ad ad

अन्तर्वार्ता


‘वीर अस्पताल सुधार्न अब जंगबहादुर नै चाहिन्छ’ (अन्तर्वार्ता)

भन्छन् :  यहाँ मेरो दिन धेरै छैन भन्ने थाहा थियो
‘वीर अस्पताल सुधार्न अब जंगबहादुर नै चाहिन्छ’ (अन्तर्वार्ता)

यज्ञराज जोशी
साउन १८, २०७८ सोमबार १७:८, काठमाडौँ

गत जेठ १० गते कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त प्राध्यापक डाक्टर जागेश्वर गौतम त्यहाँबाट दुई महिनामै हटेका छन्। उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थापाथलीस्थित प्रसूति गृहमा सरुवा गरेको छ। जहाँ उनी यसअघि ६ वर्ष काम गरेका थिए। कोभिडको दोस्रो लहरको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता बनेका उनलाई त्यसपछि वीरमा पठाइएको थियो। यहीबीच टेन्डर प्रक्रियामा सेटिङ गरेर आफ्ना मान्छेलाई पारेको, कर्मचारीहरुमाथि कडाई गरेको आरोप उनीमाथि लागे। उनलाई कार्यालयमा छिर्न नदिन भन्दै कर्मचारीहरुले आन्दोलन गरिरहँदा सरकारले सरुवा निर्णय लिएको छ। देशकै जेठो वीर अस्पतालको दुई महिने अनुभवपछि उनले अब त्यहाँ सुधार ल्याउन जंगबहादुर नै चाहिने बताएका छन्। सरकारले वीरबाट हटाएपछि नेपालखबरका यज्ञराज जोशीले गौतमसँग कुरा गरेका छन्। 

किन यति चाँडै तपार्ईलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइयो?

मैले पनि फिर्ता बोलाइयो भन्ने खबर सुनेको छु। मेरो राम्रो, नराम्रो मूल्याङ्कन सरकार र मन्त्रालयले गर्नुपर्‍यो। मैले त आफूले सक्दो राम्रो काम गरेको जस्तो लाग्छ। सुनियोजित, प्रायोजित रुपमा अफ्ठ्यारो पारियो। यति चाँडै मलाई सरुवा गर्नु थियो भने हिजो किन नियुक्त गरियो त? 

दुई महिनामा तपाईंले के के गर्नुभयो?

दुई महिनामा मैले गर्नसक्ने कति नै हुन्थ्यो। तर मैले जतिसकेँ त्यति गरेँ। त्यत्रो ५ सय बेडको कोभिड अस्पताल खाली थियो, आइसीयुसहित सुरु गरेँ। अक्सिजन ट्यांक, प्लान्ट ल्याएर हालेँ। वीरतिर ननकोभिड चलाएँ, यता कोभिड चलाएँ। प्रधानमन्त्रीलाई ल्याएर उद्घाटन गराएँ।

झन्डै दुई सयवटा मेडिकल, आइसीयु बेड व्यवस्थापन गरेँ। १ सय ५० वटा भेन्टिलेटर ल्याएँ। राति त्यहाँ कोही सिनियर कर्मचारी बस्ने व्यवस्था थिएन। मैले रातमा पनि सिनियर सुपरभाइजर राखेँ। बिरामीलाई रेफर गर्दा सुपरभाइजरलाई सोध्नुपर्ने व्यवस्था मिलाएँ। 

यस्तो काम गरिरहेको मान्छेलाई किन दुई महिनामै हटाइयो त?

यस्तो छ, मिडिया त मविरुद्ध लागेकै थिए। त्यो लाग्नुको एउटै स्वार्थ थियो उनीहरुको, वीर अस्पतालमा डेढ, दुई सय आइसीयू चलाइयो भने निजी अस्पताल धरासायी हुन्छन्। मिडियामा प्राइभेट अस्पतालको तलब खाएर लेख्छन्। त्यो कुरा धेरै पहिलेदेखि म भन्दै आएको छु। अहिले पनि भन्छु। जब मैले वीरमा दुई सय आइसीयू चलाउँछु भने मलाई थाहा थियो, मेरो दिन धेरै छैन।  

कमिसन–सेटिङमा आफ्नो मान्छेलाई स्वास्थ्य सामाग्री खरिदको ठेक्का दिनुभयो भन्ने आरोप पनि छ नी?

त्यहाँका मान्छे एक वर्षसम्म खरिद गर्न नसकेर बसेका थिए। खरिद नगरी, सामान नजुटाइ बिरामीको उपचार हुँदैन। जसले प्रयोग गर्ने हो, उसले स्पेसिफिकेसन बनाउने हो। विशेषज्ञले माग गर्ने हो। हामीले ई–टेन्डर गर्ने हो। टेन्डर हालेपछि मूल्याङ्कन कमिटीमा विशेषज्ञ डाक्टर नै हुन्छन। सबैभन्दा कम हालेको मान्छेले पाएको छ। कम हालेको मान्छे मैले चिनेको कि नचिनेको के फरक पर्छ र? यो सुनियोजित कुरा मात्रै हो। आफू पनि नगर्ने, अरुलाई पनि गर्न नदिने रणनीति हो यो। 

अझै बढी समय काम गर्न पाएको भए तपाईँसँग के के योजना थिए?

दुई महिना साह्रै सानो समय हो। मलाई एक वर्ष दिएको भए वीर अस्पताललाई धेरै माथि पुर्याउँथे मैले। पाँच सय बेड कोभिड, पाँच सय बेड ननकोभिडसहित एक हजार बेड सञ्चालन गर्ने योजना थियो। नयाँ भवनमा अहिले १६ वटा अप्रेसन थिएटर छन्। 

सबैमा हरेक विषयको हरेक दिन अप्रेसन हुने व्यवस्था मिलाउने योजना थियो। त्यसो गर्दा अप्रेसनका लागि पालो कुर्नुपर्ने लामो सूची हुँदैनथ्यो। अहिले ८३१ दरबन्दी थपिएको छ। उनीहरुलाई उचित व्यवस्थापनका साथ काम लगाउने, दुवाकोट (नयाँ भवन वीरको) को प्रोजेक्ट सुरु गर्ने योजना थियो। वीर अस्पतालमा साँझ पेइङ क्लिनिक सेवा सुरु गर्ने योजना थियो। वीर अस्पतालको इमर्जेन्सी साह्रै सानो छ। त्यसलाई १०० बेडको बनाउने योजनासहित डिजाइन गरिसकेका थियौं। अब अरुले पनि मैले देखाएको बाटोमा काम गर्लान् भन्ने आशा गर्छु।

वीर अस्पतालका कर्मचारी ट्रेड युनियनले पनि तपाईँलाई अफ्ठ्यारो पारे?

म पेशागत रुपमा कुनै व्यवस्थापक होइन। मैले पनि काम सिक्दै आएको थिएँ। सबैभन्दा बढी काम मैले चितवन मेडिकल कलेज सुरु गर्दा सिकेँ। कलेजको म ‘फाउन्डर’ नै हो। त्यसपछि प्रसूति गृहमा ६ वर्ष काम गरेँ। कोभिडको समयमा उच्च तहमै रहेर एक वर्ष स्वास्थ्य मन्त्रालयमा काम गरेँ। 

त्यो अनुभवले वीरमा काम गर्न सहयोग गर्‍यो। त्यो अनुभवबाट जुध्न सक्छ भनेरै वीरमा पठाएका हुन्। अहिले जुध्न सक्ने वातावरण भएन। सरकार चलाउने पार्टीका ट्रेड युनियनले भाँजो हाल्न थालेपछि काम गर्न सकिँदैन। वीर अस्पताल सुधार्न डा. जागेश्वर गौतम होइन, जंगबहादुर नै चाहिन्छ।

मुख्य समस्या कर्मचारी काम गर्दैनन् त्यहाँ। सबै कर्मचारी भनेको होइन। नर्सहरु, परामेडिसियन, डाक्टरहरु काम गर्छन। बाँकी राजनीति गर्छन धैरै। तिनीहरु कहाँ नाफा हुन्छ त्यही झुन्डिरहेका हुन्छन। नाफा हुने हुने ठाउँमा रोजेर त मैले राख्ने कुरा आएन। त्यहाँ एउटा दीपक मुडभरी भन्ने मान्छे छ। त्यो मान्छे एमडीमा भर्ना गराइदिन्छु भनेर घुस खाएर जेल बसेको मान्छे हो। साढे दुई वर्ष जेल बसेर आएपछि त्यो मान्छेले त्यही जागिर निरन्तर गर्न पायो। त्यस्तो हुनुपर्दथ्यो। त्यो मान्छेको कट–पेस्ट गर्ने हो। त्यो मान्छे रहेसम्म त्यो संख्या रहेन। अरु कस्ता समस्या भोग्नुपर्यो? त्यहाँ एकदमै मान्छेहरु स्लो छन्।

टेन्डर गर्नुपर्यो, टेन्डरको स्पेसिफिकेसन गर्न गाह्रो, स्पेसिफिकेसन बनायो, टेन्डरमा जान गाह्रो, टेन्डर गयो मुल्यांकन गर्न गाह्रो, मूल्याङ्कन गरेर सामान ल्यायो त्यसलाई रिसिभ गर्न गाह्रो, एकदमै स्लो। अख्तियार, सतर्कता केन्द्रमा हालिदिएका छन्, स्वास्थ्य मन्त्रालयमा हालिदिएका छन्। कामै नहोस भनेर मान्छे लागेका छन्। त्यस्ता मान्छेको एकदमै बोलवाला छ। त्यस्ता मान्छे कर्मचारी युनियनमा छन्। तिनलाई कांग्रेसले समर्थन गरेको छ।

जति पनि काम गर्नुभएको छ केही तलमाथि गरेको छैन भनेर जिम्मेवारी लिनुहुन्छ?

मैले गरेका कामको जिम्मेवारी मैले पूरा लिन्छु। मेरो नेतृत्वमा भएका कामहरु जहाँ गएर टेस्ट गरेपनि म कसीमा उभिन तयार छु।

 

अब तपाईको स्थानमा आउने व्यक्तिले गर्नुपर्ने कामहरु के के छन्?

सरकारले अध्यादेश ल्याएर वीर अस्पताललाई कोभिड–१९ युनिफाइड अस्पताल बनाएको छ। त्यो कायम हुनुपर्छ। त्यसलाई लगेर फेरि न्याम्सभित्र लग्यो भने त्यो डुब्यो, त्यो डुब्नुहुँदैन।

अब जो आउनुहुन्छ, उहाँ पनि प्रमुख प्रशासकीय अधिकृत भएर आउनुपर्छ र स्वतन्त्र रुपमा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर नै चलाउनुपर्छ। न्याम्सभित्र हालियो भने त्यो संस्था सकियो। लेखेर राख्नुस् जनकपुर चुरोट कारखाना हुन्छ त्यो। किनभने चल्दैन त्यो चल्ने अवस्थै छैन। मेरो ठाउँमा आउनेलाई सबै कर्मचारीले सहयोग गर्नुपर्छ। सबैभन्दा ठूलो अस्पताललाई अलिकति सफा, राम्रो चिटिक्क बनाउनुपर्ने, सबैलाई साथमा लिएर अघि जानुपर्ने चुनौती अब यो पदमा आउनेलाई हुन्छ।

यो पनि: जागेश्वरले नेतृत्व सम्हालेसँगै वीरमा विवाद, न्याम्स बन्यो असन्तुष्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .