खुसीले मक्ख परेका तन्नेरीहरू पौडी पोखरीमा पानी छ्यापाछ्याप गरिरहेका थिए। कोही जिउमा साबुन दलिरहेका थिए। भीड जयजयकार गरिरहेको थियो। मानिसहरू भव्य हलमा नाचिरहेका थिए।
१३ जुलाई २०२२ को दृश्य थियो यो। जब भीड राष्ट्रपति भवनभित्र पस्यो, तब श्रीलंकाली राष्ट्रपति गोताबाय राजापाक्षे देश छाडेर भाग्न बाध्य भए।
भीडका लागि त्यो विजयको क्षण थियो।
हुन पनि श्रीलंकाभरिका लाखौँ मानिसले कर्फ्यु उल्लंघन गरेका थिए, अश्रुग्यास र पानीको फोहोरा खाएर पनि शान्तिपूर्वक राष्ट्रपति भवन आइपुगेका थिए।
राजापाक्षेले कयौँ हप्तासम्म राजीनामाको माग सुन्दै सुनेनन्। बरु, जनतालाई शान्त पार्न उनका दाजु प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए।
महिनौँको प्रदर्शनको उत्कर्ष जुलाईमा देखियो। र, राष्ट्रपति राजापाक्षे देश छाडेर भाग्नुपर्यो। त्यो भन्दा केही महिनाअघि मात्र पनि यस्तो होला भनेर सोच्न सकिने स्थिति थिएन।
किनकि, कयौँ वर्षदेखि महिन्दाको नेतृत्वमा राजापाक्षे परिवारले श्रीलंकाको राजनीतिमा बलियो पकड राखेको थियो।
आफ्नो पहिलो कार्यकालमा महिन्दाले तमिल टाइगरहरूको विद्रोह अन्त्य गरेका थिए, रक्तपातपूर्ण युद्धमा। सो विजयले उनलाई बहुसंख्यक सिंहलीमाझ ‘संरक्षक’का रूपमा प्रस्तुत हुने मौका दियो। उनका सबैभन्दा खरो समर्थकहरूले उनलाई सम्राट मान्न थाले।
उनी जतिजति शक्तिशाली बन्दै गए, उनको परिवार त्यतित्यति बलियो हुँदै गयो। उनले भाइ गोताबायलाई रक्षासचिव नियुक्त गरे। जुन पदमा गोताबाय कठोरतापूर्वक प्रस्तुत भएको विश्लेषकहरूको भनाइ छ। उनका अन्य दुई भाइ बेसिल र चमाल पनि अर्थमन्त्री र सभामुख बने।
बहुसंख्यक सिंहालीहरू यो परिवारप्रति आकर्षित भए। सोहीकारण भ्रष्टाचार, आर्थिक कुशासन, मानवअधिकार उल्लंघन र विपक्षीमाथि दमनजस्ता आरोप लाग्दा पनि सो परिवार वर्षौंसम्म सत्तामा टिकिरह्यो।
तर, २०२२ मा सबथोक बदलियो। शृंखलाबद्ध नीतिगत असफलताले मुलुकलाई सबैभन्दा खराब आर्थिक संकटमा धकेलिदियो।
महिन्दा पहिलोपटक राष्ट्रपति बनेको १७ वर्षपछि भीडले राजापाक्षे परिवारको पतनको खुसियाली मनायो। उनीहरू ढुक्क थिए, यो परिवार समाप्त भयो।
तर, के त्यो राजापाक्षे परिवारको अन्त्य थियो त?
एकैपटक दुई वर्षपछिको स्थिति हेरौँ। महिन्दाका छोरा नमाल २१ सेप्टेम्बरमा हुने राष्ट्रपतिको चुनावमा उठेका छन्।
‘त्यत्रो आन्दोलनले लखेटेका मान्छेहरू चुनाव लड्दैछन्। यो निकै नराम्रो कुरा हो,’ आन्दोलनमा सहभागी विद्यार्थी लक्षण सन्दरुवान भन्छन्, ‘त्यसभन्दा पनि खराब कुरा, अझै केहीले सो परिवारलाई मत दिन्छन् होला।’
नमाल मात्र राजनीतिमा फर्केका होइनन्। प्रदर्शनकारीले लखेटेका गोताबाय आफैँ पनि धेरै समय बाहिर बसेनन्।
लखेटिएको ५० दिनपछि उनी फर्किए, सिंगापुर अनि थाइल्यान्ड हुँदै। फर्केपछि उनलाई पूर्वराष्ट्रपतिको हैसियत दिइयो। भव्य घर र सुरक्षा। जसको खर्च सरकारले बेहोर्यो।
राजापाक्षेको बाँकी दुई कार्यकालका लागि विपक्षी नेता रनिल विक्रमासिंगेलाई राष्ट्रपति नियुक्त गरियो। संसदमा दुई तिहाइ बहुमत रहेको राजापाक्षे परिवारको पार्टी एसएलपीपीले विक्रमासिंगेलाई समर्थन दियो। राष्ट्रपति हुनुअघि ६ पटक प्रधानमन्त्री भइसकेका उनी आफ्नो पार्टीका एक मात्र सांसद थिए। किनकि उनको पार्टीले २०२० को चुनाव लज्जास्पद हार बेहोरेको थियो।
उनी राष्ट्रपति भएको केही घण्टामै प्रदर्शनकारीहरूलाई लखेट्न सेना परिचालन गरियो। त्यसपछिका महिनाहरूमा राष्ट्रपति भवनमा उत्पात गर्ने व्यक्तिहरूलाई छानीछानी जेल हालियो।
‘रनिलले राजापाक्षे परिवारलाई जनआक्रोशबाट बचाए। राजापाक्षेकै पार्टीको नेतृत्वमा रहेको संसद्, क्याबिनेट र सरकारले निरन्तरता पाउने सुनिश्चितता गरे। तर, भ्रष्टाचार रोक्न उनले केही गरेनन्। अझ राजापाक्षे परिवारका सदस्यविरुद्ध हुने अनुसन्धानलाई समेत दबाउने काम गरे,’ राजनीतिशास्त्री जयदेव उयानगोदा भन्छन्, ‘युद्धमा मानवअधिकार उल्लंघनका लागि जिम्मेवार ठहर्याउने अन्तर्राष्ट्रिय दबाबबाट पनि उनीहरूलाई बचाए।’
यसका कारण थुप्रै श्रीलंकाली क्रुद्ध छन्। जीवनयापनको खर्च धान्न नसकेका उनीहरू अर्थतन्त्र ब्युँताउने भन्दै सुरु गरिएका कार्यक्रमबाट अझ पिल्सिएका छन्।
अहिले लोडसेडिङ नभए पनि महँगीले आकाश छोएको छ। सरकारले अत्यावश्यक सेवामा रहेको अनुदान र कल्याणकारी रकम पनि कटौती गरेको छ। विक्रमासिंगेले कर भने बढाएका छन्।
देशको आर्थिक स्थिरताका लागि यी पीडादायी उपाय आवश्यक रहेको केही अर्थशास्त्रीको मत छ। मुलुकको वैदेशिक मुद्रा सञ्चिति २ करोडबाट बढेर ६ अर्ब डलर पुगेको छ। मुद्रास्फिति ०.५ प्रतिशत छ। तर, दसौँ लाख श्रीलंकालीहरूमाथि संकटको प्रभाव विनाशकारी देखिन्छ।
एक अध्ययनअनुसार २०२३ मा ३० लाखभन्दा बढी मानिस गरिबीको रेखामुनि धकेलिए। र, गरिबको संख्या ७० लाख नाघेको छ। यी परिवार भोकमरीसँग जुधिरहेका छन्। जसले बालबच्चालाई स्कुलबाट समेत निकालिरहेका छन्।
राजापाक्षेहरूले दोष अस्वीकार गरेका छन्। तर, २०२३ मा सर्वोच्च अदालतले २०१९ देखि २०२२ सम्ममा भएको आर्थिक कुप्रबन्धनका लागि उनीहरूलाई प्रत्यक्ष जिम्मेवार ठहर गरेको छ। जसले सो संकट जन्माएको थियो।
‘विकास परियोजनाको नाममा आर्थिक ठगी भयो। यसका लागि राजापाक्षेहरू सिधै जिम्मेवार छन्,’ विद्यार्थी निमेशा हंसिनी भन्छिन्, ‘तर, उनीहरूका लागि केही पनि बदलिएन। उनीहरूको राजनीतिक शक्ति घट्यो मात्रै।’
‘उनीहरूलाई मैले भन्ने कुरा केही छैन,’ राजापाक्षे परिवारको गढ हम्बनटोटाकी कृषक रश्मि भन्छिन्, ‘हामीले उनीहरूका कारण दुःख भोगिरहेका छौँ। पहिले हामीले मत दिएका थियौँ। तर, अब त्यस्तो गल्ती कहिल्यै गर्दैनौँ।’
नमाल यस्तै मतदाताको मन बदल्न चाहन्छन्। आफ्नो आधारक्षेत्रमा फेरि पकड कायम गर्न चाहन्छन्।
उनको चुनावी अभियान बुवा महिन्दाको विरासतमा केन्द्रित छ। युद्ध अपराधमा मुद्दा चलाउनुपर्ने मागका बीच कतिपय उनलाई अझै नायक मान्छन्। राष्ट्रसंघका अनुसार लडाइँको अन्तिम चरणमा ४० हजार तमिल सर्वसाधारणसहित १ लाखभन्दा बढी मानिस मारिएका थिए।
नमालको चुनावी अभियानमा महिन्दाका तस्बिर जहीँतहीँ देखिन्छन्। सामाजिक सञ्जालमा पनि बाबुछोराका तस्बिर देखिन्छ। उनले बाबुजस्तै देखिन जुँगा उमारेका छन्, रातो गलबन्दी बाँधेका छन्।
सामाजिक सञ्जालमा पनि उनी उस्तैरूपमा प्रस्तुत हुन्छन्।
‘हामी चुनौतीसँग डराउँदैनौँ। बरु त्यसलाई स्वागत गर्छौं। मैले बुवाबाट सिकेको कुरा यही हो,’ उनी लेख्छन्।
‘मलाई लाग्छ, नमालको सोच गलत छैन। बुवाको विरासतलाई प्रतिनिधित्व गर्दा नै उनको मताधार जोगिन्छ र उनलाई फाइदा गर्छ भन्ने उनलाई लाग्छ,’ प्राध्यापक उयानगोदा भन्छन्।
तर, कयौँ मतदाता यसलाई स्वीकार गर्दैनन्। सर्वेक्षणहरूमा पनि नमाल जितको दाबेदार देखिँदैनन्।
‘म नमाल राजापाक्षेलाई कहिल्यै मत दिन्नँ। हामीले भोगेको दुःख त्यो परिवारमाथिको श्राप हो,’ बबुनिया नामक गाउँका बासिन्दा एचएम सेपालिकाले भने।
हम्बनटोटामा पसलमा काम गर्ने निशान्ति हरपतियाले भनिन्, ‘देशका जनता एक भएर संघर्ष गरे किनकि उनीहरू राजापाक्षेलाई सत्तामा देख्न चाहँदैनथे। तर, उनीहरूलाई सत्ताको लोभ यतिधेरै रहेछ, उनीहरू आएर भोट माग्दैछन्।’
अरु केहीले नमाललाई गम्भीरतापूर्वक नलिने बताए।
‘किन माग्नुपर्यो उनले भोट? उनी त बच्चा हुन्। केही अनुभव छैन। कसले दिन्छ, उनलाई भोट?’ पूर्वी भेगको कथानकुडीका एक व्यापारी मोहम्मद हलादिनले भने।
अहिले मुख्यगरी तीनजना उम्मेदवारमा मतदाताको नजर टिकेको छ। विपक्षी नेता सजिथ प्रेमदासा, वामपन्थी गठबन्धनका अनुरा कुमारा दिसानायके र स्वतन्त्र उम्मेदवार विक्रमासिंगे।
तर, नमालको खेल लामो हुनसक्छ। पछिल्ला चुनावहरूले देखाएका छन्, कुनैबेला अलोकप्रिय भएका शासकका सन्तान सत्तामा फर्किन सक्छन्। उदाहरणका लागि फिलिपिन्सका बङबङ मार्कोस र इन्डोनेसियाका प्रबोओ सुबियान्तोलाई लिन सकिन्छ।
‘उनी राजनीतिकरूपले प्रासंगिक रहन चाहन्छन्। आफ्नो पार्टीको मताधार जोगाउन र २०२९ सम्म राजनीतिकरूपले सक्रिय रहन चाहन्छन्,’ प्राध्यापक उयानगोदा भन्छन्।
प्रदर्शनमा सहभागी विद्यार्थी लक्षण सन्दरुवान सहमत छन्।
‘नमाल अहिले राष्ट्रपति हुन होइन, २०२९ को चुनावका लागि पृष्ठभूमि तयार पार्न चुनाव लडिरहेका छन्,’ उनी भन्छन्, ‘यदि जनताले बुद्धि पुर्याएनन् भने उनीहरूले फेरि अर्को राजापाक्षे राष्ट्रपति बनाउने छन्।’ बीबीसीबाट
Shares
प्रतिक्रिया