अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) विश्वस्तरीय नेटवर्क भएको एक गैरनाफामूलक संस्था हो। यसका विभिन्न देशमा विभिन्न च्याप्टर छन्। त्यसमध्ये फिने हङकङ एक हो।
फिने हङकङले भर्खरै मात्र नयाँ कार्यसमिति चयन गरेको छ। जसको अध्यक्षमा नवयुवा सोयना ढकाल चुनिएकी छन्। वित्तीय क्षेत्रमा विशेष दक्खल राख्ने ढकाल हाल फिनेक्स हङकङ लिमिटेडमा निर्देशकका रूपमा कार्यरत छन्।
नेपालमा गएको भदौ २३-२४ (८-९ सेप्टेम्बर)मा भएको जेन-जी आन्दोलनले देशको शक्ति संरचनालाई नै उथलपुथल बनाइदियो। युवाकै सहभागिता र सहयोगको लक्ष्य राख्दै स्थापना भएको फिनेको हङकङ च्याप्टरले पनि जेनजी समूहकै ढकालको नेतृत्वमा युवा उद्यमशीलताको जिम्मेवारी सुम्पिएको छ।
कस्तो छ त ढकालको फिने हङकङलाई दौडाउने स्टेयरिङ? नेपालखबरले काठमाडौँबाट फोनवार्ता गरेको थियो। जसको सारसंक्षेप–
फिने कस्तो संस्था हो?
अर्थ फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रिनर्स (फिने) एउटा ग्लोबल नेटवर्क हो। यसमा विभिन्न च्याप्टर छन्। जस्तै, जापान, यूएस, यूके, हङकङ, आदि। यो एउटा गैरनाफामूलक संस्था हो।
यो मुख्यगरी युथ इन्टरप्रिनरसिप (युवा उद्यमशीलता)लाई कसरी सहयोग गर्ने भन्ने खालको संस्था हो। युथ र इन्टरप्रिनरसिपलाई फोकस गर्छ यसले।
फिने हङकङ चाहिँ के हो?
हङकङमा पनि यसको काम यही हो?
फिने हङकङले मुख्यगरी हङकङमा नेटवर्किङ इभेन्टस् र कन्फरेन्सहरू गर्दै आएको छ। कसरी इम्पावर गर्न सकिन्छ इन्टरप्रिनरसिपको लागि भनेर विभिन्न इभेन्ट गर्ने गरेको छ। गतवर्ष कफी टक भन्ने कार्यक्रम गरेका थियौँ। त्यहाँ हामीले कुनै एक क्षेत्रको विशेषज्ञलाई ल्याएर कफी सेसन गरेका थियौँ। जहाँ प्रिजेन्टेसन, जर्नी गरेका थियौँ।
यस खालको इभेन्ट एकदम सफल भएको थियो। उक्त कार्यक्रम गतवर्ष ६ वटा भएका थिए। हाम्रो संस्था मुख्यत: नेटवर्किङ नै हो। जहाँ विभिन्न फिल्डमा अनुभव बटुलेका मानिसलाई भेट्न पाइन्छ।
मलाई याद छ, एक जना सदस्यले यस्तै इभेन्टमा आएर, कुरा सुनेर, प्रभावित भएर आफ्नै एउटा साइड बिजनेस सुरु गर्नु भयो।
फिने हङकङमा कसरी जोडिनु भयो?
गतवर्ष संस्थाको अधिवेशनमा संस्थाकै आधिकारिक व्यक्तिले प्रस्ताव गर्नु भयो। अनि, सचिवमा बसेको थिएँ। जतिबेला इन्दर पुन अध्यक्ष हुनुहुन्थ्यो। अन्य पदाधिकारीमा पनि चिनजानकै हुनुहुन्थ्यो। उहाँहरूले नै प्रस्ताव गरेपछि संस्थामा छिरेको थिएँ।
उसोभए, जो पनि यसको सदस्य बन्न सक्छ? प्रावधान केही छ कि?
संस्थामा युवाहरूलाई सहभागी गराउने संस्थाको उद्देश्य रहेको छ। सायद म जसरी नै अरूहरू पनि जोडिन आइपुग्नु भयो होला। मेरो हकमा भन्नुपर्दा, म युनिभर्सिटीमा अध्ययन गर्दै गर्दादेखि नै संस्थाका इभेन्टहरूमा आउने गर्थेँ। त्यही क्रममा संस्थामा बस्न प्रस्ताव गर्नुभयो र जोडिएँ।
फिनेले युवा उद्यमशीलतालाई प्राथमिकता दिएको देखिन्छ। युवालाई उद्यमशील हुन संस्थाले कसरी प्रेरित गर्छ?
अस्ति भर्खर मात्र पनि फिने हङकङले एउटा सेमिनार आयोजना गरेको थियो। आईएस २०२४ को समिटमा १ सय २० जना भन्दा बढी सहभागी हुनुहुन्थ्यो दश वटा देशबाट।
यसै समिटबाट हामीले पडकास्ट पनि सुरु गरेका थियौँ। जुन कार्यक्रमको सोसल मिडिया रिच छोटो समयमै १ लाख बढी पुगेको थियो। त्यहाँ ८ वटा इन्स्पायरी कि प्रिजेन्टेसन र ८ वटा प्यानल छलफल भएको थियो। कार्यक्रममा युवाहरूको पनि उल्लेख्य सहभागिता थियो। त्यो समिटको उद्देश्य युवाहरूलाई कसरी उद्यमशीलतामा प्रेरणा जगाउने भन्ने नै हो।
अनि, फिने हङकङ नेपालसँग कसरी जोडिन्छ?
नेपालसँग पनि उद्यमशीलतामै जोडिन्छ। उदाहरणको रूपमा लिनु पर्दा, नेपालमा डिजिटल कारोबारमा अग्रपंक्तिमा देखिएको प्लेटफर्म खल्तीका सीईओ लगायत हाम्रो समिटमा सहभागी हुनुहुन्थ्यो। खासमा उहाँहरू एउटा कन्फरेन्सका लागि आउनुभएको थियो, त्यही मेसोमा हामीले उहाँहरूसँग टक शोमा कुराकानी गरेका थियौँ। उहाँहरूजस्ता उद्यमीसँगको कुराकानीले युवालाई उद्यमशील बन्न प्रेरणा मिओस् भन्ने संस्थाको उद्देश्य हो। नेपालसँग वा युवासँग यस्तै खालका कार्यक्रममार्फत जोडिने हो।
सेमिनार होस्, समिट होस् यस्तै कार्यक्रमबाट अवसरको ढोका पहिल्याइदिने हो हाम्रो उद्देश्य हो।
अध्यक्ष त बन्नु भयो। करिअर र संस्थाको कामलाई सँगसँगै लैजान कठिन हुँदैन?
हामी आ-आफ्नो करिअरमा पहिले जे जसरी थियौँ, त्यसरी नै जारी राखेर अघि बढ्ने हो। हिजो संस्थामा आबद्ध हुँदा पनि यही थियो अब पनि हुने त्यही नै हो। संस्थामा टिमले काम गर्ने हुँदा समस्या पर्दैन। गएका वर्षमा पनि टिमले काम गरेको थियो भने अब पनि त्यसै हुने हो। आफ्नो करिअर अघि बढाउँदै संस्थाको उद्देश्य अनुसार काम गर्दै जानु पर्छ।
अध्यक्ष हुनुहुन्छ, भावी योजना के छन्?
अध्यक्ष हुनुभन्दा अगाडिदेखि नै मेरो दिमागमा के आइरहन्थ्यो भने, आफ्नो करिअरलाई कसरी अगाडि बढाउने, यस्तो काम गर्दा कसो होला, यस्तो गर्नलाई कसरी अघि बढ्ने, मैले के गरिरहेको छु, गर्नुपर्ने के हो, आदि कुराहरू मेरो मनमा खेलिरहन्थ्यो। जुन, हरेक युवालाई हुन्छ भन्ने मलाई लाग्छ।
हङकङमा हामी नेपाली अल्पसंख्यक रूपमा छौँ। यसका चुनौतीहरू पनि छन्। माथि भनिएजस्ता प्रश्नका उत्तरहरू आफूले मात्र सोचेर सही निष्कर्ष नआउन सक्छ। आफूलाई बाहिर पनि कनेक्ट गरेपछि यसले सहयोग पुर्याउन सक्छ।
विभिन्न व्यक्तिका सफलताका कथा सुनेर, समुदायसँग घुलमिल भएर त्यहाँबाट सही दिशा समात्न सकिने रहेछ।
त्यसैले, फिने हङकङले गएको वर्ष जसरी सेमिनार, टक शो कार्यक्रम, पडकास्ट आदि गर्यो, यसले अलमलमा परेका युवालाई सही दिशा पहिल्याउन सहयोग गर्न सक्ने रहेछ भन्ने लागेको छ। यसकारण, भावी योजनाका रूपमा यी नै विषयवस्तुलाई निरन्तरता दिने, अझ परिष्कृत बनाएर लैजाने, वर्कशपहरू थप्ने, नेटवर्किङ इभेन्टहरू गर्ने सोचाइमा छु।
समिट चाहिँ हरेक २/२ वर्षमा गर्ने भन्ने छ। यो हङकङले मात्र नभई ग्लोबल्ली च्याप्टरको सरसल्लाहमा हुन्छ। अबको समिट सन् २०२६ मा हुन्छ। यो कुन च्याप्टरले गर्छ भन्ने यकिन भइसकेको छैन। जे होस्, जुन देशमा भए पनि यसले निरन्तरता पाउँछ।
मलाई अर्को फोकस गर्न मन लागेको कुरा चाहिँ युनिभर्सिटी विद्यार्थीलाई कसरी बढी भन्दा बढी सहभागी गराउने भन्ने हो।
गतवर्ष युनिभर्सिटीका विद्यार्थी अप्रोच गरिएको थिएन। युथ भनिसकेपछि युनिभर्सिटी स्टुडेन्टलाई कसरी हामीसँग जोड्न मिल्छ भन्नेमा मेरो मेहनत रहनेछ। यसमा मेरो ठूलो रहर छ। मेरो कार्यसमितिको सुरुका कार्यक्रममध्ये यो पनि एउटा रहनेछ।
यो मेरो रहरको विषय भयो। यद्यपि, भर्खर टिम बनेको छ। कसरी अगाडि बढ्ने भन्ने छलफल हुनै बाँकी छ। सबै साथीको राय-सल्लाहपछि यो-यो गर्ने भन्ने निचोड निस्किएला।
कार्यसमितिमा सबै नवयुवा नै हुनुहुन्छ?
मसँगै दाँजेर हेर्दा, कोही मभन्दा युवा हुनुहुन्छ भने कोही सिनियर पनि हुनुहुन्छ।
नेपालमा २३-२४ भदौ (८-९ सेप्टेम्बर)मा भएको जेन-जी आन्दोलनको प्रभाव तपाईँहरूको कार्यसमितिमा पनि परेको छ हगि?
ठ्याक्कै त्यसरी त नलिऊँ। गएको कार्यसमितिमा पनि युवाको उपस्थिति थियो नै। त्यसमाथि नेपालमा जेन-जी मुभमेन्टको जुन सेन्टिमेन्ट छ, हाम्रो संस्थाको मुख्य लक्ष्य नै त्यही हो कि युवा सहभागिता, युवालाई सहयोग र युवा इन्टरप्रिनरसिप।
त्यो भनेको के हो? यसलाई कसरी बुझ्ने?
फिने च्यारिटी अर्गनाइजेसन त होइन, जुन कार्यका लागि अन्य संघसंस्था प्रतिबद्ध हुनुहुन्छ, राम्रो पनि गरिरहनुभएको छ। त्यसैले हाम्रो कार्यलाई समाजसेवा भनिहाल्नु भन्दा पनि युवा सशक्तीकरण भन्नु उपयुक्त हुन्छ।
हङकङमा भारतीयमूलको जनसंख्या पनि उल्लेख्य छ। फिलिपिन्स, इन्डोनेसियनको पनि उपस्थित बाक्लै छ। भारतीयकै हेर्ने हो भने, उनीहरूले धेरै राम्रो काम गरिरहेको देखिन्छ। नेपालीहरू पनि राम्रै गरिरहेका छौँ तर पनि उनीहरूले कसरी अवसरलाई छिटो पहिल्याएर अगाडि बढेका छन् भन्ने हामीले पाठ सिक्नु आवश्यक छ।
त्यसैले, हङकङमा रहेका अल्पसंख्यक समुदायमध्ये नेपाली समुदायलाई कसरी राम्रोसँग अगाडि बढाउने भन्ने विषयमा हामी सचेत बन्नु पर्छ। यति भन्दै गर्दा, हामी केन्द्रित हुने चाहिँ युवा र उद्यमशीलता नै हो।
अन्त्यमा, फिनेसँग जोडिन चाहने नेपाली युवालाई यहाँको सन्देश के छ?
हामी युवाले विश्वास गर्ने भनेकै विकास, सफलता, उद्यमशीलतालाई हो। यद्यपि, सबै जना उद्यमशील बन्ने भन्ने त हुँदैन तर अन्य तरिकाले पनि कसरी अगाडि बढ्ने, जे प्लेटफर्म छ त्यसमा के गर्ने, आफूसँग भएको क्षमतालाई कसरी प्रस्फुटन गराउने भन्ने कुरालाई ज्ञान बाँडेर अघि बढियो भने कार्यदिशा पहिल्याउन सकिन्छ।
यसका लागि फिने जस्ता प्लेटफर्मले विभिन्न क्षेत्रमा ज्ञान हासिल गर्नुभएका अनुभवीले सेयर गर्नु भएको ज्ञानले इन्स्पायर, कनेक्ट र प्रमोटको लागि मद्दत गर्छ।
Shares

प्रतिक्रिया