ग्लोबल


‘क्वाड’ सुस्ताएपछि चीनलाई टक्कर दिन अमेरिकाले बनायो ‘स्क्वाड’

‘क्वाड’ सुस्ताएपछि चीनलाई टक्कर दिन अमेरिकाले बनायो ‘स्क्वाड’

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १८:४,

चीनलाई टक्कर दिन इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकाले अर्को सुरक्षा समूह बनाएको छ। जसमा अमेरिका, अस्ट्रेलिया, जापान र फिलिपिन्स छन्। 

यो समूहलाई अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरुले ‘स्क्वाड’ नाम दिएको ब्लुमबर्गले उल्लेख गरेको छ।

गत बिहीबार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले ती मुलुकका समकक्षीसँग हवाइमा वार्ता गरेका थिए।

यो चार देशीय समूह चीनको प्रभाव विस्तार हुन नदिन अमेरिकाले बनाएको अनेकौँ समूहमध्ये सबैभन्दा पछिल्लो हो। यसअघि अमेरिका, अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वाड सक्रिय छ। त्यस्तै अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच अकस गठन गरी रक्षा सम्झौता गरिएको छ।

‘हामी यहाँ जम्मा भएका छौँ किनकि इन्डो–प्यासिफिकमा शान्ति, स्थायित्व र निरोधका विषयमा हाम्रो साझा दृष्टिकोण छ,’ अस्टिनले अन्य तीन समकक्षीसँगै पत्रकार सम्मेलनमा भने।

स्क्वाडका रक्षामन्त्रीहरुबीच पहिलो पटक जुन २०२३ मा सिंगापुरमा भएको सांग्रिला डायलगको साइडलाइनमा वार्ता भएको थियो।

अप्रिलमा यी चार मुलुकले फिलिपिन्समा संयुक्त सैन्य अभ्यास गरेका थिए। पछिल्लो समय फिलिपिन्स र चीनबीच दक्षिण चीन सागरमा तनाव बढ्दै गएको छ।

चार मुलुकबीच थप समुद्री सैन्य अभ्यास हुने अस्टिनले बताए।

अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएअनुसार अमेरिकाले एसियामा ज्यादती र आक्रमकतालाई रोक्न यस्तो समूह बनाएको हो।

अमेरिकाले नयाँ सुरक्षा समूह अघि सारिरहँदा भारत समेत सम्मिलित क्वाडमा भने सुस्ती देखिएको छ। युक्रेनमा रुसको आक्रमणमा तटस्थ बस्ने भारतीय निर्णयबाट पश्चिमा मुलुकहरु सशंकित छन्। भारतीय कूटनीतिज्ञहरुले पश्चिमा आरोपहरुको चर्को जवाफ पनि दिँदै आएका छन्।

त्यसमाथि भारतभन्दा विपरीत फिलिपिन्ससँग अमेरिकाको आपसी रक्षा सन्धि नै छ। मार्कोस जुनियरको प्रशासनले फिलिपिन्समा अमेरिकी सैन्य अखडाको संख्या पनि बढाउने सहमति दिएको छ।

यसले चीनसँगको टक्करमा फिलिपिन्सलाई अझ बलियो बनाउने विश्लेषण गरिएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .