ad ad

ग्लोबल


ट्रम्प नभेटी किन फर्किए मोदी?

ट्रम्प नभेटी किन फर्किए मोदी?

नेपालखबर
असोज १०, २०८१ बिहिबार ११:२३, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणबाट फर्किसकेका छन्। त्यस क्रममा उनले अमेरिकी राष्ट्रपतिलाई भेटे, क्वाड सम्मेलनमा भाग लिए, संयुक्त राष्ट्र संघलाई सम्बोधन गरे, धेरै देशका राष्ट्र प्रमुखसँग भेट गरे। 

प्रधानमन्त्री मोदीले फिलाडेल्फिया र न्युयोर्कमा भारतीय समुदायलाई पनि भेटे। यस भ्रमणका क्रममा अमेरिकाले भारतका धेरैवटा पुरातन वस्तु भारतलाई फिर्ता पनि गर्‍यो। 

यति मात्र होइन, मोदीले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेट गरे। 

तर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई किन भेटेनन्? जबकि ट्रम्पले मोदी अमेरिका प्रस्थान गर्नुअघि नै यस भ्रमणका क्रममा उनी र आफूबीच पनि भेटवार्ता हुने बताएका थिए। यस विषयमा अहिले भारतीय कूटनीतिक वृत्तमा चर्चा चलिरहेको छ। 

अन्तर्राष्ट्रिय मामिलाका जानकार रोविन्दर सचदेव भारत वा विश्वका कुनै पनि देशले कुनै पनि मुलुकको आन्तरिक राजनीतिमा कुनै एक पक्षलाई साथ दिन नसक्ने बताउँछन्।

मोदीले ट्रम्पसँग भेट गर्ने भए कमला ह्यारिसलाई पनि भेट्नुपर्ने हुन्थ्यो। तर दुवै नेतासँग भेटघाट तय हुन नसक्दा मोदीले ट्रम्पलाई पनि नभेटेको हुनसक्ने उनको अनुमान छ। 

रोविन्दर सचदेव भन्छन्, ‘भारतीय कूटनीतिज्ञहरूले ट्रम्प र कमला ह्यारिस दुवैसँग भेटघाट गराउने प्रयास गरेका हुनसक्छन्, सायद ट्रम्पले मोदीलाई भेट्ने कुरा सार्वजनिक रूपमा भनेका थिए, तर यो भेट हुन सकेन।’

मुख्तार खानलाई लाग्छ– डोनाल्ड ट्रम्पले मोदीलाई भेट्ने कुरा एकपटक मात्र भनेका थिए, तर यो भेट तय भइसकेको थिएन।

मोदीले ट्रम्पलाई बेवास्ता गरे वा उनीसँग दूरी राखे भन्नु सही नहुने विज्ञहरू बताउँछन्। बरु दुई नेताबीच भेटका लागि परिस्थिति र प्रसंग उपयुक्त नभएको भन्नु बढी सही हुने उनीहरूको तर्क छ। 

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ। जसमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस भिड्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .