छिमेकी भएको पनि उनले बताएका छन्। 

सीको मस्को भ्रमणका पछिल्ला घटनाहरू हेर्दा, किशिदाको समानान्तर यात्रा आफैमा महत्त्वपूर्ण भन्न सकिन्छ। यसकारण पनि कि जापानी प्रधानमन्त्री अघोषित विदेश भ्रमणमा जानु विरलै दृश्य हो, दोस्रो विश्वयुद्धपछि जापानी नेता युद्धग्रस्त मुलुक पुगेको यो पहिलो पटक हो।

किशिदा मंगलबार युक्रेन नपुगेसम्म उनको भ्रमण गोप्य राखिएको थियो। सुरक्षाका कारणले यस्तो गरिएको अधिकारीहरुले बताएका छन्। प्रधानमन्त्री किशिदाले युक्रेनका जनताको धैर्यता र साहसप्रति सम्मान व्यक्त गर्दै आफ्नो देशको सुरक्षाका लागि निस्वार्थ समर्थन गर्ने जनाएको जापानको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ।

विज्ञप्तिमा रूसले गरेको युक्रेन हमलाको आलोचना किशिदाले गरेको पनि उल्लेख छ।

प्रधानमन्त्री किशिदालाई सत्तारुढ लेबर डेमोक्याट्रिक पार्टीले युद्धग्रस्त देश युक्रेन भ्रमण गर्न दबाब दिएको थियो। यसअघि जी-७ का ६ देशले युक्रेनको भ्रमण गरिसकेकोमा जापान मात्रै युक्रेन भ्रमण गर्न बाँकी देश थियो। त्यसैले पनि आगामी मेमा हिरोसिमामा हुने जी-७ सम्मेलनअघि युक्रेन भ्रमणको दबाब प्रधानमन्त्री किशिदालाई थियो।

गत साता दक्षिण कोरियाका राष्ट्रपति युन सुक यओलीले जापान भ्रमणमा थिए। जापान र दक्षिण कोरियाका नेताबीच एक दशक लामो समयपछि द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त भेटमा किशिदाले कूटनीतिक सफलता हासिल पनि गरेका थिए। दक्षिण कोरियासँगको सम्बन्ध सुधार गर्दै गुप्तचर आदान प्रदानको सहमति पनि भएको थियो। यसले उत्तर कोरियाविरुद्धको जापानको प्रतिवद्धतामा अमेरिकाको पनि साथ रहेको देखिन्थ्यो।

जसकारण उनको यो युक्रेन भ्रमणलाई अमेरिकाले पनि स्वागत गर्नेमा शंका छैन।

यता सीको रूस भ्रमणको उद्देश्य विश्वस्तरमा चीनको प्रभाव बढाउनु रहेको देखिन्छ।

भूराजनीतिक उथपलपुथलको यो समयमा  दुई देश कुन कित्तामा छन् भन्ने स्पष्ट हुन्छ।

तर किशिदाको यो भ्रमण जापानका लागि कम चुनौतीपूर्ण पनि होइन, विशेषगरी चीनसँगको सम्बन्ध सन्तुलित बनाइ राख्नका लागि। गत महिना मात्रै टोकियोमा द्विदेशीय सुरक्षा वार्ता भएको थियो।

द्विदेशीय भेटमा जापानले रुसी सेनासँग चीनको सम्बन्ध र शंकास्पद जासुसी बेलुनको प्रयोगबारे गुनासो गरेको थियो। चीनले जापानको सेनालाई बलियो बनाउनेमा आफू चिन्तित रहेको बताएको थियो।

चीन र जापान विश्वका दोस्रो र तेस्रो ठूला अर्थतन्त्र हुन्, यही कारणले पनि तिक्ततापूर्ण सम्बन्धका बाबजुद वार्ताको बाटो खुला छ।

-बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .