ग्लोबल


पाकिस्तानमा २ सय सिटको नतिजा आउँदा इमरान समर्थक ९५ स्थानमा विजयी

पाकिस्तानमा २ सय सिटको नतिजा आउँदा इमरान समर्थक ९५ स्थानमा विजयी

नेपालखबर
माघ २६, २०८० शुक्रबार २३:२९, काठमाडौँ

पाकिस्तानमा नेशनल एसेम्बलीर प्रान्तीय चुनावका लागि बिहीबार भएको निर्वाचन परिणामबाट इमरान खानलाई जनमत मिलेको छ।

सुरूवाती रूझानमा जेलमा रहेका इमरान खान समर्थक निर्दलीय उम्मेदवारहरूले अग्रता बनाएका थिए। 

जुन अहिले पनि कायम छ। २ सय सिटको नतिजा आउँदा इमरान नेतृत्वको पाकिस्तान तेहरिक इन्साफ पार्टी समर्थक ९५ उम्मेदवार विजयी भएका छन्।

सेना, अदालत र निर्वाचन आयोगले इमरानमाथि अनेक प्रतिबन्ध र जेल सजायसमेत दिए पनि जनताले उनैको एजेन्डालाई स्वीकार गरेका छन्। 

पाकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टीलाई फराकिलो अन्तरमा पछि पारेको पीटीआईले सरकार बनाउने विषयमा शनिबार छलफल थाल्ने भएको छ।

नवाज शरिफ र भाइ शहवाज शरिफको पकडमा रहेको पाकिस्तान मुस्लिम लिगले ६४ र पूर्वराष्ट्रपति असिफ अली जर्दारी र बेनजिर भुट्टोका छोरा बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले हालसम्म ५९ सिट जितेको छ।

इमराननिकट नेता असद कैसरले उनको पार्टी केन्द्रसँगै पञ्जाब प्रान्तर खैबर पख्तूनख्वामा सरकार बनाउनेबारे विचार गरिरहेको बताए।

यसबारे ठोस निर्णय शनिबार लिइने उनलेे बताएका छन्।  कैसरले पार्टीको आन्तरिक निर्वाचनबारे पनि छलफल हुने बताए। अहिले जेलमा रहेका इमरानलाई निर्वाचनको सबै विवरण दिने काम भइरहेको उनलेे बताए।

उता चुनावी परिणाम आइरहँदा देशका केही स्थानमा सेनाले कमान्डो उतारेको छ।

‘जियो लाइभ’ का अनुसार सेनाले निर्वाचन आयोगका कार्यालयसहित अहम स्थानहरूमा कमान्डो उतारेको हो। सेना उतार्नुको कारण चुनावी परिणामका क्रममा हुने सम्भावित हिंसा रोक्नका लागि हो।

यसैबीच स्वातको शांगलामा शुक्रबार गोली चल्दा कम्तीमा चारजनाको ज्यान गएको पीटीआईले दाबी गरेको छ। यो घटनामा अरू १० जना घाइते छन्। 

स्वातमा पीटीआई समर्थक निर्वाचनको नतिजा स्वीकार्ने पक्षमा छैनन्। यहाँ प्रदर्शन चर्किएको छ। यसैबीच गोलीबारीमा पीटीआईका एक कार्यकर्ताको ज्यान गएको छ। उता पीटीआईले भने चारजनाको मृत्यु भएको दाबी गरेको छ।

पाकिस्तानको नेशनल एसेम्बलीमा जम्मा ३३६ सिट छन्। यिनमध्ये २६५ सिटमा चुनाव भएको हो। बाँकी ७० मध्ये ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .