ad ad

ग्लोबल


पुटिन र किमको दोस्ती सी चिनफिङलाई मन नपरेको हो?

चीनलाई नाघेर सहकार्य गर्न सक्दैनन् रुस र उत्तर कोरिया
पुटिन र किमको दोस्ती सी चिनफिङलाई मन नपरेको हो?

नेपालखबर
असार ६, २०८१ बिहिबार १३:३६,

बिहान ३ बजे विमानबाट ओर्लिनेबित्तिकै स्वागतमा अंकमाल, सैनिकहरुले दिएको सलामी, प्योङयाङको केन्द्रमा भ्लादिमिर पुटिन र किम जोङ उनका ठुल्ठूला तस्बिर– यो सबै पश्चिमलाई तर्साउन गरिएको थियो।

सन् २००० यता पुटिनको पहिलो प्योङयाङ भ्रमण रुस र उत्तर कोरियाका लागि आफ्नो मित्रता प्रदर्शन गर्ने मौका थियो। र, उनीहरुले मित्रता प्रदर्शन गरे पनि। किमले युक्रेनमा रुसी आक्रमणलाई पूर्ण समर्थन दिए।

उनीहरुको भेट र यी शब्दमा सोल, टोकियो, वासिङ्टन र ब्रसेल्सले ठूलो खतरा देख्नेछन्। तर, तथ्य के हो भने यी दुई नेतालाई एकअर्काको आवश्यकता महसुस भएको छ। पुटिनलाई युद्ध जारी राख्न गोलीगठ्ठाको आवश्यकता छ भने उत्तर कोरियालाई पैसाको।

तर, सो क्षेत्रमा वास्तविक शक्ति प्योङयाङमा छैन। पुटिन र किम चीनको ढोकैमा दोस्ती जमाउँदैछन्। र, उनीहरु चीन रिसाउने हो कि भनेर चिन्तित छन्। जुन यी दुवै नाकाबन्दी खेपिरहेका मुलुकका लागि व्यापार र प्रभावको प्रमुख स्रोत हो।

पुटिनले किमलाई ‘बलियो साथी’ भने पनि उनलाई थाहा हुनुपर्छ, यो मित्रताका सीमा छन्। र, त्यो सीमा हुन् चिनियाँ राष्ट्रपति सी चिनफिङ।

चिन्तित बेइजिङ
आफ्ना दुई सहयोगी मुलुकबीचको बढ्दो गठबन्धन सीलाई मन परेको छैन। यसका केही संकेत देखिन्छन्। मे महिनामा बेइजिङमा राष्ट्रपति सीसँगको भेटपछि लगत्तै उत्तर कोरिया नजान चीनले पुटिनलाई आग्रह गरेको खबर छ। उत्तर कोरियाले भ्रमणका क्रममा गरेका गतिविधि चिनियाँ अधिकारीहरुलाई मन नपरेको देखिन्छ।

सीले यसअघिदेखि नै अमेरिका र युरोपबाट दबाब खेपिरहेका छन्। मस्कोलाई ती सामग्री नबेच्न उनीमाथि दबाब छ, जसले युक्रेन युद्ध चर्काउन सहयोग पुगिरहेको छ।

उनी ती चेतावनीलाई बेवास्ता गर्न सक्दैनन्। जसरी विश्वलाई चिनियाँ बजारको आवश्यकता छ, उसैगरी बेइजिङलाई पनि विदेशी पर्यटक र लगानी आवश्यक छ।

चीनले अहिले थाइल्यान्ड, अस्ट्रेलियासहित अनेकौँ युरोपेली मुलुकका यात्रीलाई भिसाबिनै यात्राको सुविधा दिइरहेको छ। र एकपटक फेरि उसले आफ्ना पाण्डा विदेशी चिडियाखानामा पठाउन थालेको छ।

चीनका महत्वाकांक्षी नेताका लागि अरुले आफूलाई कसरी हेर्दैछन् भन्ने कुरा महत्वपूर्ण हुन्छ। किनकि उनी विश्वमञ्चमा आफ्नो भूमिका बढाउन र अमेरिकालाई चुनौती दिन चाहन्छन्। उनी एक्लिन वा पश्चिमबाट थप दबाब झेल्न चाहँदैनन्। सँगसँगै उनी मस्कोसँगको सम्बन्धलाई पनि व्यवस्थापन गरिरहेका छन्।

सीले युक्रेन आक्रमणको भर्त्सना गरेका छैनन्। तर, उनले अहिलेसम्म रुसलाई खासै ठूलो सैन्य सहयोग पनि दिएका छैनन्। मेमा भएको भेटमा पुटिनले भरपूर प्रशंसा गर्दा पनि उनले होसियारीपूर्वक अभिव्यक्ति दिएका थिए।

अहिलेसम्म चीनले किमको आणविक हतियार विकास गर्ने प्रयासलाई राजनीतिक आड दिँदै आएको छ। अमेरिकाले राष्ट्रसंघमा थप नाकाबन्दी लगाउन खोज्दा चीनले रोक्दै आएको छ।

तर, किम अति शक्तिशाली भएको हेर्न चाहँदैनन् सी। उत्तर कोरियाको हतियार परीक्षणका कारण जापान र दक्षिण कोरियाले आफ्नो तिक्ततापूर्ण इतिहास बिर्सेर अमेरिकासँग रक्षा सम्झौता गरेका छन्। र, जब तनाव चुलिन्छ, तब थप अमेरिकी युद्धपोत प्रशान्त महासागरमा आइपुग्छ। जसले ‘पूर्वीएसियाली नेटो’ को त्रास सीमा उत्पन्न हुन्छ।

बेइजिङको अस्वीकृतिका कारण रुसले उत्तर कोरियालाई थप प्रविधि नबेच्न सक्छ। यसमा अमेरिकाको पनि ठूलो चासो छ।

‘रुसले ठूलो मात्रामा उत्तर कोरियालाई सैन्यप्रविधि हस्तान्तरण गर्ला भन्ने मलाई लाग्दैन,’ एनके न्युजका निर्देशक आन्द्रेइ लांकोव भन्छन्।

त्यसो गरे रुसले भविष्यका लागि समस्या खडा गर्ने उनको भनाइ छ।

उत्तर कोरियाली गोलाबारुदले युद्धमा सहयोग पुगे पनि पुटिनले क्षेप्यास्त्र प्रविधि दिनु बुद्धिमानी नहुने महसुस गरेका हुनसक्छन्। किनकि त्यसले चीनलाई क्रुद्ध तुल्याउनेछ। 

प्योङयाङलाई त चीनको आवश्यकता अझ धेरै छ। किमले भ्रमण गर्ने रुसपछिको अर्को मुलुक भनेकै चीन मात्र हो। उत्तर कोरियाको एक चौथाइभन्दा ज्यादा तेल रुसबाट आउँछ तर ८० प्रतिशतभन्दा बढी व्यापार चीनसँग छ। 

छोटकरीमा भन्दा पुटिन र किमले जति निकट देखिन खोजे पनि आपसमा भन्दा चीनसँग उनीहरुको सम्बन्ध ज्यादा महत्वपूर्ण छ।

गुमाउन नसकिने साथी 
‘साम्राज्यवादी पश्चिम’सँग लड्ने वाचा उनीहरुले गरेका छन्। तथापि, यो युद्धकालीन साझेदारी हो। यो विकसित हुनसक्छ। तर, गठबन्धनमा स्तरोन्नति भए पनि उनीहरुको यो सम्बन्ध  लेनदेनजस्तो देखिन्छ। 

सुन्दा प्रभावशाली लाग्ने बृहत् रणनीतिक साझेदारी उनीहरुले गरेका छन्। तर, यो सम्झौताले उत्तर कोरियाले हतियार आपूर्ति गरिराख्ने ग्यारेन्टी गरेको छैन।

किम आफैलाई पनि हतियारको खाँचो छ। त्यसमाथि विश्लेषकहरुका अनुसार रुस र उत्तर कोरियाले अलगअलग हतियार प्रणाली प्रयोग गर्छन्।

अझ महत्वपूर्ण कुरा, रुस र उत्तर कोरियाले दशकौँसम्म आपसी सम्बन्धलाई प्राथमिकता दिएनन्। पश्चिमसँग मेलजोल भएका बेला पुटिनले उत्तर कोरियालाई दुई पटक नाकाबन्दी लगाए। अमेरिका, चीन, दक्षिण कोरिया र जापानसँग मिलेर आणविक हतियार कार्यक्रम त्याग्न पनि उनले जोड गरे।

२०१८ मा किम जोङ उन कूटनीतिक भेटघाटहरुमा सक्रिय हुँदा उनले पुटिनसँग एकपटक मात्र भेटे। उनले तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई तीन पटक भेटे। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीनपटक भेट्नुअघि ‘प्रेमपत्र’ आदानप्रदान गरे। केही समयअघि आफैँले ‘जीर्ण’ भनेका व्यक्ति उनका लागि ‘खास’ भए। त्यसबेला उनले सीसँग पनि तीन पटक भेटेका थिए। जो उनले भेट गरेको पहिलो विदेशी नेता थिए। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .